+
+
विचार :

नाभाल्नीको रहस्यमय मृत्यु र पुटिनको अनुहार

पुत्रशोकको पीडाले छटपटिएकी आमाले सिधै पुटिनलाई ‘मेरो छोरा देऊ’ भनेर गरेको याचनाको उत्तर दिन असक्षम शासकको नियतमाथि थप टिप्पणी आवश्यक नहोला। वास्तवमा नाभाल्नीको जीवनका अन्तिम क्षणहरू उनको परिवार र जनसमुदायको लागि सदाको लागि एक रहस्य बनेर रहिरहने खतरा ठूलो छ।

डा. श्याम उपाध्याय डा. श्याम उपाध्याय
२०८० फागुन ११ गते ९:५३

१६ फरवरी २०२४ का दिन बिहान सबेरैदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यम रूसका सर्वाधिक चर्चित राजनीतिक बन्दी अलेक्सेई नाभाल्नीको निधन भएको अपुष्ट समाचारले तात्न थाल्यो। कारागार प्रशासन स्रोतबाट फुत्केको यो समाचारको मस्कोका उच्च-पदस्थ अधिकारीहरू औपचारिक रूपमा पुष्टि गर्न मानिरहेका थिएनन्।

त्यही दिनदेखि जर्मनीको म्युनिखमा सुरु भएको सुरक्षा सम्मेलनका सहभागीहरूले जारी गरेका प्रायः सबै विज्ञप्ति पनि ‘यदि यो समाचार सत्य हो भने …’ भन्ने वाक्यांशबाट सुरु गरिएका थिए। तर जनसमुदायमा भने समाचारको सत्यताप्रति कुनै शंका थिएन।

अपरान्हदेखि असंख्य मस्कोवासीहरू हातमा फूल र आँखामा आँसु लिएर राजनीतिक अत्याचारबाट पीडितहरूको सम्झनामा मिखाइल गोर्बाच्योभको पालामा मस्कोको मध्यभागमा स्थापित स्मारक ‘सोलोभेत्स्की शिला’ अगाडि लामबद्ध हुन थाले।

यस्तै दृश्य सेन्ट-पिटर्सबर्ग, निझनी-नोभगोरद, कजान, एकातेरिनबुर्ग, नोभोसिबिर्स्क लगायत अन्य कैयन शहरहरूमा पनि देखिन थाल्यो। फूल चढाउन आएका नागरिकहरू पिटिए, उनको फूल खोसेर फालियो र सैकडौं गिरफ्तार भए। रातमा आएका सुरक्षाकर्मीहरूले ‘सोलोभेत्स्की शिला’ र अन्य स्मारकहरूमा राखिएका सबै फूल फालिदिए। तर आगन्तुकहरूको लहर कायमै रह्यो।

भोलिपल्ट नाभाल्नीको ‘अकस्मात मृत्यु’ भएको भनेर सरकारी विज्ञप्ति जारी भयो, तर आफन्तलाई शव बुझाइएन र यो पंक्ति लेखिएको समयसम्म बुझाइएको छैन। कसरी एक बन्दीको मरणले तेस्रो विश्वयुद्धको विगुल फुकेर संसारलाई सन्त्रस्त पारेको पुटिन सत्ताको नैतिक दुर्बलता उदाङ्ग गरिदियो र रुसी जनतालाई एक कठोर द्वन्द्वमा उतार्‍यो। यस आलेखमा नाभाल्नीको जीवन, मृत्यु र पुटिन सत्तासँग उनको संघर्षको संक्षिप्त विवरण पेश गरिएको छ ।

को थिए अलेक्सेई नाभाल्नी ?

अलेक्सेई नाभाल्नी भ्रष्टाचार विरोधी आन्दोलनबाट हुर्केर रूसको लोकतान्त्रिक संघर्षमा प्रभावशाली हुँदै गएका र पुटिन सत्तालाई कडा चुनौती दिइरहेका नेता तथा सामाजिक अगुवा थिए। उनको जन्म सन् १९७६ मा मस्को नजिकैको बुटिन नाम गरेको बस्तीमा भएको थियो। सन् २००१ मा मस्कोस्थित जनमैत्री विश्वविद्यालयबाट कानुनमा डिग्री हासिल गरेपछि उनी कानुन पेशामा आबद्ध भए र केही समय बार एसोसिएसनमा पनि सक्रिय थिए।

सार्वजनिक रूपमा उनको चर्चा सन् २००४ मा सुरु भयो जब उनले मस्कोका पूर्वाधार संरचना निर्माणमा राज्यबाट भएका भ्रष्टाचारविरुद्ध आन्दोलन नै सुरु गरे। पुटिन शासनमा सरकारविरोधी गतिविधिमाथि चर्को दमन हुने, कार्यकर्ताहरू जेल पर्ने या निर्वासित हुने हुनाले भ्रष्टाचार विरोधी आन्दोलन लामो समय टिक्न सकिरहेको थिएन। तर नाभाल्नी रोकिएनन्।

उनको आन्दोलनले दिन पर दिन नयाँ शक्ति आर्जन गर्‍यो। उनी नौजवान थिए र आन्दोलनमा सामाजिक सञ्जालको प्रभावकारी प्रयोगको ज्ञान राख्दथे। सन् २००८ मा उनले आफ्नो ब्लग र सामाजिक सञ्जालका अन्य पोष्टहरू मार्फत ग्यास कम्पनी ‘गाजप्रोम’ र तेल कम्पनी ‘रोसनेफ्त’ जस्ता राज्य-संचालित विशाल निगमहरूमा भइरहेका भ्रष्टाचारको भण्डाफोर गरे।

यसै क्रममा उनले सन् २०१० मा रोस-पिल (शब्दार्थ- रुसी आरो) नामक संस्थाको स्थापना गरे जसमा योग्य कानुन व्यवसायीहरू सामेल थिए। तिनले सरकारी संस्थान र कार्यालयहरूले खरिद प्रक्रियामा गरेका चलखेलका तथ्यहरू बाहिर ल्याए र भ्रष्टाचारका कतिपय काण्डहरूमाथि अदालतमा मुद्दा दायर गरे।

नाभाल्नीको भ्रष्टाचार विरोधी आन्दोलन त्यसबेला चरमोत्कर्षमा पुग्यो जतिबेला उनले पुटिन स्वयंले गरेका भ्रष्टाचार र राज्य कोषको अपचलनबाट कमाएको धनबाट बनाइएका दरबारहरूबारे खोजपूर्ण फिल्म यु-ट्युबबाट सार्वजनिक गरे। रुसी भाषामा बनाइएको ‘पुटिन दरबार – विश्वको सर्वाधिक ठूलो घुसखोरीको कथा’ (Putin’s palace: The story of the world’s biggest bribe) नामक सो फिल्म झण्डै १५ करोड दर्शकहरूले हेरेका थिए।

नाभाल्नीको राजनीतिक जीवन सन् २००० मा संयुक्त लोकतान्त्रिक दल ‘याब्लोको’ प्रवेशबाट सुरु भएको थियो। सन् २००५ देखि उनले ‘लोकतान्त्रिक विकल्प’ नामको युवा आन्दोलन सुरु गरे र धेरै यस्ता धेरै कार्यक्रम चलाए जसको उद्देश्य युवाहरूमाझ राजनीतिक बहस चलाउनु र उनीहरूको राजनीतिक ज्ञान र जागरण बढाउनु थियो। नाभाल्नीले ती बहसलाई सरकारी टिभीमा प्रसारण गर्ने व्यवस्था पनि मिलाएका थिए र दर्शकहरूबाट उच्च मूल्याङ्कन पनि भएको थियो। तर ‘माथिको आदेश’ बाट कार्यक्रम रोकियो।

उनको राजनीतिक सक्रियता सन् २०११ मा सम्पन्न संसदीय निर्वाचनमा सत्ताले मच्चाएको व्यापक धाँधलीको विरोधमा पुन: तीव्र भयो। सन् २०१३ मा उनी मस्कोको मेयर पदको चुनाव लडे र सत्तापक्षको व्यापक धाँधलीका बावजुद २७ प्रतिशत मत प्राप्त गरे। उनको राजनीतिक सक्रियता र जनसमर्थन बढ्दै गएको देखेर हतोत्साहित भएको पुटिन सत्ताले कुनै बेला एक सरकारी टिम्बर कारखानामा काम गर्दा हिसाब गोलमाल गरेको आरोपमा उनलाई गिरफ्तार गर्‍यो र मुद्दा चलायो।

अदालतले सुरुमा पाँच वर्षको सजाय सुनाएको थियो तर पुनरावेदनपछि उनी रिहा भए। सन् २०१६ मा नाभाल्नीले २०१८ मा हुने राष्ट्रपति निर्वाचनमा पुटिनविरुद्ध उम्मेदवारी दिने घोषणा गरे। तर सत्ताले उनको पुरानो मुद्दा ब्युँताएर पुन: अदालती कारबाही सुरु गर्‍यो र निर्वाचनमा उनको उम्मेदवारीमाथि रोक लगायो।

सन् २०२० मा साइबेरियाको तोम्स्क शहरको एक कार्यक्रम सकेर मस्को फर्कंदा उडानको समयमा उनी अचानक अस्वस्थ भए र जहाज अवतरण गरियो। प्राथमिक उपचारको क्रममा उनलाई झुक्याएर विष दिएको शंका लागेकोले थप उपचारको लागि बर्लिन पुर्‍याइयो। जर्मन डाक्टरहरूले नाभाल्नीलाई पहिला पनि पुटिन सत्ताले दुश्मन ठानेका व्यक्तिहरूको हत्या गर्न प्रयोग गरेको ‘नोभिचोक’ नामक विषाक्त रसायन दिइएको पुष्टी गरे। यो विषले सिधै स्नायु प्रणालीमा आघात पुर्‍याउँछ र पीडितको मृत्यु हुनसक्छ।

तर समयमै जर्मनीका विशिष्ट विशेषज्ञहरूबाट पाएको उपचार र अपार इच्छा शक्तिले गर्दा नाभाल्नी बाँच्न सफल भए र उपचारपछि मस्को फर्के। उनलाई विमानस्थलमा नै पक्राउ गरियो। नजरबन्द भएपछि उनले संचालन गर्दै आएको भ्रष्टाचार विरोधी संस्थालाई ‘उग्रवादी संगठन’, ‘अवाञ्छित संस्था’ र ‘विदेशी एजेन्ट’ घोषणा गरी त्यसको गतिविधिमाथि रोक लगाइयो।

साथसाथै नाभाल्नीलाई दिइएको सजाय पनि सुरुको अढाई वर्षको सामान्य नजरबन्दीबाट पटकपटक थपेर कडा परिश्रमसहितको तीस वर्षको कालकोठरीसम्म पुर्‍याइयो जसमध्ये बीस वर्ष सत्ताको पूर्व स्वीकृती नलिई जुलुसमा भाग लिए बापत थियो।

मरणोपरान्त नाभाल्नी र उनको परिवारप्रति सहानुभूती जनाउँदै पश्चिमी मुलुकहरूमा दमन र अत्याचारसँग जुधिरहेका रुसी जनतासँग अपार ऐक्यबद्धताको लहर देखिए पनि जीवनकालमा पश्चिमसँग उनको सम्बन्ध सहज थिएन। नाभाल्नी एक देशभक्त र राष्ट्रवादी भएकाले उनको चिन्तन पश्चिमी स्वार्थकेन्द्रहरूसँग टकरावमा थियो। उनी के कुरामा विश्वस्त थिए भने पुटिन सत्ताले गरेको भ्रष्टाचारको मुख्य फाइदा रूसमा लगानी गरेका ठूला कम्पनीहरूले लिइरहेका थिए।

वास्तवमा नाभाल्नीमाथि हिसाब गोलमाल गरेको आरोप लगाउनमा फ्रान्सको कस्मेटिक कम्पनी एभ रोशेको रुसी शाखाको हात थियो। एक अर्को घटनामा मध्य एशियाबाट गैरकानुनी रूपमा रूस छिरेका आप्रवासीहरूको सम्बन्धमा उनले धेरै अगाडि दिएको प्रतिक्रियालाई हवाला दिएर एम्नेष्टी इन्टरनेशनलले नाभाल्नीलाई दिंदै आएको आस्थाको बन्दीको सम्मान फिर्ता गरेको थियो। तर नाभाल्नी बाह्य प्रतिक्रियाभन्दा आफ्नो आस्था र स्वविवेकले काम गर्थे।

यसैकारण उनी लाखौंको संख्यामा जनता परिचालन गर्न सक्थे जुन योग्यता रूसका अन्य विपक्षी नेताहरूमा थिएन र आजसम्म पनि देखिएको छैन। नाभाल्नीलाई राजनीतिक परिदृष्यबाट हटाउन पुटिनले गरेका यावत षड्यन्त्रको कारण पनि यही हो।

नाभाल्नीको मृत्युः भवितव्य या कर्तव्य

मृत्युको खबर आएको एक दिन अघि सार्वजनिक भएको भिडियोमा नाभाल्नीले अनलाइन सेवा मार्फत अदालतलाई दिएको बयान देखाइएको थियो। भिडियोमा उनी स्वस्थ्य र न्यायाधीशसँग ठट्टा गरेर हाँसिरहेको देखिन्थे। भोलिपल्ट नै उनको मृत्यु भएको खबर पत्याउनै गाह्रो भइरहेको थियो।

खोज पत्रकारितामा नोबेल पुरस्कार जितेका दमित्री मुरातोभद्वारा सम्पादित रुसी समाचारपत्र ‘नोभाया गजेता’ को युरोपेली संस्करणका संवाददाताहरूले गोप्य रूपमा कारागारका अज्ञात बन्दीबाट संकलन गरेको सूचना अनुसार नोभाल्नीको मृत्यु अघिल्लो दिन १५ फेब्रुअरीमै भएको थियो।

सो साँझ जेलका कोठरीहरू चाँडै नै तालाबन्द गरेर कैदीहरूलाई निस्कन दिइएको थिएन र कर्मचारीहरूको व्यवहार असामान्य थियो। साँझ बाहिरबाट ठूला गाडीहरू आएको आवाज सुनिन्थ्यो। भोलिपल्ट बिहान सबेरै नोभाल्नीको विषयमा जेलभित्र खासखुस हुन थालेको थियो।

सरकारी विज्ञप्तिमा जनाइए अनुसार उनी घुम्दा लडेको, एम्बुलेन्स आएको जस्ता कुनै पनि कुरा सत्य नभएको सो स्रोतले जनाएको छ। यो विवरण प्रकाशित भएपछि नोभाल्नीको मृत्यु सम्बन्धमा सरकारले झूट बोलिरहेको र वास्तवमा उनको रहस्यमय ढंगले हत्या भएको विश्वास बढ्दै गएको छ।

पुटिन शासनमा राजनीतिक हत्या शृङ्खलाबद्ध रूपमा हुँदै आएको छ। इतिहासकारहरूले जनाए अनुसार स्टालिनको शेषपछि आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूको हत्याको संख्याले पुटिन एक नम्बरमा पुगेका छन्।

नोभाल्नीलाई कर्तव्य गरेर मारिएको कुरा पुटिन सत्ताकै गतिविधिहरूले पुष्टि गर्दै आएको छ। पहिलो कुरा त बाह्य विश्वले थाहा नपाओस् भनेर उनलाई दुई महिना अघि मात्र मस्कोको सेरोफेरोबाट आफन्त, पत्रकार र मानवअधिकारकर्मी कोही भेट्न जान नसक्ने उत्तरी ध्रुवको दूरदराजको जेलमा सहारिएको थियो। त्यसै बेला उनको हत्याको योजना बनिसकेको हुनुपर्छ।

दोस्रो, भवितव्यबाट मरेको भए जेल प्रशासनलाई बन्दीको शव नातेदारलाई दिन कुनै समस्या हुनुपर्ने थिएन। मृतक भेट्न बोलाइएकोले नोभाल्नीकी आमा ल्युदमिला नोभाल्नाया कानुनी सल्लाहकार सहित अधिकारीहरूले दिएको ठेगाना अनुसार शवगृह पुगेकी थिइन्। तर त्यसैबीच ‘माथिबाट’ नदिनू भन्ने आदेश आएकोले शव छैन भनेर उनलाई फिर्ता गरियो।

पुत्रशोकको पीडाले छटपटिएकी आमाले सिधै पुटिनलाई ‘मेरो छोरा देऊ’ भनेर गरेको याचनाको उत्तर दिन असक्षम शासकको नियतमाथि थप टिप्पणी आवश्यक नहोला। उनी न्याय माग्दै अदालत पुगिन् तर अदालतले पनि उनको सुनुवाइको मिति दुई हप्ता पछि तोक्यो। चिकित्सकहरू र रसायन विष नोभिचोकका जानकारहरू अनुसार सम्भवत उनलाई पुन: विष दिएर मारिएको थियो र शरीरबाट त्यो विषको अवशेष रहँदासम्म शव दिइने छैन। वास्तवमा नाभाल्नीको जीवनका अन्तिम क्षणहरू उनको परिवार र जनसमुदायको लागि सदाको लागि एक रहस्य बनेर रहिरहने खतरा ठूलो छ।

राजनीतिक हत्याको शृङ्खलामा अब को ?

पुटिन शासनमा राजनीतिक हत्या शृङ्खलाबद्ध रूपमा हुँदै आएको छ। इतिहासकारहरूले जनाए अनुसार स्टालिनको शेषपछि आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूको हत्याको संख्याले पुटिन एक नम्बरमा पुगेका छन्। यो क्रम पुटिनको पहिलो कार्यकाल भित्रै सोभियत तथा रुसी पत्रकार तथा उदारवादी विचारक युरी श्यकोचिखिनको रहस्यमय मृत्युबाट सन् २००३ मा नै सुरु भएको थियो।

उनले आफ्नो अन्तिम पुस्तक – ‘बीसौं शताब्दीमा केजीबीका दासहरू’ मा सो संस्थामा काम गर्ने एजेण्टहरूले आफन्त र इष्टमित्रहरूलाई धोका दिएका कारण तिनले भोग्नुपरेका असंख्य पीडाको वर्णन गरेका थिए। उनलाई विष दिएर हत्या गरिएको विश्वास छ।

त्यसैवर्ष सेनाका पूर्व कर्णेल तथा मिलनसार उदारवादी सांसद सेर्गेइ युशेन्कोभको उनकै घरअगाडि गोली हानी हत्या गरियो। त्यसको केही वर्षमै समाचारपत्र ‘नोभाया गजेता’ की खोज पत्रकार तथा चर्चित पुस्तक ‘पुटिनको रूस’ की लेखिका आन्ना पोलित्कोभ्सकायाको हत्या भयो। विगत २४ वर्षको पुटिन शासनकालमा सो समाचार पत्रसँग सम्बद्ध मात्रै सात जना पत्रकारहरूको हत्या भइसकेको छ।

यस शृङ्खलामा सर्वाधिक उल्लेखनीय घटना सन् २०१५ को उदारवादी लोकतान्त्रिक नेता बोरिस नेम्त्सोभको हत्या थियो जो क्रेमलिनबाट एक सय मिटरको दूरीमा गोली प्रहारबाट मारिएका थिए। उनी राष्ट्रपति पदको अर्को निर्वाचनमा प्रतिपक्षबाट सम्भावित सर्वसम्मत उम्मेदवार मानिन्थे। युक्रेनको क्राइमिया कब्जा गरेकोमा उनी पुटिनको कडा आलोचना गर्दथे।

यसरी नै युक्रेनप्रति पुटिनको आक्रामक नीतिको विरोध गरेकोमा सन् २०१७ मा रुसी कम्युनिष्ट पार्टीका नेता देनिस भोरोनेन्कोभको हत्या भयो। आफ्नो विचार वापत ज्यान खतरामा परेको ठानेर रूसबाट भागेर उनी युक्रेनमा शरण लिन गएका थिए तर पुटिनका एजेन्टले गोली हानी कीभमा नै उनको हत्या गरे। यो संख्या सैकडौं भएकोले यहाँ सबै नाम उल्लेख गर्न संभव छैन। त्यसमा पनि कति मारिइसके भन्दा अझै कति मारिने हुन् भन्ने चिन्ताले अहिले जनमानसलाई छोपेको छ।

यस प्रसंगमा दुई मुख्य राजनीतिक बन्दी भ्लादिमिर कारामुर्जा र इल्या याशिनको नाम लिने गरिएको छ। कारा-मुर्जा युक्रेनमा पुटिन सत्ताको अतिक्रमणको भर्त्सना गरेबापत २५ वर्षको जेल सजाय भोगिरहेका छन्। यस अघि नै दुई पटक विष दिएर उनको हत्या गर्ने प्रयास भइसकेको थियो। इल्या याशिन युक्रेनमा रुसी सैन्य अपराधविरुद्ध आफ्नो ब्लगमा लेखे बापत आठ वर्षको लागि बन्दी बनाइएका छन्। तर रूसभरि हजारौंको संख्यामा रहेका राजनीतिक बन्दी मध्ये के थाहा पुटिन सत्ता कसलाई पहिला बलि चढाउन चाहन्छ!

नाभाल्नीको अन्तिम सन्देश

जर्मनीमा उपचार गरेर निको भएपछि धेरै शुभचिन्तकहरूले नाभाल्नीलाई रूस नफर्कन सल्लाह दिएका थिए। उनलाई पनि मारिने संभावनाको ज्ञान थियो। तर विदेशको सुखसुविधाको जीवनभन्दा उनले मातृभूमि र संघर्ष रोजे। शहीद त्यो हो जो जीवनको विकल्प हुँदाहुँदै आफ्नो आस्था र ध्येयको लागि मृत्युवरण गर्न तयार हुन्छ। नाभाल्नीले आफ्नो मातृभूमि र आस्थाको लागि जीवन बलिदान गरे।

नाभाल्नीले छोडेको एक मर्मस्पर्शी भिडियो सन्देश उनको मरणोपरान्त सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यापक भएको छ। सो सन्देशमा उनले भनेका छन् ‘यदि उनीहरूले मलाई मारेछन् भने त्यो हाम्रो असाधारण शक्तिको क्षण हुनेछ। त्यसैले म मर्दैमा हार नमान्नू।’ युद्धोन्माद र दानवीय चिन्तनले ग्रस्त तानाशाहको कठोर शासनको छायाँमा सम्हालिन र एक हुन नसकेको रुसी लोकतान्त्रिक शक्तिलाई यस सन्देशले प्रेरणा र नैतिक बल प्रदान गर्ने आशा गर्दै रुसी लोकतन्त्रका बलिदानी व्यक्तित्व अलेक्सेई नाभाल्नीप्रति हार्दिक श्रद्धासुमन!

भियना, २२ फेब्रुअरी २०२४

लेखकको बारेमा
डा. श्याम उपाध्याय

समसामयिक विषयहरूमा कलम चलाउने डा उपाध्याय राष्ट्रसंघीय सेवा निवृत तथ्यांकविद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?