+
+

रुसी राष्ट्रपतिमा पुटिनको जित सुनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते ६:४३

५ चैत, काठमाडौं । रुसको राष्ट्रपतिमा फेरि एकपटक भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन चुनाव भएको थियो ।

सीएनएनका अनुसार पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको छ । जो रुसको सोभियत इतिहासकै सबैभन्दा ठूलो परिणाम हो ।

यसैगरी रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (वीसीआईओएम)ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा थप ६ वर्ष कायम रहने निश्चित रहेको जनाएको छ ।

यी रिसर्च सेन्टरका अघिल्ला एग्जिट पोलहरु सटिक थिए ।

आलोचना

यसपटकको राष्ट्रपति चुनावमा ७१ वर्षीय पुटिन उनी एकल दाबेदार थिए । यद्यपि प्रतिस्पर्धामा क्रेमलिनद्वारा समर्थित तीन उम्मेदवार थिए । उनीहरु सशक्त उम्मेदवार थिएनन् । पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको र अरु सशक्त उम्मेदवार कोही नहुँदा पुटिनको जित पहिल्यै सुनिश्चित थियो । उनका केही विरोधीहरु अहिले पनि जेलमै छन् ।

त्यसैले कतिपयले रुसमा भएको राष्ट्रपतिको निर्वाचन निष्पक्ष नभएको भनेर आलोचना पनि गरेका छन् । निर्वाचनको दिन पनि पुटिनका विरोधीहरुले मतदान केन्द्र बाहिर विरोध प्रदर्शन गरेका थिए ।

अमेरिकाले निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भनेर आलोचना गरेको छ । जर्मनीले पनि सेन्सरसिप, दमन र हिंसाको जगमा छद्म चुनाव गराइएको टिप्पणी गरेको छ । बेलायतले पनि चुनावलाई अवैध भनेर निन्दा गरेको छ ।

तर पुटिनले भने रुसको लोकतन्त्र अन्य देशहरुको तुलनामा अधिक पारदर्शी रहेको जिकीर गरेका छन् ।

पुटिन सन् १९९९ देखि रुसको सत्तामा छन् । बोरिस यल्तसिनले आफ्नो खराब स्वास्थ्यका कारण पुटिनलाई सत्ता सुम्पिएका थिए । त्यसयता उनले चुनाव हारेका छैनन् ।

थप ६ वर्षका लागि राष्ट्रपति पदमा औपचारिक रुपमा निर्वाचित भएपछि पुटिनले जोसेफ स्टालिनको रेकर्ड तोड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?