+
+

त्रिनगर नाकाबाट २२ दिनदेखि खाद्यान्न र तरकारी आयात रोकियो

जनक विष्ट जनक विष्ट
२०८० भदौ १८ गते १७:३९

१८ भदौ, धनगढी । कैलालीको त्रिनगर भन्सार नाकाबाट पछिल्लो २२ दिनदेखि भारतबाट खाद्यान्न, तरकारी र फलफूल आयात रोकिएको छ ।

भन्सार कार्यालय कैलालीकाअनुसार टुरमुकामस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले कर्मचारी अभावको कारण देखाउदै विषादी परीषण नगरेपछि खाद्यान्न, तरकारी र फलफुल नेपालतर्फ आउन नपाएका हुन् ।

कार्यालयका प्रमुख राजेन्द्र हमालले प्लान्ट क्वारेन्टाइनले परीक्षण गरेर सामान पास नगर्दासम्म जाँचपास गर्न नपाउने भएपछि खाद्यान्न, फलफूल र तरकारीको आयात साउनको अन्तिम सातादेखि रोकिएको बताए । हमालले प्लान्ट क्वारेन्टाइनले परीक्षण नगर्नुको कारण भने थाहा नभएको प्रतिक्रिया दिए ।

प्रमुख भन्सार अधिकृत हमालले खाद्यान्न, तरकारी र फलफूलको आयात रोकिएमा प्रति महिना २० देखि २५ करोडको राजश्व संकलनमा गिरावट आउने बताए ।

प्लान्ट क्वारेन्टाइन महेन्द्रनगरका प्रमुख श्यामलाल शाहीले मुख्य कार्यालयबाट परीक्षण गर्ने केन्द्रीय निर्देशनअनुसार त्रिनगर भन्सारमा गुणस्तर तथा विषादी परीक्षण गर्न नसकिएको बताएका छन् ।

यसअघि प्लान्ट क्वारेन्टाइनका प्रमुख प्रमोद ठगुन्नाले गड्डाचौकी र त्रिनगर भन्सार नाका परीक्षण गर्दै आएका थिए । उनी अध्ययन बिदामा बाहिर गएपछि प्रमुख भएर आएका शाहीले भने केन्द्रीय निर्देशन भन्दै काम रोकेका हुन् ।

सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक नाका त्रिनगरमा क्वारेन्टाइनले परीक्षण रोकेपछि यहाँका व्यवसायीहरु समस्यामा परेका छन् ।

शारदा ब्यारेजमा भारतले मालबाहक सवारीसाधन ल्याउन नदिने हुँदा गड्डाचौकी भन्सारबाट आयात गर्न सक्ने अवस्था नभएपछि अहिले व्यवसायीहरुले बाँकेको रुपैडिया भन्सारबाट सामान ल्याउन बाध्य भएका छन् ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी समेत रहेका वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले विगतमा राजपत्रमा सूचना प्रकाशन नगरी स्थापना गरिएका कार्यालयबाट सेवा प्रवाह रोकिएको बताए ।

आचार्यले धनगढीसहित राजपत्रमा सूचना प्रकाशन नभएर सेवा प्रवाह गरेर विभिन्न ठाउँका क्वारेन्टाइन कार्यालयको सेवा रोकिएको जानकारी दिए ।

‘नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय स्थापना गर्नुपर्ने र त्यहाँबाट सेवा प्रवाह गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ,’ आचार्यले भने, ‘सोही कारण धनगढीसहितका अन्य ठाउँमा निरन्तरता दिन नसकिएको हो ।’

नाका नै ओझेलमा पार्ने खेल भएको आशंका

त्रिनगर भन्सारमा टुरमुकाम खोलेर सेवा दिदै आएको प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीले परीक्षण रोकेपछि नाकालाई ओझेलमा पार्न खोजिएको व्यवसायीहरुले आशंका व्यक्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको बजारको मागको झण्डै ४५ प्रतिशत यहाँका उद्योग तथा कलकारखानाले धानिरहेको बताउदै व्यवसायी विवेक भट्टले त्यसलाई विस्थापित गर्न यो खेल खेलिएको हुनसक्ने बताए ।

‘चार वर्षअघि पशु क्वारेन्टाइनले पनि २१ दिनसम्म नाकामा मालबाहक सवारीसाधन रोकेको थियो । सुदूरपश्चिममा व्यवसायीकरण हुन थालेको छ । मागको करीब ४५ प्रतिशत यतैका उद्योग, कलकारखानाले धान्न थालेपछि चिढिएका ठूला व्यापारीको स्वार्थमा प्लान्ट क्वारेन्टाइनले परीक्षण रोकेको हुनसक्छ’, भट्टले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले प्लान्ट क्वारेन्टाइनको मुख्य कार्यालय रहेको गड्डाचौकी नाकाबाट ठूला सवारीसाधन ल्याउन नसकिने र अरु नाकाबाट ल्याउँदा महंगो पर्ने बताए ।

उनले पूर्ववत रुपमै क्वारेन्टाइन सेवा सञ्चालन गर्नुपर्ने माग गर्दै कृषि मन्त्री, नेपाल सरकारका मुख्य सचिव, कृषि सचिव लगायतकाको ध्यानाकर्षण गराएपनि वेवास्ता गरिएको बताए ।

‘हामीले यो विषयमा प्रदेश सरकार, संघीय कृषि मन्त्री, कृषि सचिव, मुख्य सचिव ज्यूको ध्यानाकषर्ण गराएका छौँ तर उहाँहरुले कुनै चासो दिनुभएको छैन’, कुँवरले भने, ‘त्रिनगर भन्सार नाकामा सहज रुपमा क्वारेन्टाइन सेवा सञ्चालन नभए हामी संघर्षका कार्यक्रम गर्न बाध्य हुनेछौं ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?