+
+

सुख्खा मौसममा बागमतीमा पानीको बहाव बढाउन यस्तो बन्दैछ नागमती बाँध

अच्युत पुरी अच्युत पुरी
२०८० भदौ १९ गते १८:२२

१९ भदौ, काठमाडौं । सुख्खा मौसममा बागमती नदीको बहाव बढाउने उद्देश्यले प्रस्तावित नागमती बाँध निर्माणको प्रक्रियाले गति लिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको बागमती सुधार आयोजनाको एक अंगका रुपमा नागमती बाँध आयोजनाको काम अगाडि बढेको हो ।

बागमती सुधार आयोजनाका प्रमुख कृष्णप्रसाद रिजालका अनुसार सुख्खा मौसममा बागमतीमा पानीको बहाव बढाउन अगाडि बढाइएको यो बाँधबाट जलविद्युत समेत उत्पादन गर्ने लक्ष्य रहेको छ । साथै खानेपानीका लागि समेत यो बाँध उपयोग गर्ने लक्ष्य छ । सोहीकारण यसलाई बहुउद्देश्यीय आयोजना भनिएको छ ।

यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन तयार गरी रायका सुझाव माग गर्ने चरणमा पुगेको छ । यो बाँध गोकर्णेश्वर नगरपालिका वडा नं १ काठमाडौंमा बन्ने भएको छ । यो आयोजनाको बाँध नागमती नदी र बागमती नदीको संगमस्थल भन्दा ३ किलोमिटर माथि मूलखर्क गाउँ नजिक शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र रहने भएको छ ।

बाँधको उचाइ ९४.५ मिटर, लम्बाइ ५५४ मिटर र क्रेष्टमा ७ मिटर चौडाइ रहने आयोजनाले जनाएको छ । बाँध बाँधिएसँगै ९४.८४ लाख घनमिटर जलभण्डारण क्षमताको जलासय बन्ने भएको छ । ‘बागमती नदीलाई जीवन्त राख्दै आर्थिक गतिविधि बढाउन यो बाँधले ठूलो योगदान गर्नेछ,’ रिजालले भने ।

यो आयोजना अन्तर्गत पावरहाउस, पेनस्टेक, टर्वाइन, पुल तथा विद्युत प्रसारणलाइन जस्ता संरचना समेत यहाँ निर्माण हुने आयोजनाले जनाएको छ । आयोजना कुल ६५.३०४ हेक्टर जमिनमा बन्ने भएको छ । यसमध्ये शून्य दशमलव २९५ हेक्टर निजी जमिन र बाँकी वन क्षेत्र पर्छ । यो बाँध सुन्दरीजलबाट ५ किलोमिटरको मात्र दूरीमा अवस्थित रहने भएको छ । बागमतीमा पानीको बहाव बढाउन यसअधि धाप ड्याम निर्माण भइसकेको छ । पछिल्लो दुई वर्षयता बजेटमा परिरहेको यो आयोजनाको पूर्वतयारीको काम सुरु भएको रिजालले जनाएका छन् ।

बहुउद्देश्यीय आयोजना

सुख्खा याममा बागमती नदीको पानीको गुणस्तर निकै कम हुने गरेको सन्दर्भमा यो आयोजनाले गुणस्तर सुधारमा ठूलो योगदान गर्ने रिजालले बताए । यसबाहेक यो आयोजनाबाट १.८६ मेगावाट जलविद्युत उत्पादन गर्ने र वर्षायाममा मेलम्चि खानेपानी आयोजनामार्फत काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई ४५० लिटर प्रतिसेकेण्ड खानीपानी उपलब्ध गराउने उद्देश्य समेत यस बाँधको रहेको छ । यसले पर्यटन आगमन समेत बढाउने र निकुञ्जको आम्दानी बढ्ने बताइएको छ ।

८० हजार रुख कटान गर्नुपर्ने

यो आयोजना निर्माणका दौरान कुल ८० हजार २५८ वटा विभिन्न प्रजातिका रुख कटान गर्नुपर्ने वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनले जनाएको छ । ३० घरधुरीलाई प्रत्यक्ष प्रभाव पर्ने भएको छ । तर, आयोजनाको निर्माण पछि भने उद्यम विकास, पर्या-पर्यटन, कृषि क्षेत्रमा भने सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

यो बाँधबाट प्रतिसेकेन्ड १५० लिटर पानी भने नदीको वातावरणीय प्रवाहका लागि छाडिने भएको छ । नागमती बाँध आयोजना कार्यान्वयनको निर्णय १२ चैत २०७७ मा भएको हो । यो आयोजनालाई राष्ट्रिय योजना आयोगले प्राथमिकता प्राप्त १ मा समावेश गरेको छ । आयोजनामा एसियाली विकास बैंकले बजेटरी सहायता गर्दैछ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?