+
+

एसियन गेम्सअघि भारोत्तोलन खेलाडीलाई वर्ल्ड च्याम्पियनसिपमा मौका

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० भदौ २० गते १२:३१

२० भदौ, काठमाडौं । एसियन गेम्सको तयारीमा रहेका भारोत्तोलन खेलाडी त्यसअघि आईडब्लूएफ वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुने भएका छन् ।

सेप्टेम्बर २३ देखि अक्टुबर ८ सम्म चीनमा हुने एसियन गेम्सका लागि दुई महिनादेखि पोखरामा प्रशिक्षण लिइरहेका विकास भट्ट, विशाल सिंह विष्ट, टीकामाया गुरुङ र शारदा चौधरी र अर्का खेलाडी सागर भण्डारीले वर्ल्ड च्याम्पियनसिपमा भाग लिन लागेका हुन् ।

भदौ १७ देखि ३१ गते (सेप्टेम्बर ३ देखि १७)  सम्म साउदी अरेबियाको रियादमा हुने वर्ल्ड च्याम्पियनसिपमा नेपालबाट पुरुष ८१ केजीमा विकास भट्ट, ९६ केजीमा विशालसिंह विष्ट र १०९ केजीमा सागर भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । महिला ५५ केजीमा टीकामाया गुरुङ तथा ६४ केजीमा शारदा चौधरीले खेल्ने छन् ।

भारोत्तोलनको वर्ल्ड च्याम्पियनसिपमा नेपालले १६ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको भारोत्तोलन संघका अध्यक्ष राम बोसलेले बताए । यसअघि सन् २००७ मा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नेपाली टोलीका प्रशिक्षक जीवन गौतमले आफू र खेलाडीहरु वर्ल्ड च्याम्पियनसिपलाई लिएर उत्साहित रहेको बताए । ‘खेलाडीले जति टुर्नामेन्ट पाउँछ त्यति उसको नलेज बढ्छ । गेममा सुधार हुने चान्स हुन्छ’ उनले भने ।

नेपाली टोलीका खेलाडी र प्रशिक्षक

दुई महिनाको प्रशिक्षणले पदक ल्याउन कठिन हुने भन्दै उनले खेलाडीहरुको प्रदर्शन सुधार हुने आशा राखे ।

खेलाडी विशालले अन्तिम समयमा वर्ल्ड च्याम्पियनसिप जाने थाहा पाउँदा उत्साहित भएको बताए । ‘हामी एसियन गेम्सको तयारीमा थियौँ । क्याम्पमा एक्कासी वर्ल्ड च्याम्पियनसिप जाने कुरा थाहा पाउदा खुशी छौँ’, उनले भने ।

तर भारोत्तोलन शक्ति सञ्चित गर्नुपर्ने खेल भएकाले लगातार दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा केही गाह्रो पनि हुने उनको बुझाइ छ । ‘एक हिसवाले लगातार दुई खेल्नु गाह्रो पनि हो । तर राम्रो के हो भने यसमा केही गल्ती भए एसियन गेम्समा सुधार गर्न सकिन्छ’ उनले भने ।

यसअघि युनिभर्सियाड खेलेकी टीकामायाले नसोचेको अवसर प्राप्त भएको बताइन् । ‘पहिले पनि अन्तर्राष्ट्रिय प्रतियोगिता त खेलेको थिएँ । तर त्यो भन्दा यो ठूलो हो । वर्ल्ड च्याम्पियनसिप खेल्ने अहिल्यै सोचेको पनि थिइँन’ उनले खुशी व्यक्त गरिन् ।

वायाँबाट- टीकामाया गुरुङ र शारदा चौधरी

यस्तै शारदाले वर्ल्ड च्याम्पियनसिपबाट अनुभव लिने अवसर पाउने बताइन् । ‘हाम्रो लक्ष्य एसियन गेम्स हो । त्यो भन्दा यो खेल्न पाउँदा धेरै अनुभव बटुल्न सकिन्छ । जसले फाइदा हुन्छ ।’

एसियन गेम्सको लागि तयारी र लक्ष्य

ठूलो प्रतियोगितामा सहभागी हुन पाउँदा खुशी भए पनि खेलाडी र प्रशिक्षक त्यसअघि भएको तयारीबाट भने सन्तुष्ट छैनन् ।

‘अरुको ओलम्पिक साइकल हुन्छ चार वर्षको । एउटा गेम खेलेपछि १०-१५ दिनको छुट्टी दिएर फेरि बोलाइहाल्छ’, प्रशिक्षक गौतमले भने, ‘हाम्रो खेलाडी कता छ के गरिराछ । खेलेको छ कि छैन मतलब हुँदैन ।’

प्रशिक्षक जीवन गौतम

दुई महिनाको तयारीले एसियन गेम्समा पनि पदक जित्न कठिन हुने गौतमले बताए । ‘भारोत्तोलनमा एसिया नै महाशक्ति हो । हामी पनि एसियामै पर्‍यौँ । ‍पदक ल्याउँछु भन्न पनि गाह्रो छ’ उनले भने, ‘हामी प्रतिस्पर्धा गर्ने हो, राम्रो गर्ने प्रयास गर्ने हो ।’

खेलाडी विशालले जुन प्रतियोगितामा पनि खेलाडीको लक्ष्य पदक जित्ने नै हुने बताए । ‘आफ्नो लेभलको एथ्लेटको सबै जानकारी हामीलाई पनि हुन्छ । त्यसैले मेडल नै त भन्न सकिन्न । तर व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय कीर्तिमानहरु बनाउने लक्ष्य छ’ उनले भने ।

खेलाडी टीकामाया गुरुङले वर्ल्ड च्याम्पियनसिपको सहाभागिताले एसियन गेम्समा सहयोग गर्ने बताइन् । ‘यसले एसियन गेम्स धेरै सहयोग गर्छ । वर्ल्ड च्याम्पियनसिपमा बेस्ट दिने अनी एसियन गेम्स अझ राम्रो गर्ने योजना छ । लक्ष्य नेशनल रेकर्ड ब्रेक गर्ने हो ।’

यस्तै शारदाले पनि एसियन गेम्समा मेडल भन्दा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य रहेको बताइन् । ‘एसियन गेम्समा मुख्य कुरा भनेको मेडल भन्दा पनि आफ्नो बेस्ट दिने र राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य छ ।’

तस्वीर तथा भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?