+
+
ब्लग   :

काठमाडौंका हराएका खोलाहरू

यही नदी किनार वरिपरिबाट नै सुरु भएको काठमाडौं-बागमती मानव सभ्यता आज डग्मगाएको छ। यस धरातलमा उभिएर हेर्दा आज टुकुचा र सामाखुशी जस्ता खोलाहरू आफ्ना लागि न्याय माग्दै अदालत पुगेका छन्।

 

विनीत तिमल्सिना विनीत तिमल्सिना
२०८० भदौ २० गते १४:२१

नेपाल नदीनाला, खोला–खोल्सीहरूबाट प्राकृतिक रूपमै सुसज्जित छ। यहाँ ६ हजारभन्दा बढी खोला, नदीनाला छन्। तर प्राकृतिक रूपमा प्राप्त ती खोला–खोल्साहरूको अहिलेको अवस्था के छ ?

नदीनालाको इतिहास मान्छेको इतिहासभन्दा धेरै पुरानो छ। मान्छेको उदयकाल कस्तो रह्यो, कसरी भयो भनेर सायद वैज्ञानिकहरूले खोलानालालाई सोध्ने गरेको पाइन्छ। नदीनालाको बग्ने बाटो, उसले बोकेर ल्याउने थिग्रो र पानीमा मिसावटबाट सम्पूर्ण रहस्यको खोजी गर्न सकिन्छ।

विनीत तिमल्सिना

अति शहरीकरणले अहिले काठमाडौंका त खोलाहरू नै छैनन्। या भनौं काठमाडौंको इतिहास निकै रहस्यमय छ कि मानिसले खोलाहरूलाई नै लुकाएर राखेका छन्। थाहा छ ? र काठमाडौंमा भएका मुख्य नदीहरूमा पनि पानी बग्दैन। बरु पानीको सट्टा यहाँ बग्छन् त सिर्फ काठमाडौंवासीहरूको पारदर्शी नैतिकता।

कतै पढेको थिएँ सोमप्रसाद पुडासैनीले लेख्नुभएको थियो-बागमतीले लिच्छविकालदेखिको विकास देखेको छ। हाम्रो काठमाडौंको सभ्यता भनेको नै बागमती र यसका सहायक नदीहरू हुन्। तर विडम्बना आज सभ्यता कम, लज्जा बढी लाग्छ। किनकि, नुहाएर शरीर स्वच्छ, सफा गर्ने पानी अहिले आफैं प्रशोधन केन्द्रहरू कुर्दै सफा हुन संघर्ष गर्दैछ।

वागद्वार हुँदै काठमाडौंमा बग्ने क्रममा बागमतीमा ७ वटा मुख्य शाखा नदीहरू (मनोहरा, रुद्रमती, टुकुचा, विष्णुमती, बल्खु, नख्खु र दक्षिणकाली) मिसिन्छ। यसरी काठमाडौं पुछार चोभार हुँदै काठमाडौंको उपहार लिंदै बागमती बाहिरिन्छ।

सामाखुशी खोलामाथि फलामको जालो र त्यसमाथि टुक्रिएका जस्तापाता।

यही नदी किनार वरिपरिबाट नै सुरु भएको काठमाडौं-बागमती मानव सभ्यता आज डग्मगाएको छ। यस धरातलमा उभिएर हेर्दा आज टुकुचा र सामाखुशी जस्ता खोलाहरू आफ्ना लागि न्याय माग्दै अदालत पुगेका छन्।

आफ्नो अस्तित्व माथिको त्यो दाग हटाउन अरु कोहीसँग गुहार माग्दै छन्। त्यसैले त होला, लाखौं स्वयंसेवकको उपस्थिति र ५१० हप्ताभन्दा बढी समय बागमती सफाइ अभियान जस्तो महान् कार्य गर्न थुप्रै हात जुटेका थिए।

यस अभियानले आम जनमानसमा फोहोरको व्यवस्थापन, खोला र खोला किनार सरसफाइ, ढल व्यवस्थापन, रुख–बिरुवा संरक्षण जस्ता थुप्रै काम जागरुक बनाएको छ। तर खोला तथा नदी क्षेत्रको विभिन्न तरिकाबाट अतिक्रमण हुनु मुख्य चुनौतीको विषय हो।

हो, त्यसैले मलाई बच्चाबच्ची जस्तै लाग्छ यी दुई खोला। लुकामारी खेल्दै, लुक्दै, देखिंदै र फेरि कतै लुक्ने काममा अभ्यस्त छन्। महाराजगञ्जको कुनै कुनाबाट आफूलाई निकाल्न गुहार गर्दै गरेको टुकुचा खोला इच्छु मार्गमा कतै फोडिएका ढलानबाट कराउँदै छ त कतै नारायणहिटी दरबार र जयनेपाल हलको तल, ढलाने ह्युमपाइपबाट रोदनको आवाज गुञ्जन्छ।

जयनेपाल हलमुनि टुकुचा खोला।

अझै तपाईंलाई थाहा छैन होला, भृकुटीमण्डप र ट्राफिक कार्यालय पछाडि भएर बग्ने टुकुचामा कैयन् फोहोरका पुस्ताहरूले डेरा जमाएर बसेका छन्। मानौं यो खोलामा पानीको हैन अब फोहोरका डङ्गुरको मोही हक छ। कि यी फोहोरहरू पनि शरणार्थी हुन् ? न आफ्नो कुनै स्थायी व्यवस्थित घर छ, न त कतै ढुक्कले बस्न पाउँछन्।

कति सुन्दर देखिन्थ्यो होला है? यदि फोहोरको पनि व्यवस्थापन राम्ररी हुन्थ्यो अनि खोलानाला पनि सफा हुन्थ्यो। दुवै आ-आफ्नो अधिकारबाट लाभान्वित हुन्थे, अनि पूरै वातावरण नै ऊर्जामय हुन्थ्यो।

भृकुटीमण्डपमा टुकुचा खोलामामाथि पालिएको फोहोर ।

कालमोचन घाट, थापाथलीमा आएर बागमतीमा मिसिने टुकुचा उहिले मञ्जुश्रीको पालामा संकस्य नगरको सिमाना छुट्याउने सीमा पनि रहेछ तर अहिले यो घर र बाटो मुनि लुकेर बग्ने गन्हाउने ढल भन्दा अरु केही बाँकी रहेन। तर केही आशाका किरण देखिएका थिए यदि तपाईंहरूले २०७७ मा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले टुकुचा खोला कोरिडोर पूर्व-सम्भाव्यता अध्ययनको प्रतिवेदन पढ्नुभयो भने।

कति सुन्दर अनि कति प्रकृति र पैदलयात्री मैत्री पनि छ। तर कानुन विपरीत खोला मिचेर बनाएका घर, बाटोले र खोलामा सीधै ढल मिसाउनेले यो स्वर्ण उद्देश्य सपना मात्रै बन्न पुगेको छ।

कुरामा कुरा थपे जस्तो हुन्छ होला, तर सामाखुशी खोला पनि कहाँ यो दुःखबाट टाढा रहेको छ र? यहाँ त झन् खोला माथि ढलाने बाटो छ, पक्की पुल छ। ‘साँघुरो गल्लीमा एउटा चोक छ, यहाँ के छैन सब थोक छ’ भन्नुहुन्थ्यो भूपी शेरचन आफ्नो ‘मेरो चोक’ कवितामा।

हो ठिक त्यस्तै छ। त्यहीमाथि मन्दिर छ, ठेला छ। खोलालाई खोलाकै रूपमा राखे मात्रै यहाँका धेरै समस्या समाधान हुन्थ्यो होला। ढल जसरी कुनै कुनै ठाउँमा खोलेर मान्छे बगाउने चलन कुनै नौलो हैन। यो त अहिले पर्व जस्तै मनाउने गरेको पाइन्छ।

सामाखुशी बस्तीमुनि सामाखुशी खोला

वर्षायाममा मिडियाले भए/नभएको कुरा राखेर मनाउने, पीडितले रोएर मनाउने, मै हुँ भन्ने र यो निजी सम्पत्ति हो, ढल हो भनेर आफ्नो स्वार्थपूर्ति गर्ने ठेकेदारहरूले भने नेताको चाकडी गरी खोलालाई बन्धक नै राख्न माग राखी मनाउने गरेको पाइन्छ यो पर्व।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०६९ सालमा नै बागमती नदी र यसका सहायक नदीहरूमा पूर्वाधार बनाउन रोक लगाएको थियो जसमा सामाखुशी खोला (४ मिटर दायाँ र बायाँ) पनि पर्छ। तर सामाखुशी खोला दङ्ग छ, पढेलेखेका मान्छेबाट नै नियम कानुनको पर्वाह नगरी आफ्नो मर्जीले दोहन गरिरहेको देखेर।

भनोस् पनि त कसलाई ? कानुनको राज्य भए पो यहाँ ! न्याय नपाए गोरखा जानु भन्थे, गोरखाबाट नेपाल बन्यो तर न्याय हराएर गयो, मयलिंदै गयो। काठमाडौंको खोलाहरूको पानी जस्तै, ढल बन्दै। लुकाउँदै लाज जसरी।

इच्छु मार्गमा स्लाबभित्र बग्दै टुकुचा

धन्न अहिले कसैले त्यो रोदन सुन्नुभएछ र यो ढलाने बन्धन र हत्कडीबाट मुक्त गराई, यी दुई लुकेका खोलाहरूले आफ्नो स्वरूपमा बग्न अनुरोध गर्दै हुनुहुन्छ। सायद खोलालाई आकाशबाट सजिलैसित देख्न पाउनु र यसको स्वास्थ्य पहिले जस्तै शुद्ध गराउने उद्देश्य पूरा गर्नु अबको चुनौती हो।

यो अवस्था सिर्जना गर्ने दायित्त्व हामी सबैको हो। स्वच्छ, सफा र हरियाली बागमती बनाउन हातमा हात र काँधमा काँध जोडी अघि बढौं।

भृकुटीमण्डमा फोहोर फ्याकिएको टुकुचा खोला

लेखक वातावरण विज्ञान अध्ययनरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?