+
+
पारस खड्कासँग वार्ता :

‘चुनावी राजनीति सोचेभन्दा धेरै चुनौतीपूर्ण रहेछ’

क्रिकेट त तेस्रो फ्याक्टर मात्र रहेछ । पहिलो, राजनीतिक पृष्ठभूमि, दोस्रो, भाइचारा सम्बन्ध रहेछ । म तेस्रोबाट आएँ । कतिपय ठाउँमा पहिलो र दोस्रोलाई मिलाएर जानुपर्ने रहेछ, कतिपय ठाउँमा त्यसलाई चिरेर अगाडि बढ्नु पर्दा धेरै चुनौतीपूर्ण महसुस गरें ।

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते २१:०१

२१ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) मा चुनावी माहौल चलिरहेको छ । जिल्ला र प्रदेशका नेतृत्व चयन भइसकेका छन् भने आगामी असोज ६ र ७ गते हुने केन्द्रीय साधारणसभाबाट केन्द्रीय नेतृत्व चयन हुनेछ ।

खेलाडी हुँदादेखि नै क्रिकेट सिस्टममाथि प्रश्न गर्दै आएका पारस खड्काले क्रिकेट व्यवस्थापनमा लाग्ने योजनासहित दुई वर्षअघि सन्यास लिएका थिए । हालै मात्र बागमती प्रदेशको अध्यक्ष चुनिएका उनी अब केन्द्रमा पदाधिकारी उठ्ने तयारीमा छन् ।

अध्यक्ष कि सचिव भन्ने प्रश्नमा उनी अहिलेसम्म खुलेका छैनन् । काम गर्न सक्ने मानिसहरूको टिमलाई चाहनामा राखेका उनी भन्छन्, ‘सबै एकठाउँमा बसेर छलफल गरेपछि यो पदमा आएर काम गर्न चाहन्छु भन्ने निर्णय लिन्छु ।’

क्रिकेट व्यवस्थापनलाई लिएर विगतमा उठाएको आवाज, आफैं व्यवस्थापनमा जाने क्रममा भोगेका कठिनाइ र अबको योजनाबारे खड्कासँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :

क्रिकेट खेल्न सजिलो रहेछ कि क्रिकेट व्यवस्थापन गर्ने संघको चुनावी राजनीति ?

चुनावी राजनीति मैले सोचेभन्दा धेरै नै चुनौतीपूर्ण रहेछ । एउटा जुनियर प्लेयर, सिनियर प्लेयर वा कप्तान रहँदा म आफ्नो मत राख्नुपर्छ भन्ने मान्यता राख्थें । कसरी जित्ने ? बलरको जिम्मेवारी के ? ब्याट्सम्यानको जिम्मेवारी के भन्ने बाहेक क्रिकेटको सिस्टम यस्तो हुनुपर्छ पनि भनें । बेला–बेला वादविवाद पनि भयो, अहिले पनि भइरहेको छ ।

तर सक्रिय रूपमा जिल्ला क्रिकेट संघ, प्रदेश अनि अहिले केन्द्रको चुनावको तयारी गरिरहँदा के महसुस गरें भने यो लडाईं एकदमै गाह्रो रहेछ । व्यक्तिगत रूपमा यो पनि फिल गरें कि म त जसोतसो यहाँसम्म आइपुगें, भोलि कुनै खेलाडीले क्रिकेट सिस्टममा आउनुपर्‍यो भने धेरै नै कठिन रहेछ । किनकि क्रिकेट त तेस्रो फ्याक्टर मात्र रहेछ । पहिलो, राजनीतिक पृष्ठभूमि, दोस्रो, भाइचारा सम्बन्ध रहेछ । म तेस्रोबाट आएँ । कतिपय ठाउँमा पहिलो र दोस्रोलाई मिलाएर जानुपर्ने रहेछ, कतिपय ठाउँमा त्यसलाई चिरेर अगाडि बढ्नु पर्दा धेरै चुनौतीपूर्ण महसुस गरें आजको दिनसम्म ।

क्रिकेट संघ, उसको नेतृत्वमाथि तपाईंले प्रश्न उठाउन थालेको लामो समय भयो । पहिलो पटक कुन बेला क्रिकेट संघको व्यवस्थापन ठीक भएन भन्ने लागेको थियो, याद छ ?

म सन् २००७ मा पहिलो पटक राष्ट्रिय टिमको उपकप्तान भएको थिएँ । लगत्तै यू–१९ एसिया कप जितेर हामी २००८ को विश्वकप खेल्न गएका थियौं । हामी प्लेट च्याम्पियनसिपको फाइनलमा पुग्यौं, तर वेस्टइन्डिजसँग पराजित भयौं । मैले आज भन्नुपर्ने हुन्छ, त्यसक्रममा मैले भत्ताको सिट देखें । हामी खेलाडीहरूको प्रतिदिन ८ डलर थियो, पदाधिकारीको १६ डलर । प्रायोजकका तर्फबाट गएका व्यक्तिहरूको पनि १६ डलर नै थियो । पैसा नै सबथोक त होइन, तर यो ठीक होइन है भन्ने लागेको थियो ।

२००९ मा राष्ट्रिय टिमको कप्तान भएँ । अर्को वर्ष हामीले डिभिजन ५ जित्यौं । त्यसपछि सशस्त्र प्रहरीको पहिलो पटक विभागीय टोली गठन भयो, म आफैं पनि टिममा आवद्ध भएँ । त्यसपछि आर्मी र पुलिसले पनि टिम बनाए । त्यही क्रममा सचेत रूपमा भनौं वा अवचेतन रूपमा हामी खेलाडीहरूलाई क्रिकेट व्यावसायिक हुनुपर्छ भन्ने महसुस भयो । यसो हेर्यौं, सबैलाई जित र हारको मात्र चासो हुन्थ्यो ।

हामी खेलाडीहरूले त प्रशिक्षकहरूले जे–जति सिकाउनुभयो, त्यसको बलमा जीउज्यान लगाएर खेल्थ्यौं । जब मैदान बाहिर आउँथ्यौं, जित–हार बाहेक अरू चासो नै हुन्थेन । त्यसपछि शायद सिस्टम ठीक छैन, यसमा प्रश्न गर्नुपर्छ भनेर हामी खेलाडीहरूबीच छलफल गर्न थाल्यौं । कप्तान भएर मैले टिमको त्यही भावना व्यक्त गर्थें । नेपालको क्रिकेट जसरी चल्नुपर्ने हो, त्यो भएन भनिरहें । विगतलाई फर्किएर हेर्दा हाम्रो लडाईं एउटै कुराका लागि थियो, नेपालको क्रिकेटको संरचना राम्रो हुनुपर्‍यो ।

क्लाइमेक्स चाहिं सन् २०१३–१४ थियो, होइन ? जतिबेला खेलाडीहरूले बन्द प्रशिक्षण नै छोड्नुभयो, अनि राष्ट्रिय खेलकुद परिषद्को मध्यस्थतामा रातारात वार्ता गर्नुपर्‍यो !

जहाँसम्म मलाई याद छ, त्यो बेला राष्ट्रिय प्रतियोगिता हुन लागेको थियो । वर्ल्डकप क्वालिफायर्स पनि आइरहेको थियो, क्लोज क्याम्पका लागि समय पनि कम भएकाले हामीले राष्ट्रिय प्रतियोगिता काठमाडौंमै गर्दा राम्रो हुन्छ भन्ने म्यासेज पठाएका थियौं । तर क्रिकेट संघका पदाधिकारीहरूले किन हो, पोखरामा गर्ने निर्णय गरे ।

काठमाडौंमा प्रतियोगिता गरेको भए खेल्नेहरू म्याच खेल्थे, अरूले प्राक्टिस गर्थे । पोखरामा एउटै मात्र मैदान भएकाले त्यो सम्भव थिएन । (पोखरा प्रिमियर लिगको खेल भइरहेको तस्वीर देखाउँदै) अहिले यो जुन मैदान देख्नुहुन्छ, त्यो बेला यो पनि थिएन । त्यहाँ खेलेर विश्वकप छनोटको तयारी गर्न सम्भव थिएन । क्रिकेट संघको कुनै व्यक्तिको कुनै स्वार्थ थियो वा अरू के थियो ? थाहा भएन । तर ठूलो ह्याम्पर हुन्छ भन्ने लागेपछि हामीले पत्रकार सम्मेलन गर्यौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा हुनुहुन्थ्यो, उहाँ समेत संलग्न भएर डेढ–दुई दिन वार्ता गरेपछि एउटा सहमतिमा पुग्यौं ।

यदि त्यो बेला तपाईंहरू यसरी नआएको भए के हुन्थ्यो होला ?

त्यतिबेला क्रिकेटरहरूको एउटा पुस्ताले नै सिस्टममाथि प्रश्न उठाएको थियो, जुन नेपाली क्रिकेटको इतिहासमा सायद कहिल्यै भएको थिएन ।

त्यो पुस्ताको एउटै मत थियो, नेपाल क्रिकेट अब पदाधिकारीहरूको मनमौजीले चल्दैन, विधि–विधान अनुसार चल्नुपर्छ । काम गर्ने क्षमता भएका र क्रिकेट खेललाई समय दिन सक्ने मान्छेहरू नै क्रिकेट संघमा आउनुपर्छ ।

अहिले १० वर्ष पछाडि फर्किएर हेर्दा त्यो सही सोच र असल नियतका साथ एउटा पुस्ताले गरेको लडाईं थियो । त्यसले क्रिकेट फिल्डभित्र सुखका दिनहरू आउन थाले, नतिजाहरू आउन थाले ।

 

तर, त्यो घटनापछि क्रिकेट संघमाथि छानबिन गरेको अख्तियारले पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा लाग्यो, आईसीसीले पनि निलम्बन गर्‍यो । यसलाई लिएर तपाईंहरूमाथि आरोप पनि लाग्यो, होइन ?

हो, व्यक्तिगत रूपमा मलाई पनि धेरै दोष लगाए । पारस खड्काले आफ्नो अनुकूल संरचना बनाउन एसीसी–आईसीसीमा त्यो खालको वातावरण सृजना गर्‍यो भनेर आरोप लगाइयो । यदि त्यस्तो हुन्थ्यो भने त अहिले मलाई क्रिकेट संघको संरचनामा आउन यति धेरै गर्नै पर्दैनथ्यो होला नि ! वास्तवमा त्यस्तो हुँदैन, थिएन पनि । क्रिकेट कप्तानका रूपमा मैले जे जति विषय उठाएको थिएँ, त्यो टिमको इमोशन थियो ।

फेरि खेलाडीले विद्रोह गरे, तपाईंहरूलाई निलम्बन गर्छौं भनेर आईसीसीले भनेको थिएन । क्रिकेट संघ र त्यहाँ जिम्मेवार पदमा भएकाहरूले जिम्मेवारी पूरा नगरेको, आर्थिक पारदर्शिता नभएको कारण निलम्बनमा परेको हो जस्तो लाग्छ ।

जे होस्, नेपालको निलम्बन फुकुवा भइसक्यो । अनि अहिले त तपाईं आफैं क्रिकेट व्यवस्थापक बन्ने दौडमा हुनुहुन्छ । राइट प्लेसमा राइट म्यान भन्दै आउनुभएको थियो, त्यो राइट म्यान चाहिं म आफैं हुँ भन्ने चाहिं कहिले लाग्यो ?

क्रिकेट संघका लागि म राइट म्यान हो वा होइन, त्यो भविष्यले देखाउला ।

हिजो कप्तान रहँदा पनि क्रिकेट टिम मैले एक्लै चलाएर चलेको होइन । अंग्रेजीमा भनाइ छ, ‘टुगेदर एभ्रिवान अचिभ्स मोर’ अर्थात् मिलेर काम गर्ने हो भने हरेकले धेरै पाउन सक्छन् । त्यही भावना अनुसार मेरो राम्रो नियतले आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्ने कोसिस गरेको मात्र हुँ ।

क्रिकेट संघमा पनि म आएँ भने मात्र चेन्ज हुन्छ भन्ने विश्वास गर्दिनँ । क्रिकेट म्याचमा ब्याट्सम्यानले जति रन हानोस्, बलरले राम्रो बलिङ गर्न सकेन वा फिल्डरले क्याच छोड्यो भने जित्न सकिन्न । अफ द फिल्ड पनि त्यही हो । म आएँ भने क्रिकेटको सिस्टममा राम्रो ऊर्जा थप्न कोसिस गर्छु । तर मैले मात्र गरेर हुन्न । हामी भनेर सबै जना जोडिनुपर्छ । जिल्लादेखि प्रदेश र केन्द्रमा जो–जो निर्वाचित भएर आउनुभयो/आउनुहुन्छ, उहाँहरूको ठूलो भूमिका हुन्छ ।

क्रिकेट संघमै जानुपर्छ भन्ने किन लाग्यो ? बाहिर बसेरै पनि गर्न सकिन्थ्यो होला नि !

क्रिकेट खेलियो, उपकप्तान/कप्तान भइयो । प्रिमियर लिग लगायत प्रतियोगिता पनि गरें । पछिल्लो समय एकेडेमी पनि खोलें । अब एउटा बाँकी छ, क्रिकेट संघमा आएर केही गर्ने ।

यो सबै भूमिका निर्वाह गर्दा कति राम्रो गरें, कति नराम्रो गरें, यसको मूल्यांकन गर्ने जिम्मा क्रिकेट समुदायलाई छोड्छु ।

जहाँसम्म क्रिकेट संघमै किन भन्ने छ, काम त अहिले पनि गरिरहेकै छु । क्रिकेट संघमा भयो भने काम गर्ने हातहरू थपिने छन्, प्लाटफर्म पनि ठूलो हुन्छ भन्ने लागेर हो । किनकि आजको दिनमा क्रिकेटले मलाई सबथोक दिएको छ, मैले पनि क्रिकेटलाई केही दिनुपर्छ भन्ने मनमा आइरहन्छ ।

क्रिकेट संघमा काठमाडौंको जिल्ला कार्यसमिति सदस्य र बागमती प्रदेशको अध्यक्ष त हुनुभयो । छोटो समयमै सही, बाहिरबाट हेरेको र भित्र पस्दा भोगेको क्रिकेट संघ कस्तो देखियो ?

भर्खर सुरुवात भएको छ, तर चुनावी माहोल हेर्दा क्रिकेट विकासबारे कमै छलफल भएको पाएँ । सबैको ध्यान जिल्लाको अध्यक्ष बन्ने कि सचिव बन्ने कि पदाधिकारी बस्ने भन्ने हुँदोरहेछ । प्रदेशमा पनि को पदाधिकारी बन्ने, को केन्द्रको प्रतिनिधि भएर जाने भन्ने हुँदोरहेछ । अवश्य पनि, आजको दिनमा मेरो पनि जिल्ला, प्रदेश हुँदै केन्द्रमा आएर केही गरौं भन्ने सोच छ ।

जसरी जिल्ला, प्रदेश र केन्द्रको संरचनाबारे तपाईंले सोध्नुभएको छ, म पनि सबैलाई सोध्न चाहन्छु । किनकि मभन्दा अगाडि धेरै जना जोडिनुभएको थियो । उहाँहरूले के गर्नुभयो त भनेर हाम्रो पुस्ताले बारम्बार सोधेको थियो ।

अहिले म आफैं त्यो सिस्टमको पार्ट भएपछि हामीमाथि पनि प्रश्न उठ्छ । यसको जवाफ मैले यो गर्छु, त्यो गर्छु भन्नुभन्दा कामबाट दिनुपर्छ । आजको दिनमा जे जस्तो भए पनि नेपाल क्रिकेटको केन्द्र स्थापित छ, अब जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने भनेर हामी सबै लाग्नुपर्छ ।

एकछिन, आजको दिनमा नेपाली क्रिकेट खेलाडीहरू कहाँ छन् हेरौं । ए ग्रेडका खेलाडीको तलब जम्मा ६० हजार छ, बी ग्रेडका ५० र सी ग्रेडका ४० हजार छ । इन्स्योरेन्स छैन, अरू सेवा–सुविधा पनि उस्तै छ । राष्ट्रिय टिममा पर्न संघर्षरत, तर नपरेकाहरूले त केही पाउँदैनन् । उमेर समूहका खेलाडीहरू कसरी बाँचेका छन्, कसैलाई चासो छैन । यसरी नै चल्छ ?

मैले प्रष्ट भन्नुपर्छ, हामीले क्रिकेट संरचनामा ५ प्रतिशत पनि काम गरेका छैनौं । साँच्चै खेल र खेलाडीलाई सुरक्षित गर्न चाहन्छौं भने ठूला पहाडहरू चढ्नुपर्छ । होइन, यही संरचनामा अगाडि बढ्ने हो भने भोलि कुनै पनि दिन ठूलो दुर्घटनामा पर्न सक्छौं ।

क्रिकेट वर्ल्डकप लिग टूको अन्तिम १२ खेल खेल्नु अगाडि पनि कतिपय भाइहरूले मलाई म्यासेज गरेर भनेका थिए, दाइ म त अष्ट्रेलिया जान्छु, म त बेलायत जान्छु । मैले उहाँहरूलाई त्यही भनेको थिएँ, अलिकति धैर्य गर्नुस् ।

मैले व्यक्तिगत रूपमा क्रिकेट छोड्दा लिग टूको ३६ मध्ये जम्मा चार वटा खेल खेलेको थिएँ । त्यो बेला मेरो क्याल्कुलेसन के थियो भने ३/४ वर्षमा खेलाडीहरूसँग ३२ वटा ओडीआईको अनुभव हुन्छ । भोलि म क्रिकेट संघमा कुनै पोजिसनमा आएँ भने एकदिवसीय मान्यता रहे पनि नरहे पनि टिमलाई अगाडि लिएर जान सकिन्छ भन्ने थियो । किनकि पछिल्लो १२ वटा म्याच खेल्नु अगाडिसम्म हामी मध्ये कसैलाई पनि लागेको थिएन, ओडीआई स्टाटस जोगाउँछौं । प्रशिक्षकमा मोन्टी देशाई आउनुभयो, एकपछि अर्को म्याच जित्दै गयौं । एकदिवसीय मान्यता जोगायौं, एसिया कप पनि खेल्यौं ।

तर दुर्भाग्य के भने हामी एकदमै क्षणिक संरचनामा बाँचिरहेका छौं । राष्ट्रिय टिममा परुन्जेल ठिकठाक छ, जहाँ टिमबाट बाहिरियो, खेलाडीको भविष्य नै छैन । मैले क्रिकेट छोडेपछि एकेडेमी सुरु गर्छु भन्ने थियो, लगभग सेटअप भएको छ । अरू खेलाडीको त भोलि के गर्छु भन्ने समेत छैन । त्यसैले क्रिकेटको संरचनामा कुनै बदलाव आएको छैन ।

मैले प्रष्ट भन्नुपर्छ, हामीले क्रिकेट संरचनामा ५ प्रतिशत पनि काम गरेका छैनौं ।

साँच्चै खेल र खेलाडीलाई सुरक्षित गर्न चाहन्छौं भने ठूला पहाडहरू चढ्नुपर्छ । होइन, यही संरचनामा अगाडि बढ्ने हो भने भोलि कुनै पनि दिन ठूलो दुर्घटनामा पर्न सक्छौं ।

यसमा तपाईंको योजना चाहिं के छ ? क्रिकेट संघको केन्द्रमा गए के गर्छु भन्ने छ ?

अन फिल्ड प्रदर्शन राम्रो छ । यो टिमलाई अलिकति ग्रुमिङ गर्ने हो भने धेरै सोच्नुपर्ने छैन । अफ फिल्ड चाहिं के हुनुपर्ने जस्तो लाग्छ भने बागमती प्रदेशको अध्यक्ष निर्वाचन लड्दै गर्दा कसरी काम गर्छौं भनेर भिजन पेपर सार्वजनिक गरेका छौं ।

चुनाव जितेपछि अहिले हाम्रो प्राथमिकता स्पोन्सरसिप लगायतबाट स्रोत जुटाउने छ । एक–दुई महिना यसमै भागदौड गर्छौं । त्यसपछि प्रदेशका खेलाडीहरूलाई कन्ट्रयाक्ट सिस्टममा ल्याउँछौं । स्रोत जुटाउन सक्यौं भने जिल्लासम्म पनि लैजाने । किनकि यसो गर्न सक्यौं भने व्यावसायिकता हुन्छ ।

त्यसपछि प्रतियोगिताहरू आयोजना गर्ने । सिनियर खेलाडीका लागि ४५/५० जना खेलाडीलाई तीन समूहमा बाँडेर मल्टी डे फर्म्याटको होम एण्ड अवे प्रतियोगिता आयोजना गर्ने । महिलाहरूका लागि प्रो–४० प्रतियोगिता गर्ने सोच छ । इन्टर स्कुल जिल्ला च्याम्पियन आयोजना गर्छौं, हामीसँग प्रदेशमा भएका प्रशिक्षकहरूलाई वार्षिक कार्यक्रम सहित निश्चित उमेर समूहको जिम्मा दिन्छौं ।

यो त प्रदेशको भयो, केन्द्रको योजना चाहिं के छ भन्ने मेरो प्रश्न !

मैले आफ्नो प्रदेशको योजना सुनाएँ । यदि सबै प्रदेशले यसरी नै योजना बनाउने हो भने एउटा परिवर्तन आउन सक्छ । तर सबै प्रदेशमा त्यही खालको स्रोत–साधन छ त भन्ने प्रश्न पनि छ । जति सम्भव छ, त्यति प्रयास गर्नुपर्छ ।

केन्द्रले चाहिं जतिसक्दो धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने वातावरण सृजना गर्नुपर्छ । किनकि जति धेरै प्रतियोगिता गर्छौं, त्यति नै बजेट आउँछ । फ्रेन्चाइज लिग अर्को एउटा महत्वपूर्ण माध्यम हो । आज हामीसँग ओडीआई स्टाटस छ, यो बेलामा धेरैभन्दा धेरै ओडीआई म्याच गराउनुपर्छ । मैले हिसाब गरेर हेरेको त छैन, तर एउटा ओडीआईबाट ५ देखि १० लाख नाफा निकाल्न सक्यौं र वर्षमा ३० वटा ओडीआई खेलायौं भने डेढ करोड रुपैयाँ हुन्छ । यो रकमको ठूलो हिस्सा प्रदेश र जिल्लामा दिन सकिन्छ ।

क्रिकेटिङ हिसाबले चाहिं मल्टी डे क्रिकेट फर्म्याट । यदि क्रिकेट संघले आगामी दिनमा ५० ओभर र दुई वा तीन दिवसीय क्रिकेट कार्यान्वयन गरेन भने हाम्रो क्रिकेट अगाडि बढ्न सक्दैन ।

ग्रासरुट क्रिकेटको धेरै काम जिल्ला र प्रदेशले गर्छन्, त्यहाँ आएका प्रतिभालाई राष्ट्रिय टिममा ल्याउने र अन्तर्राष्ट्रिय एक्स्पोजर दिने काम चाहिं केन्द्रले गर्छ भन्न खोज्नुभएको हो ?

स्थानीयस्तरका प्रतियोगिता छन् भने जिल्ला क्रिकेट संघले हेर्नुपर्छ/गर्नुपर्छ । जिल्ला जिल्लाको प्रतियोगिता छ भने प्रदेश कमिटीले हेर्नुपर्छ । केन्द्रले चाहिं राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्नेगरी संगठनात्मक संरचनामा जानुपर्छ ।

मैले कुन पद लिने भन्दा पनि भोलि असोज ५ र ६ गतेको साधारणसभाबाट बन्ने टिम चाहिं राम्रो र काम गर्न सक्ने मानिसहरूको होस् भन्ने चाहन्छु । किनकि पारस खड्का मात्र आएर नेपाल क्रिकेटमा कुनै जादु हुनेवाला छैन । यसमा हामी सबैको जिम्मेवारी हुन्छ ।

आज कुन बेला केन्द्रले प्रतियोगिता राख्छ र बजेट पठाउँछ भनेर कुरेर बस्नुपर्ने जस्तो छ । अब यसरी हुन्न । हरेक जिल्ला क्रिकेट संघले आफ्नो क्यालेण्डर बनाउनुपर्छ, प्रदेशले बनाउँछ । जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता समेटेर केन्द्रले १२ महिनाको क्यालेण्डर बनाउनुपर्छ । झट्ट सुन्दा कसरी म्यानेज गर्ने भन्ने होला ।

तर हामीले बुझ्नुपर्ने के हो भने सबैले सबै प्रतियोगिता खेल्न जरूरी छैन । राष्ट्रिय टिमका २० देखि ४० जना खेलाडीलाई अन्तर्राष्ट्रिय एक्स्पोजर जरूरी छ, उनीहरू क्लब क्रिकेट खेल्न बाहिर जानुपर्‍यो। उनीहरू बाहेक अरू यो प्रतियोगिताहरूमा सहभागी भएर प्लेयर पुल ठूलो बनाउनुपर्छ ।

हरेक प्रदेशमा एउटा मैदानमा राम्रो पिच बनाएर क्रिकेटलाई प्रदेशस्तरमा बलियो बनाउनुपर्छ । यसमध्ये दुई वा तीन वटा ग्राउण्ड चाहिं अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ ।

यो सबै कार्यान्वयन गर्न चाहिं क्रिकेट संघको कुन पदमा उम्मेदवारी दिने ?

के पदमा उठ्ने भनेर धेरैले प्रश्न गर्नुभएको छ । तर म फेरि भन्छु, जिल्ला र प्रदेशका अध्यक्षज्यूहरूसँग छलफल गर्नुपर्नेछ । क्रिकेट संघका अध्यक्षज्यूले पनि तपाईं क्रिकेट संघमा आउनुपर्छ भनेर एक प्रकारले आश्वासन दिनुभएको छ ।

मेरो विचारमा अध्यक्ष, सचिव वा कोषाध्यक्ष बनेर यो गर्छु भन्दा पनि काम गर्नु छ । यसैले सबै एकठाउँमा बसेर छलफल गरेपछि यो पदमा आएर काम गर्न चाहन्छु भन्ने निर्णय लिन्छु ।

भन्नाले छलफलका लागि खुला हुनुहुन्छ ?

छानिएर आएका प्रतिनिधिहरूले नेतृत्व चुन्ने हो । यहाँ मैले मात्र पोजिसन लिएर हुँदैन । मुख्य त क्रिकेटमा राम्रो गर्ने सोचविचार हो । त्यसले मैले कुन पद लिने भन्दा पनि भोलि असोज ५ र ६ गतेको साधारणसभाबाट बन्ने टिम चाहिं राम्रो र काम गर्न सक्ने मानिसहरूको होस् भन्ने चाहन्छु । किनकि पारस खड्का मात्र आएर नेपाल क्रिकेटमा कुनै जादु हुनेवाला छैन । यसमा हामी सबैको जिम्मेवारी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?