+
+
राष्ट्रिय कृषि गणना २०७८ :

बुढ्यौली लागेपछि कृषि पेशामा

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० भदौ २१ गते १८:४७

२१ भदौ, काठमाडौं । उच्च शिक्षा र रोजगारीको खोजीमा युवा विदेश पलायन हुने लहर चलिरहेको बेला कृषि क्षेत्रमामा पनि युवाहरुको उपस्थिति खस्किन थालेको देखिएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को विवरणअनुसार ५५ वर्ष उमेर कटेपछि कृषिमा लाग्ने परिवार संख्या बढ्दै गएको छ भने त्यो भन्दा तल्ला उमेर समूहका परिवारको कृषिमा सहभागिता घटिरहेको पाइएको छ ।

प्रकाशित नयाँ तथ्यांकअनुसार सक्रिय चार उमेर समूहको कृषिमा सहभागिता ३ प्रतिशत अर्थात ८१ हजार ५६४ परिवारले घट्दा निष्क्रिय उमेर समूहका मानिसहरुको २ समूहको कृषिमा सहभागीता ३ प्रतिशत अर्थात ३३ हजार ३६९ ले बढेको छ ।

२५ वर्ष मुनि, २५ देखि ३४ वर्ष मुनि, ३५ देखि ४४ वर्ष मुनि र ४५ देखि ५४ वर्ष मुनि उमेर समूहका मानिसहरु कृषिबाट बाहिरिरहेको र ५५ देखि ६४ र ६५ वर्ष भन्दा माथिको उमेर समूहका मानिसहरु कृषि क्षेत्रमा बढीरहेको तथ्यांकमा उल्लेख छ ।

२०६८ मा २५ वर्ष मुनि उमेर समूहका एक लाख १९ हजार कृषक परिवार कृषिमा थिए । २०७८ मा यस्तो सहभागीता एक लाख ७ हजारमा झरेको छ ।

२०६८ सालसम्म २५ देखि ३४ वर्ष उमेर समूहका १६.१ प्रतिशत अर्थात ६ लाख १७ हजार ३ सय कृषक परिवार कृषिमा थिए तर २०७८ मा यो संख्या १.२ प्रतिशत घटेर १४.९ प्रतिशत अर्थात ६ लाख १६ हजार ८ सयमा आइपुगेको छ ।

२०६८ को कृषि गणनामा ३५ देखि ४४ वर्ष उमेर समूहका २६.७ प्रतिशत अर्थात १० लाख २२ हजार ५ कृषक परिवार कृषिमा रहेकामा, अहिले यो संख्या एक प्रतिशत घटेर २५.७ प्रतिशत अर्थात १० लाख १२ हजार परिवारमा सीमित भएको छ ।

यस्तै ४५ देखि ५४ वर्ष उमेर समूहका २५.१ प्रतिशत अर्थात् ९ लाख ५९ हजार ७ सय कृषक परिवार २०६८ मा कृषि पेशामा थिए । तर २०७८ मा यो उमेर समूहका २ हजार ८७९ अर्थात ०.३ प्रतिशतले कृषि छोडेका छन् । अब यो उमेर समूहका ९ लाख ५७ हजार अर्थात २४.८ प्रतिशत मानिस कृषिमा रहेको नयाँ तथ्यांकमा उल्लेख छ ।

कृषिमा ५५ वर्ष माथिका ३ प्रतिशत थपिए 

नयाँ तथ्यांकले ५५ वर्ष उमेर कटेपछि कृषिमा लाग्ने निष्क्रिय जनसंख्या ३ प्रतिशतले वृद्धि भएको छ ।

नयाँ विवरणअनुसार २०६८ सालमा ५५ देखि ६४ वर्ष उमेर समूहका १७.७ प्रतिशत कृषक परिवार कृषि पेशामा थिए । २०७८ मा यो संख्या ०.७ प्रतिशतले बढेर १८.३ प्रतिशत पुगेको छ ।

यस्तै ६५ वर्ष माथि उमेर समूहमा कृषि गर्ने संख्या नयाँ गणनामा २.३ प्रतिशतले बढेर १३.७ प्रतिशत पुगेको छ । २०६८ मा यस्तो संख्या ११.४ प्रतिशत मात्रै थियो । समग्रमा ५५ वर्ष भन्दा माथिल्लो उमेर समूहमा २ लाख ९ हजार ७ सय परिवार थपिएका छन् । २०६८ मा यो उमेर समूहका ११ लाख १२ हजार लाख ३ सय परिवार कृषिमा थिए ।

कृषि क्षेत्रमा निष्क्रिय उमेर समूहका संख्या बढ्नु र सक्रिय जनसंख्या घट्नुको अर्थ युवा विदेश गइरहेको बुझिने कृषि अर्थविद् डा. श्रीराम घिमिरे बताउँछन् ।

‘संसारभरकै विकास क्रमको नियम हेर्ने हो भने कृषिमा कम जनसंख्या हुने र त्यसले उत्पादन र उत्पादकत्व चाहिँ नघट्ने हुनुपर्छ,’ घिमिरे भन्छन्, ‘तर हाम्रोमा यस्तो छैन, उत्पादन र उत्पादकत्व पनि घट्ने सक्रिया जनसंख्या पनि घट्नुको अर्थ युवाहरु बाहिर गइरहेको छन् । ’

कृषिबाट बाहिरिएको संख्या जनसंख्या उद्योगमा जानु पर्नेमा उत्पादकत्व र उत्पादन पनि घट्ने र जनसंख्या बाहिर जानु मुलुकका लागि जोखिमपूर्ण छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?