+
+

हङकङ टु नेपाल : यस्तो छ सुन तस्कर समूहको जालो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते २०:४४

२७ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले ब्रेक शुमा कुल ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।

२ साउनमा बरामद ६०.७१६ किलो सुनको अनुसन्धान सकेको सीआईबीले थप ३०२.०६ अर्थात कुल ३६० किलो ७७८ ग्राम सुन ब्रेक शुमा लुकाएर ल्याएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । साथै यो समूहले अरु विद्युतीय उपकरणमा पनि लुकाएर सुन तस्करी गरेको देखिएकाले पुरक अनुसन्धान गर्ने सीआईबी प्रमुख किरण बज्राचार्यले बताइन् ।

सीआईबीको अनुसन्धानबाट खुले अनुसार तस्करी भएको सुनको उद्गम स्थल हङकङ हो । त्यहाँ विस्तृत पहिचान भएका चिनियाँ नागरिक ली र लीनले नेतृत्व गरेको ५ जनाको समूह छ । उनीहरुले विद्युतीय उपकरणमा लुकाएर सुन नेपालमा पठाउँथे ।

क्यारी अन ग्लोबल लजिस्टिक कम्पनीमार्फत एयर कार्गो गरेर पठाएको सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्थ्यो । अनुसन्धानमा संलग्न एसपी सञ्जयसिंह थापाका अनुसार आइपुग्ने सुन रिसिभ गर्ने, गालेर गोदामसम्म पु¥याउने कामको नेतृत्व तिब्बती मुलका भारतीय नागरिक थुप्तेन छिरिङले गर्छन् ।

सुन लुकाएर ल्याउने सामानहरु आयात गर्न थुप्तेनले हर्कराज राईमार्फत नेपाली नागरिकको नाममा ७ वटा कम्पनी खोलेका थिए । ६० किलो सुन आयात गर्ने ब्रेक शु ल्याउने रेडी ट्रेड दिलिप भुलेजको नाममा खोलिएको थियो ।

कुमार भुजेलको नाममा हवाडा इलेक्ट्रोनिक सप्लायर्स, रामकुमार भुजेलको नाममा भुजेल इन्टरप्राइजेज र पवटी इलेक्ट्रोनिक्स, सन्तोष तामाङको नाममा सरिता सप्लायर्स, लेकनाथ कार्कीको नाममा छुन्डुक इलेक्ट्रोनिक्स, बिकुन्द्र भुजेलको नाममा दोलखा इलेक्ट्रोनिक्स खोलिएको थियो ।

सुरुमा ट्रायलका रुपमा थोरै समान मगाउने र त्यसपछि त्यस्ता सामग्रीमा लुकाएर सुन तस्करी गर्ने गरेको एसपी थापाको विश्लेषण छ । हङकङबाट सुन पठाएको खबर ली र लीनले थुप्पेनलाई दिन्थे, उनले हर्कराज राईले सहयोगमा भन्सार भन्सार जाँचपास पुरा गर्थे ।

त्यसपछि सुरु हुन्छ, पाटपुर्जामा लुकाएर ल्याएको सुन गाल्ने र विस्कुटको आकार दिने काम । यसका लागि टोखा र लाजिम्पाटमा दुईवटा गोदाम थियो । टोखा गोदामको समूहको नेतृत्व एलेक्स पनि भनिने याओ पुचिङ र लाजिम्पाटको समूहको नेतृत्व सोङ चिङचुङआङले गरेका थिए ।

दुबै समूहले थुप्तेनमार्फत आएको सामान रिसिभ गर्ने, त्यसमा लुकाएर ल्याएको सुन पगालेर बिस्कुटको आकार दिने र वितरण गर्ने काम गर्थे । यसका लागि टोखाको समूहले तीन वटा गाडी भाडामा लिएर प्रयोग गर्ने गरेको पाइएको छ । लाजिम्पाटको समूहले भने भाडाको ट्याक्सी र स्कुटर प्रयोग गर्ने गरेको थियो ।

यो सबै कामको अनुगमन तथा रेखदेखको जिम्मेवारी भने वाङ दावा जिङ र तोङ चिन हुवाको ५ जनाको समूहको थियो । तर तस्करी गरेर ल्याएको सुन कसलाई बेच्ने भन्ने हङकङबाटै तय हुन्थ्यो ।

अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरुले सुन किन्नेलाई कोडका रुपमा नेपाली वा भारतीय नोटको नम्बर वा कोड दिन्थे । त्यही कोड टोखा वा लाजिम्पाटको समूहलाई पनि दिइएको हुन्थ्यो । त्यो कोड लिएर कोही आयो भने भेरिफाइ गर्ने र सुन दिने गरेको पाइएको छ ।

प्रत्यक्ष रुपमा जोडिनुभन्दा बाहिरको मान्छेले यसलाई नियन्त्रण गरेको भन्दै एसपी थापा भन्छन्, ‘लेयर कटअफ् गरेर एकले अर्कालाई नचिन्ने तरिकाले गरेको देखिन्छ ।’

सुनको पैसा भने थोरै सुन दिनेलाई दिएको देखिन्छ । ठूलो हिस्सा भने डिजिटल वालेट र क्रिप्टो करेन्सीको माध्यमबाट हङकङमा रहेको समूहमा पुग्ने परेको पाइएको सीआईबीले जनाएको छ ।

सीआईबीले अनुसन्धान सकेको ब्रेक शुमा लुकाएर ल्याएको सुन थुप्तेनले रिसिभ गरेपछि टोखाको समूहले रिसिभ गरेर गाल्ने र वितरण गर्ने जिम्मा लिएको थियो । यो समूहले गालेर बिस्कुट आकार दिएको सुन बजारसम्म पु¥याउन सुमन खरेललाई प्रयोग गरे ।

सुमनले बाराका सुनचाँदी व्यवसायी शिवकुमार सर्राफसम्म पुर्‍याएका थिए । सुन किन्ने भारतीय व्यवसायी पनि छन्, तर फरार भएकाले प्रहरीले नाम खुलाएको छैन ।

सुनको पैसा लिने जिम्मा भने दावा छिरिङले लिएको पाइएको थापा बताउँछन् । नक्कली कागजात प्रयोग गरेर नेपालको नागरिकता र पासपोर्ट समेत लिएका बेल्जियमका नागरिक दावाले ठमेलमा होटल भियाना समेत चलाएका छन् ।

‘सुनको तस्करीको वातावरण बनाउने र पेमेन्ट लिने काममा उनको संलग्नता देखिन्छ’ एसपी थापा भन्छन्, ‘उनको खातामा पनि पैसा जम्मा भएको र त्यो रकम ट्रान्सफर भएको देखिन्छ ।’

ब्रेक शुमा लुकाएर नियमित तस्करी गर्ने क्रममा २ साउनमा भन्सार जाँचपास भइसकेको अवस्थामा राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । सीआईबीका अनुसार थुप्तेनले हर्कराजमार्फत भन्सारका पूर्व एजेन्ट राजेन्द्र राईलाई प्रयोग गरेका थिए ।

उनले भन्सार एजेन्ट यादव पराजुलीमार्फत त्यो ब्रेक शु पास गरेका थिए ।

सीआईबीले रेडी ट्रेडमार्फत तस्करी भएको सुनमा ५० जनालाई प्रतिवादी बनाएको छ र ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ ।

थुप्तेनले दर्ता गराएका सातमध्ये एउटा कम्पनीबाट समान आयात भएर भन्सारबाट पास भएको थिएन । अरु कम्पनीले भने विद्युतीय उपरकणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको छ । त्यस्ता सामानमा सुन ल्याएको सीआईबीको आशंका छ ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले भनिन्, ‘अहिले ब्रेक प्याडको मात्र अनुसन्धान गरेका छौं, अरु सुनको अनुसन्धान गर्न बाँकी छ । यसमा पुरक अनुसन्धान हुनेछ ।’

सुन प्रकरणमा थप समाचार

६० किलो सुन प्रकरण : हुण्डीको शैलीमा हुन्थ्यो सुनको डेलिभरी

दावा छिरिङ सुन तस्करका नेपाली व्यवस्थापक

भेप प्रकरणका दाओजिन ६० किलो सुन तस्करी प्रकरणमा पनि प्रतिवादी

सुन तस्करीका लागि खोलिएका थिए ७ कम्पनी, सीआईबीले पूरक अनुसन्धान गर्ने

ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी भएको सीआईबीको निष्कर्ष

६० किलो सुन प्रकरणमा अमला रोकासहित ५० प्रतिवादी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?