+
+

ऊर्जामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन निजी क्षेत्रले थाल्यो पहल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १८:१८

२७ भदौ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्राउन पहल थालेको छ ।

बुधबार डच बैंक एफएमओका प्रतिनिधिहरुसँग काठमाडौंमा भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खरबौं डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन एफएमओसँग आग्रह गरेका छन् ।

इप्पान अध्यक्ष गणेश कार्कीले वित्तीय व्यवस्थापन गर्न नसकेका कारण २ हजार ६०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाको सरकारले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) नै खारेज गरेको स्मरण गराउँदै नेपालको ऊर्जा क्षेत्रमा अथाह लगानीको अवसर भएको बताए ।

‘सरकारले हालै १२ वर्षमा ३५ हजार मेगावाट विद्युत् उत्पादनको रणनीति लिएको छ । नेपाली बैंकहरुले यी सबै आयोजनाको वित्तीय व्यवस्थापन गर्न सक्दैनन्,’ कार्कीले भने, ‘किनभने अहिले नै २ हजार ६०० मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापन नभएका कारण सरकारले पीपीए खारेज गरेको अवस्था छ ।’

एफएमओका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल जोंजेनीलले नेपालमा जलविद्युत् प्रवर्द्धकले वातावरण, समाज र सरकार (ईएसजी)लाई केन्द्रमा राखेर काम गरेमा नेपालको ऊर्जा क्षेत्रमा एमएफओले ठूलो लगानी भित्र्याउन चाहेको बताए ।

२०१९ देखि इप्पानसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै उनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफसी)का मापदण्ड र  ईएसजीलाई केन्द्रमा राखेर काम गर्न इप्पानले ठूलो भूमिका खेल्न सक्ने पनि विश्वास व्यक्त गरे ।

इप्पानका उपाध्यक्ष आशिष गर्गले नेपालको जलविद्युत् उत्पादन र उपयोगको तथ्यांक प्रस्तुत गर्दै आयोजना विकासको विभिन्न चरणमा रहेका ५३ हजार ४३१ मेगावाट क्षमताका १ हजार २२४ आयोजनामा १ खर्ब १३ अर्ब डलर लगानी आवश्यक हुने बताए ।

उनले निर्माण भइसकेका करीब २ हजार ९०० मेगावाट क्षमताका १९१ आयोजनामा ५ अर्ब र निर्माणाधिन ७ हजार १०७ मेगावाट क्षमताका १२९ आयोजना (४ हजार २१५ मेगावाट क्षमताका ६ आयोजना विदेश निर्यात हुने) मा ११ अर्ब डलर लगानी भएको बाहेक अझै ९५ अर्ब डलर लगानी थप आवश्यक पर्ने तथ्यांक प्रस्तुत गरे ।

पीपीए गरेर निर्माणको पर्खाइमा रहेका १२९ आयोजनालाई ५ अर्ब र अध्ययन सकेर पीपीएको पर्खाइमा रहेका ९ हजार ४०० मेगावाट क्षमताका १८५ आयोजनालाई २० अर्ब डलर लगानी तत्कालै आवश्यक भएको पनि उनको भनाइ छ ।

त्यस्तै सरकारले ऊर्जा दशक घोषणा गरेर थप ३० हजार मेगावाट विद्युत् उत्पादनको रणनीति बनाइरहेकाले त्यसका लागि थप ६० अर्ब डलर लगानी आवश्यक पर्ने पनि गर्गले बताए ।

इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले नेपालको बैंक मार्फत वा सोझै विद्युत् आयोजनामा सस्तो ब्याजदरको दीर्घकालिन ऋण लगानी गर्न एफएमओलाई आग्रह गरे ।

एफएमओले एक्लै वा अन्य अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासँग मिलेर संयुक्त रुपमा भएपनि नेपालको ऊर्जा क्षेत्रमा लगानीको नेतृत्व लिन लामाले आग्रह गरे ।

एफएमओले नेपालमा एनएमबी बैंकमार्फत ५० मिलियन डलर (साढे ६ अर्ब रुपैयाँ भन्दा बढी) ऋण जलविद्युतमा लगानी गरेको छ । त्यस्तै ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजनामा जर्मन विकास बैंक र ओपेक फण्ड सहितका संस्थाबाट भएको ८ अर्ब ऋणको नेतृत्व एफएमओले नै गरेको छ भने २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा २ अर्ब रुपैयाँ सिधै ऋण लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?