+
+

डाक्टरहरुले देशभर बन्द गरे ओपीडी, अत्यावश्यक उपचार सेवाबाट बिरामी वञ्चित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते ८:५४

३१ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको हो ।

उक्त घटनामा संलग्न दोषीहरूलाई छानबिन गरी कारबाही गर्न र देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गर्न संघले माग गरेको छ ।

संघले डाक्टरहरुलाई कुटपिट गर्नेहरुलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन माग गरेको थियो । तर सो समयअवधिसम्म पनि कारबाही नगरिएको भन्दै संघले आज सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

गत साउन २२ गते डेंगुको लक्षण लिएर हेटौंडाको सन्चो अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई डाक्टरहरुले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । डाक्टरहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई भदौ २९ गते तीन दिनको म्याद दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?