+
+

मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते ९:५४

१ असोज, जनकपुरधाम । तराई मधेशमा क्षेत्रमा आज चौठचन्द्र (चौरचन) पर्व नाइँदै छ।  छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने चौठचन्द्र पर्व व्रतालु दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ ।

भदौ शुक्ल चतुर्थीको दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ।

 व्रतालु साँझको समयमा भगवान गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल प्रसादको रुपमा अर्पण गर्ने गरिन्छ ।

आज सूर्यास्तपछि गाईको गोबरले लिपेर आँगनमा चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गर्ने परम्परा चौठचन्द्र पर्वमा रहेको छ ।

 माटोको नयाँ भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी-देवतालाई चढाइन्छ ।

आजको दिन लोकपर्व चौठचन्द मनाउने क्रममा गणेश र चन्द्रमाको कथा सुन्ने समेत परम्परा रही आएको छ ।

यस पर्वको प्रारम्भ तत्कालिन नरेश हेमांगद ठाकुरले गरेका थिए।

उनी नरेशका अतिरिक्त प्रख्यात ज्योतिषी समेत थिए । चौठचन्द्र गर्नाले विशिष्ट फल प्राप्त हुने धार्मिक विश्वास रहेकाले मिथिलाञ्चलसहित मधेशमा घर–घरमा यो पर्व मनाउन थालियो ।

चौठचन्द्र पर्व जनकपुरधामसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत भारतका केही राज्यहरुमा समेत मनाईन्छ । हिन्दु धर्मावलम्बी समुदायका व्यक्तिहरुले यस पर्वलाई विशेष महत्वको साथ मनाउने गर्दछन्।

पर्व समापनपछि चढाइएको प्रसाद ग्रहण गर्ने र इष्टमित्रलाई वितरण गर्ने समेत परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?