+
+

गणेशमानले देखाएको बाटो हिँडे जनता सुखी र देश समृद्ध हुन्छ : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते ९:५०

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहले देखाएको सुशासनको बाटोमा हिँडे जनता सुखी र देश समृद्ध हुने बताएका छन् । गणेशमान सिंहको २६ औं स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले गणेशमानका आदर्शलाई पछ्याउन जरुरी रहेको बताएका हुन् ।

गणेशमानको नेतृत्वदायी संघर्षले १७ सालमा गुमेको प्रजातन्त्र फर्काएको र कम्युनिष्टहरुसँग कार्यगत एकता गरी २०४६ सालको जनआन्दोलन सफल पारेको स्मरण गर्दै नेता सिंहले अहिले पनि सबै राजनीतिक दलहरुबीच एकता र सहकार्य आवश्यक रहेको बताए ।

हालसम्म प्राप्त राजनीतिक उपलब्धि उल्टाउने षडयन्त्र भइरहेको भन्दै उनले कठोर संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । संघीयता र गणतन्त्र सहितको अहिलेको संविधान असफल बनाउने चलखेल भएपछि कांग्रेस र माओवादी केन्द्र लगायत दलहरुको गठबन्धन बनाउनुपरेको उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारको अवधिबारे पत्रकारले राखेको जिज्ञासामा नेता सिंहले गठबन्धन बनाउने क्रममा जे सहमति÷सम्झौता भएको थियो, त्यही अनुसार हुनुपर्ने बताए । ‘कांग्रेसको आधिकारिक धारणा यही हो,’ उनले भने, ‘लाखौं कार्यकर्ता भएको कांग्रेसमा बाहिर–बाहिर कसले के भन्छ त्यसको अर्थ छैन ।’

गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिका लागि गरेको संघर्ष, त्याग, बलिदान, आदर्श समाज निर्माणका लागि लोकतान्त्रिक प्रणालीलाई मूल्य मान्यता, विधि र नियमअनुसार चलाउन गरेको संघर्ष अनुकरणीय भएको नेता प्रकाशमानले बताए ।

‘रैतीसरह रहेका नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन, सार्वभौमसत्ता सम्पन्न तुल्याउनका लागि उहाँले अनवरतरुपमा राणा शासन विरुद्ध संघर्ष गर्नुभयो, प्रजातन्त्रको विजारोपण गरेर हुर्काउने र १७ सालमा गुमेको प्रजातन्त्र फर्काउने काम गर्नुभयो,’ आफ्ना पिता गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने, ‘लोकतान्त्रिक प्रणालीलाई मूल्य मान्यता, विधि र नियमअनुसार चल्नुपर्छ भनेर बढी जोड दिनु भएको थियो ।’

२०४६ सालको जनआन्दोलन सफल भएपछि राजा वीरेन्द्रले दरबारमा बोलाएर प्रधानमन्त्री बन्न प्रस्ताव राख्दा गणेशमान सिंहले आफू प्रधानमन्त्री नबनेर कृष्णप्रसाद भट्टराईलाई अघि सारेको बताउँदै उनले भने, ‘त्यतिबेलै गणेशमान सिंहले राजाले चाहेको व्यक्ति होइन, जनताले चाहेको व्यक्ति प्रधानमन्त्री हुन्छ भन्ने सन्देश दिनुभयो ।’

खासगरी जनतालाई केन्द्रविन्दुमा राखेर जनताको हितमा र राष्ट्रको हितमा काम गर्नुपर्छ भन्ने मान्यता राख्ने गणेशमानले देशमा विधिको शासन हुनुपर्छ भन्नेमा जोड दिएको र त्यो अहिले पनि उत्तिकै सान्दर्भिक भएको नेता प्रकाशमान सिंहको भनाइ छ । ‘अहिले जुन परिवर्तन आएको छ त्यो सबैको प्रयासबाट आएकाले दूरदराजमा गाउँमा बसेका, अवसर नपाएका जाती र वर्गहरुलाई सम्बोधन हुने गरी अघि बढ्नुपर्छ भन्ने कुरामा उहाँले बढी जोड दिनु भएको थियो,’ प्रकाशमानले भने । त्यसका लागि तिनै तहका सरकारलाई दिनुपर्ने अधिकारहरु दिएर पूर्ण रुपमा काम गर्ने सहज वातावरण बनाउनुपर्ने प्रकाशमानले बताए ।

२०४६ सालको क्रान्ति सफल भएपछि शहीद मञ्चबाट सभालाई सम्बोधन गर्ने क्रममा गणेशमानले राजनीतिक क्रान्ति सफल भएकाले अब आर्थिक क्रान्ति जरुरी छ भनेर भनेको र त्यो भनाइ अहिले पनि सान्दर्भिक भएको प्रकाशमानले बताए । तर, आफूले दिएका सल्लाहलाई पार्टी र सरकारले ग्रहण नगरेपछि प्रजातन्त्रका लागि सम्झौता गर्दिनँ भनेर गणेशमान कांग्रेस पार्टीबाट अलग भएको स्मरण पनि प्रकाशमानले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?