+
+

राष्ट्रिय बास्केटबल लिगको विजेताले ५ लाख पुरस्कार पाउने

टाइम्स र कीर्तिपुरबीच उद्‍घाटन खेल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १८:२५

२ असोज, काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय बास्केटबल लिग (एनबीएल) नेपालको तयारी अन्तिम चरणमा पुगेको नेपाल बास्केटबल संघ (नेबा) ले जनाएको छ ।

नेबाले डिजी फ्लाईसँगको सहकार्यमा आयोजना गर्न लागेको लिग  असोज १२ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ ।

आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै लिगको तयारी, सहभागी टिमको तयारीको बारेमा जानकारी गराउँदै खेलतालिका समेत सार्वजनिक गरेको छ ।

संघले नेपालकै शीर्ष स्तरको बास्केटबल लिग हुने दाबी गरेको राष्ट्रिय बास्केटबल लिगमा विशाल मिलन केन्द्र, बूढानीलकण्ठ बास्केटबल क्लब, गोल्डनगेट इन्टरनेसनल कलेज, हाउन्ड्स एकेडेमी, रोयल स्पोर्टस सेन्ट्रल, टाइम्स इन्टरनेसनल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा सहभागी टोलीले दुई विदेशी खेलाडी समावेश गर्न पाउनेछन् । लिग सिंगल राउण्ड रोविनको आधारमा हुनेछ ।

हरेक टिमले एकआपसमा खेलेपछि अंकतालिकामा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । लिगमा २८ खेल हुनेछन् ।

नेबाका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले बास्केटबलको विकासका लागि यो सुरुवात भएको बताएका छन् ।

‘नेपालको बास्केटबल विकासको लागि यो लिग कोशेढुंगा बन्नेछ । त्यसैका लागि हामीले तयारी गरिरहेका छौं, यो सुरुवात मात्र हो’, पत्रकार सम्मेलनमा गुरुङले भने, ‘यसबाट हामी राम्रो खेलाडी छनोट गरेर राष्ट्रिय टिम बनाउनेछौँ । यस्तै थ्री बाई थ्री टिमको लागि पनि खेलाडी छान्नेछौं ।’

संघले वार्षिक क्यालेन्डर बनाएर महिला बास्केटबल र उमेर समूहको बास्केटबल प्रतियोगिता पनि गर्ने योजना बनाएको उनले बताए ।

राष्ट्रिय बास्केटबल लिगका लागि धेरै क्लबले निवेदन दिए पनि टेक्निकल कमिटीको सिफारिस अनुसार शीर्ष स्तरको लिग खेल्न सक्ने ८ क्लब पहिलो संस्करणका लागि छनोट गरेको र आगामी वर्ष क्लबको संख्या बढ्न सक्ने गुरुङले जानकारी दिए ।

लिगको इभेन्ट होस्टको जिम्मेवारि लिएको डिजीफ्लाईका सीईओ उकेश लोहनीले नेपालमा बास्केटबलको नयाँ कल्चर भित्र्याउने बताए ।

‘हामीले नेपाली बास्केटबलमा यस लिगमार्फत नयाँ कल्चरको सुरुवात गर्न लागेका छौं । लिगमा मनोरञ्जन देखि व्यावस्थनसम्म ध्यान दिएका छौं । हाफ टाइम सो गर्ने, फुड स्टल राख्ने, लाइट्स डिजेहरु राख्ने छौं’, लोहनीले भने ।

विजेतालाई ५ लाख

राष्ट्रिय बास्केटबल लिगको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ३ हजार, प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी एमभीपीले ५० हजार पाउने संघले जनाएको छ ।

यसैगरी प्रत्येक सहभागी क्लबलाई तयारी खर्चको रूपमा ५० हजार रुपैयाँ प्रदान गरिने गुरुङले बताए ।

प्रतियोगिताको उद्‍घाटन खेलमा टाइम्स र कीर्तिपुर भिड्नेछन् । पहिलो दिन एक खेल मात्रै हुनेछ भने त्यसपछि हरेक दिन दुई खेल हुनेछ ।

साउथ एसियन बास्केटबल एसोसिएसन (साबा) ले भविष्यमा साबा क्लब च्याम्पियनसिप आयोजना गर्ने तयारी गरेकोले राष्ट्रिय बास्केटबल लिग नेपालको विजेताले साबा क्लब च्याम्पियनसिप खेल्ने अवसर समेत पाउनेछन् ।

‘साबाले क्लब च्याम्पियनसिप गर्ने तयारी गरिरहेको छ । फिबाको अनुसार हरेक देशले क्लब च्याम्पियनसिप गर्नुपर्छ । त्यसका लागि साबाका सबै देशले लिग आयोजना गर्नैपर्छ,’ संघका महासचिव नरेन्द्र थापाले भने, ‘त्यसले गर्दा पनि हामीले यो लिगलाई निरन्तरता दिनैपर्छ । यस लिगको विजेताले नै साबा क्लब च्याम्पियनसिप खेल्न पाउनेछ ।’

खेलाडीहरु उत्साहित

पहिलो पटक नेबाले राष्ट्रिय बास्केटबल लिग नेपाल आयोजना गर्न लागेकोमा खेलाडीहरु उत्साहित छन् ।

मंगलबार पत्रकार सम्मेलनमा उपस्थित रहेका खेलाडी र व्यवस्थापकहरुले लिगका लागि आफ्नो टिमले तयारी गरिरहेको र खेल्नका लागि उत्साहित रहेको बताए ।

बूढानीलकण्ठका टिमका व्यवस्थाक प्रविन भण्डारीले राष्ट्रिय बास्केटबल लिग राम्रो प्लेटफर्म रहेको र अपेक्षा गरेअनुसारकै होस् भन्ने चाहेको बताए ।

‘तयारी राम्रो गरिरहेका छौं । यस लिगले खेलाडीहरुका लागि राम्रो अवसर दिने विश्वसा छ । हामीले अपेक्षा गरे अनुसारकै लिग होस्’, उनले भने, ‘पहिलो पटक भएकोले आर्थिक रुपमा केही गाह्रो छ । अब यो लिग भएपछि प्रत्यक्ष प्रशारण भएपछि अर्को वर्ष राम्रो गर्न सकिन्छ ।’

टाइम्स कलेजका व्यवस्थापक साम तेन्जिन साम्डुपले नेपालमा पनि व्यावसायिक लिग हुने खबरले निकै उत्साहित भएको बताए । ‘यो राम्रो प्लेटफर्म हो । क्लबलाई कसरी प्रोफेसनल बनाउने भनेर लागिरहेका छौं’, उनले भने ।

त्रिभुवन आर्मी क्लबका व्यवसथ्पक पम राज कार्कीले आर्मीले १२ महिनै प्रशिक्षण गर्ने भएकोले उपाधि जित्ने टार्गेट बनाएको बताए ।

आर्मीमा राष्ट्रिय टिमका ५ खेलाडी रहेकोले पनि टिम बलियो रहेको उनले बताए ।यस लिगले खेलाडीलाई सहयोग गर्ने उनको विश्वास छ ।

यसैगरी रोयलका कप्तान विकास गुरुङले लिग घोषणा भएदेखि नै प्रशिक्षण गरिरहेको र ३ महिनादेखि तयारी भएको बताए ।

हाउण्ड्स एकेडेमीका खेम वाइबाले २ महिनादेखि प्रशिक्षण गरिरहेको र टिम तयारी अवस्थामा रहेको बताए ।

कीर्तिपुर क्लबका म्यानेजर रोहित महर्जनले तीन महिनादेखि तयारी गरिरहेको बताए ।

कीर्तिपुरले लिगका लागि माइलस्टोन कलेजसँग सहकार्य गरेको र प्रभु बैंकसँग बैंकिङ पार्टनरको रुपमा सहकार्य गरेको जानकारी उनले दिए ।

गोल्डेनगेटका खेलाडी उनेस महर्जनले आफ्नो टिम इतिहास बोकेको टिम रहेकोले यो टिम राम्रो रहेको बताए ।

कलेजले नै सबै आर्थिक पक्ष व्यवस्थापन गर्ने भएकोले पनि सहज हुने उनले बताए । लिगका लागि उत्साहित रहेको भन्दै उनले ३ महिनादेखि तयारी गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?