+
+

कांग्रेसको इतर पक्षमा शेखर गगनको सम्बन्धमाथि चासो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १९:५६

२ असोज, काठमाडौं । ४ असोजमा बोलाइएको केन्द्रीय समिति बैठकअघि कांग्रेसको संस्थापन इतर पक्षले राखेको छलफलमा नेताहरुले डा.शेखर कोइराला र महामन्त्री गगन थापाको सम्बन्धका विषयमा चासो राखेका छन् ।

शेखर–गगन समूहका पदाधिकारी र केन्द्रीय सदस्य सहभागी बैठकमा धेरै नेताको प्रश्न समूहभित्रको एकतालाई लिएर थियो । केन्द्रीय सदस्यहरुले शेखर–गगनबीचमा छलफल गरी एकवद्ध हुन सुझाव दिएका थिए ।

‘हामीबीचमा अविश्वास रहेर त कसरी हुन्छ र ? हामीले आफ्नो कुरा राख्यौं । (शेखर र गगनले) मिलेर जाने भन्नुभएको छ । हामीले त राय दिने न हो’, एक केन्द्रीय सदस्यले भने ।

शेखरले मंगलबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाएका थिए । तर उनीहरु सहभागी भएनन् । केन्द्रीय सदस्यहरुले शर्मा र पौडेल किन नआएको भनी शेखरलाई सोधेका थिए ।

शेखरले शर्माले आउने वचन दिएको र पौडेलले चीन जान परेकाले आउन नसकेको जवाफ दिएको बताएका थिए । एक केन्द्रीय सदस्यका अनुसार महामन्त्री गगन थापाले दुई महामन्त्री र शेखरको छुट्टै छलफल गरेर अर्को बैठकमा शर्मा आउने वातावरण बनाउने आशय बैठकमा सुनाएका थिए ।

केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले विधान विपरीत पार्टीमा भएका निर्णयका बारेमा केन्द्रीय समितिमा कुरा उठाउने बताए । कोशीमा संविधान विपरीत सरकार बनाउँदा मुख्यमन्त्री गुमाउनुपरेको, पार्टीभित्र इतर पक्षका कार्यकर्तालाई मनपरी ढंगले अनुशासनको कारबाही गरिएको, भ्रातृ संस्थामा आफूखुसी मनोनयन र नियुक्ति गरिएको विषय पनि केन्द्रीय सदस्यहरुले उठाएका थिए ।

भ्रातृ संस्थाको क्षेत्रीय समिति र प्रदेश समितिमा पराजितलाई केन्द्रीय समितिमा मनोनित गरिएको भन्दै बैठकमा त्यसको जवाफ सभापतिसँग खोज्नुपर्ने विषय पनि उठेको एक नेताले बताए ।

बैठकमा सरकारको काम प्रभावकारी नभएको विषय पनि उठेको नेता सञ्जय गौतमले बताए । ‘सरकार प्रभावकारी भएन भन्ने नै हाम्रो कन्सर्न रह्यो’, उनले भने । त्यस्तै महासमितिका बैठकका एजेण्डामा पनि छलफल गरेको गौतमले बताए ।

केन्द्रीय समितिबाट पारित भएको वार्षिक कार्यतालिका कार्यान्वयनमा संस्थापन पक्ष बाधक बन्ने आशंका पनि नेताहरुले गरेका थिए । कार्यतालिकालाई अवरुद्ध हुन दिन नहुने विषय बैठकमा उठेको केन्द्रीय सदस्य बडुले बताए ।

‘महासमिति बैठकलाई व्यवस्थित गर्नका लागि के–कस्तो तयारी गर्नुपर्छ भन्ने कुरा भयो । उपसभापति र महामन्त्रीले गर्नुपर्ने तयारीका लागि सुझाव दियौँ । समयमा हाम्रो १५ औँ महाधिवेशन शुरु गर्नुपर्ने हुन्छ । त्यसका निमित्त पनि हामीले आवश्यक तयारी र क्रियाशील सदस्यताको वितरणको कुरा र त्यसको अध्यावधिक रेकर्डहरु के छ त्यसलाई हेर्नुपर्छ’ उनले भने, ‘पछिल्लो कार्यसमितिबाट पारित गरिसकेको कार्ययोजना र कार्यतालिका त्यसको समीक्षा हुनुपर्‍यो । कति कार्यान्वयन भयो कति भएन । के कमी रह्यो ? र त्यसलाई कसरी सुधारेर जाने भन्ने नै मुख्य विषय त्यो नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?