+
+

नेपाली टोली चीन हिंडेपछि यूएन महासभामा ग्लोबल साउथ इभेन्ट गर्दै भारत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते १९:४२
महासभामा प्रचण्ड ।

५ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकर नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार अमेरिकाको न्यूयोर्क पुगेको छ ।

महासभामा सदस्य राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख र मन्त्रिस्तरीय तहमा सहभागिता हुने उच्चस्तरीय छलफलको चौथो दिन भारतीय प्रतिनिधिमण्डल न्यूयाेर्क पुगेको हो ।

शुक्रबारदेखि नौ दिन लामो अमेरिका भ्रमण तय गरेका भारतीय विदेशमन्त्री जयशंकरले यूएनको महासभाकै क्रममा एउटा विशेष इभेन्टको समेत आयोजना गर्दै छन् । ‘इन्डिया–यूएन फर ग्लोबल साउथ : डेलिभरिङ फर डेभलपमेन्ट’ शीषर्कमा आयोजना हुने उक्त विशेष इभेन्टमा विश्वमा भारतको भूमिकालाई लिएर छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

यसअघि यूएन महासभाकै क्रममा नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठक आयोजना गर्ने तयारी गरेको थियो ।

तर भारतीय प्रतिनिधिमण्डलको उपस्थिति नहुने भएपछि महासभाको साइडलानइमा हुने सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक अन्तिम समयमा स्थगित भएको थियो ।

महासभाको उच्चस्तरीय छलफलमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा निस्केकै दिन भारतीय प्रतिनिधिमण्डल न्यूर्योक पुगेको छ ।

सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठकमा सहभागी हुन नसक्ने जनाएको भारतले ‘इन्डिया–यूएन फर ग्लोबल साउथ : डेलिभरिङ फर डेभलपमेन्ट’ शीर्षकमा छुट्टै इभेन्ट आयोजना पनि गरेको छ ।

भारत र पाकिस्तान बीचको तनावका कारण पछिल्लो समय क्षेत्रीय सहयोग संगठन सार्क निष्क्रिय बन्दै गएको छ ।

यस्तै विशेष अवसरमा परराष्ट्रमन्त्री स्तरीय छलफलहरू हुने भए पनि यसपटक यो पनि टरेको छ ।

अमेरिका भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकर २६ सेप्टेम्बरसम्म यूएन महासभामा व्यस्त रहनेछन् । त्यसपछि २७ देखि ३० सेप्टेम्बरसम्म उनी वासिङटन डीसी जाने कार्यसूची छ ।

वासिङटन् डीसीमा रहँदा जयशंकरले अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेन, अमेरिकी प्रशासनका वरिष्ठ अधिकारी, बुद्धिजीवी र व्यापारिक समूहसँग भेटघाट गर्नेछन् ।

साथै भारतीय दूतावासले आयोजना गर्ने विभिन्न कला संस्कृति सम्बन्धी कार्यक्रममा पनि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?