+
+

‘एक राजनीतिक पुनरागमन’ कथ्यसहित ‘नांगो गाउँ’को सिक्वेल बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १२:०६
'नाङ्गो गाउँ २' निर्माणको सम्झौता पत्र आदानप्रदान गर्दै निर्देशक दीपेन्द्र लामा र निर्माता हिमाल कडरिया

काठमाडौं । फिल्म ‘नाङ्गो गाउँ’को सिक्वेल बन्ने भएको छ । निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबीच आइतबार ‘नाङ्गो गाउँ २’ निर्माणका लागि सहमति भएको हो । ‘अ पोलिटिकल कमब्याक’ अर्थात् ‘एक राजनीतिक पुनरागमन’ ट्याग लाइनसहित बन्ने सिक्वेलमा दयाहाङ राईले निर्वाह गरेको पात्र पासाङ केही समयपछि गाउँ फर्किने कथा रहनेछ ।

‘धेरै दर्शकले नायकको हार र पलायनमा दुःख व्यक्त गरेको पायौं, उहाँहरुले दोस्रो भाग चाहियो पनि भन्नुभएको छ,’ निर्माता कडरियाले भने, ‘हामीले पहिलो भागको छायांकनको दौरानमै दोस्रो भागको परिकल्पना गरेका थियौं । अहिले सबैतिरबाट दोस्रो भागको माग आएकाले हामी दोस्रो भागको योजनालाई अगाडि बढाउने निर्णयमा पुगेका हौं ।’

लेखकसमेत रहेका निर्देशक लामाले दोस्रो भागको कथा पहिल्यै लेखिसकेका छन् । उनी भन्छन्, ‘अहिले चलचित्रको कथा जहाँ टुंगिन्छ, त्यो वास्तवमा मध्यान्तर थियो । पटकथामा परिणत गर्दै जाँदा कथा लामो हुनपुग्यो र हामीले दुई भागमै बनाउने सोच्यौं ।’

दोस्रो भागको कथामा के हुन्छ त ? भन्ने प्रश्नमा निर्देशक लामाले भने, ‘गाउँमा जरीको आतंकबाट गाउँलेहरु वाक्क हुन्छन् । र, जरीबाट पीडित गाउँलेहरु काठमाडौं गएर पासाङलाई गाउँ फर्काउँछन् । पासाङ गाउँ फर्केर जरीका खराब गतिविधिलाई रोक्ने संघर्षमा होमिन्छ ।’

निर्माता कडरियाका अनुसार ‘नाङ्गो गाउँ २’को छायांकन तत्काल होइन एक वर्षपछि मात्र हुनेछ । त्यसअघि उनले निर्देशक लामालाई नै लिएर अर्को कमेडी चलचित्र निर्माण गर्ने भएका छन् । ‘चलचित्र ‘नाङ्गो गाउँ’बाट म सन्तुष्ट छु, त्यहीभएर मैले दीपेन्द्रजीसँगको सहकार्यलाई निरन्तरता दिन लागेको हुँ,’ निर्माता कडरियाले भने ।

तिहारपछि छायांकनमा जाने नाम जुराउन बाँकी उक्त कमेडी फिल्ममा लामाकै लेखन रहनेछ । यसमा ‘नाङ्गो गाउँ’कै टिम दोहोरिने सम्भावना छ । कलाकार र प्राविधिक टिमको बारेमा केही दिनपछि जानकारी दिने निर्माण टोलीको तयारी छ । निर्देशक लामाले भने, ‘यो मेरो पहिलो फुल कमेडी चलचित्र हुनेछ । यसपालि दर्शकलाई दुई घन्टा लगातार हँसाउनु मेरो लक्ष्य रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?