+
+

‘प्रेमगीत ४’ अघि ‘बलिदान’ बनाउँदै सन्तोष सेन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १३:५६

काठमाडौं । ‘प्रेमगीत’का तीन श्रृंखलाको बक्स अफिस सफलतापछि निर्माता सन्तोष सेनले आगामी फिल्मको रुपमा ‘बलिदान’ निर्माणको घोषणा गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले तिहारपछि छायांकनमा जाने तयारी भइरहेको जनाए ।

सोसियो-पोलिटिकल ड्रामा जनरामा राखिएको फिल्मले राजनीतिक र सामाजिक परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने नागरिकको संघर्षको कथा पेश गर्छ । मधेश आन्दोलनको एक महत्वपूर्ण घटनामा आधारित रहेर बनाउन लागिएको यो फिल्मको टिजर छायांकन भइसकेको छ ।

निर्माताले ‘बलिदान’ शीर्षकमा चलचित्र विकास बोर्डमा शीर्षक दर्ता गरिसकेका छन् । ६ करोड बजेट बताइएको यो फिल्मको छायांकन मधेश प्रदेशका विभिन्न स्थानमा गर्ने तयारी छ । तर फिल्म राजनीतिक कथावस्तुबारेमा आधारित नरहेको सेनले बताए । ‘कथावस्तु वर्तमान राजनीतिबारे छैन । कथा वास्तविक हुन्छ तर पात्र काल्पनिक हुन्छन् । मधेशी र पहाडीबीचको द्वन्द्व किन थियो र किन भयो भन्ने इस्युमा फिल्म बन्न लागेको हो । नेपाली हामी एक हौं भन्ने सन्देश यसले दिन्छ,’ उनले भने ।

सेनले अगाडि भने, ‘हजारौं नागरिकले परिवर्तनका लागि बलि दिए । अब विदेशी दलाललाई रोक्नु जरुरी छ ।’ उनले सन् १९९७ मा निर्माण भएको फिल्म महजोडी स्टारर फिल्म ‘बलिदान’को कथावस्तुसँग यो फिल्मको सम्बन्ध नरहेको बताए ।

फिल्मको निर्देशक र कलाकारबारे खुलाइएको छैन । चाँडै यसबारे विस्तृत घोषणा गर्ने आशुसेन फिल्म्सको तयारी छ । ‘यो निकै हेभी फिल्म हुनेवाला छ । एक महिनाअघि प्रि-प्रोडक्सन सुरु हुनेछ । सेट बनाउने तयारी छ । स्क्रिप्टको लागि लेखकहरु अहिले अनुसन्धानमा हुनुहुन्छ । हातहतियार र घटनाबारे रिसर्च हुँदैछ,’ उनले भने ।

चर्चित कलाकारलाई कास्टिङ गर्ने निर्माता सेनले जनाए । तर यसमा प्रदीप खड्का कास्ट हुन्छन् या हुँदैनन् भन्नेबारे उनले खुलाएनन् । निर्माताले बोर्डमा यसअघि ‘भिल्ला’ शीर्षक दर्ता गरे पनि पछि ‘बलिदान’ शीर्षकमा नाम परिवर्तन गरिएको थियो ।

यो प्रोजेक्टपछि निर्माता सेन ‘प्रेमगीत’को चौंथो श्रृंखला निर्माणमा व्यस्त हुनेछन् । ‘हामीसँग दुईवटा ठूला प्रोजेक्ट पाइपलाइनमा छन्’ केही दिनअघि लण्डनबाट फर्किएका निर्माता सेनले भने, ‘सुरुमा बलिदानलाई फ्लोरमा लैजाने गरी काम भइरहेको छ ।’ गत महिना नै मधेशको जंगलमा टिजर छायांकन गर्दाका केही दृश्य टिकटकमा भाइरल भएको थियो ।

त्यतिबेला नै आशुसेन फिल्म्सको नयाँ प्रोजेक्टबारे चर्चा सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?