+
+

फिल्म ‘नांगो गाउँ’लाई करमुक्त गर्न बाबुराम भट्टराईको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते २१:१७

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले फिल्म ‘नांगो गाउँ’लाई करमुक्त गर्न सरकारलाई आग्रह गरेका छन् । मंगलबार पत्नी हिसिला यमीसहित फिल्म हेरेपछि भट्टराईले सामाजिक संजालमा पोस्ट गर्दै उक्त आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘फिल्म यथार्थवादी साथसाथै रोचक र मनोरन्जक पनि छ । कलाकारले आ-आफ्नो भूमिका राम्ररी निभाएका छन् । राज्यका विभिन्न तहले यस्ता फिल्मलाई करमुक्त गरेर जनस्तरसम्म पुर्‍याउन सके राम्रा फिल्म निर्मातालाई थप प्रोत्साहन मिल्नेछ ।’

फिल्म हेरेपछि आफू र हिसिलालाई आँसु लुकाउन गाह्रो भएको उनले बताएका छन् । उनले यो फिल्म हेर्न सिफारिस गर्दै भनेका छन्, ‘नेपाली राजनीतिमा र विशेषतः निर्वाचनमा माथिदेखि तलसम्म र दलहरूदेखि जनस्तरसम्म झांगिदै गएको भ्रष्टाचार, छलकपट, धोकाधडि, किनवेचको कुसंस्कारसंग लड्न र निष्ठामा टिक्न कति कठीन छ त्यो बुझ्न सबैले यो फिल्म हेर्नैपर्छ ।’

पत्नीसहित बाबुराम सुन्धारको सिभिल मलमा पुगेका थिए । फिल्म हेरेपछि मिडिया कुराकानीको क्रममा हिसिला भावुक बनेकी थिइन् । उनको आँखाबाट आँसु झरेका थिए ।

हिसिला भावुक बनेपछि मिडियासँग कुरा गर्दै भट्टराइले भने- ‘फिल्मको कथावस्तु उत्कृष्ट छ । फिल्मको अन्तिममा मुख्य पात्रले गाउँ छाडेको कुरा मलाई थोरै चित्त वुझेन । अरु, कुरामा त फिल्ममा आलोचना गर्नुपर्ने ठाउँ छैन ।’

बाबुरामले फिल्मका मुख्य पात्रले राजनीतिमा हार खाएपछि गाउँ छाडेपनि आफूले भने नछाड्ने बताए । उनले भने– ‘मलाई गोरखा छाडेर छोरीलाई काठमाडौंमा उठायो भनेर पनि आरोप लगाइयो । तर, छोरी मानुषीलाई स्वतन्त्र युवाले काठमाडौंमा उठाएका हुन् । म गाउँ छाडेर हिड्नु हुदैन भन्ने पक्षमा छु ।’

भट्टराइले अगाडि भने– ‘फिल्मले छोएपछि त मान्छेको आँखाबाट आँशु आउँछ नी । हिसिलाको आँखामा आँशु पनि त्यही भएर आएको हो । निर्देशक दीपेन्द्र लामा सधै नै उत्कृष्ट फिल्म बनाउनुहुन्छ ।’

बाबुरामले आफू चुनावमा नउठ्नुको कारण पनि यही फिल्ममा देखाउन खोजिएको भन्दै यसलाई यथार्थ कथा भने ।

यस्तै, पूर्वमन्त्री यमीले फिल्म हेरेर सबै कुराले छोएको बताइन् । उनले, पनि बाबुरामले जस्तै मुख्य पात्रले गाउँ छाड्ने कुरामा असन्तुष्टि जनाइन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?