+

१९औं एसियाडमा पदकको अपेक्षा गरेको तेक्वान्दोमा निराशा

२०८० असोज  १० गते १४:३५ २०८० असोज १० गते १४:३५
१९औं एसियाडमा पदकको अपेक्षा गरेको तेक्वान्दोमा निराशा

१० असोज, हान्झाउ । १९औं एसियन गेम्स एसियाडको तयारी सुरु हुँदै गर्दा नेपालले पदकको अपेक्षा गरेको खेलको सूचीमा तेक्वान्दो, बक्सिङ र कराते मुख्य प्राथमिकतामा थियो ।

मार्सल आर्टसका यी खेलहरुमा नेपालले यसअघि एसियाडमा पदक पनि जितिसकेको थियो ।

अझ तेक्वान्दो एसियाडमै नेपालको लागि सबैभन्दा सफल खेल समेत हो । जसबाट नेपालले १ रजत सहित सर्वाधिक १५ पदक जितेको छ ।

यस पटक पनि तेक्वान्दोबाट नेपालले पदकको अपेक्षा राखे पनि खेलाडीहरुको प्रदर्शन भने त्यो अनुरुप देखिएन ।

तेक्वान्दोमा पछिल्लो पटक नेपालले २००६ दोहा एसियाडमा पदक जितेको थियो । त्यसयता नेपालले तेक्वान्दोबाट एसियाडमा पदक जित्न सकेको छैन ।

हान्झाउमा तेक्वान्दोमा नेपालका ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती सकिसकेको छ । तर अहिलेसम्म कुनै पनि खेलाडी क्वाटरफाइनलबाट माथि जान सकेका छैनन् ।

बुधबार तेक्वान्दोमा प्रतिस्पर्धा गरेका नेपालका तीन खेलाडी नै पहिलो चरणबाटै बाहिरिए ।

वीरबहादुर महरा, इन्दिरा बस्नेत र अभिशेक बराल ।

नेपालका अभिषेक बराल पुरुष ८० केजी अन्तर्गत अन्तिम ३२ मा अफगानिस्तानका ओमिद साहाकसँग २-० ले पराजित भए ।

अभिषेक साहकसँग पहिलो चरणमा ११-१  र दोस्रो चरणमा १५-२ ले पछि परे ।

यस्तै अनुभवी खेलाडी वीरबहादुर महरा पुरुष ६८ केजी मुनी अन्तिम १६ चाइनिज ताइपेईका यी जुई चिउसँग २-० ले नै पराजित भए । पहिलो चरणमा १०-० ले पछि परेका वीरले दोस्रो चरणमा केही सुधार गरे पनि १२-८ ले पछि परे ।

महिला ६७ केजी मुनिको तौल समूहमा इन्दिरा बस्नेत अन्तिम १६ मा इरानका मेलिका मिरहोसेनी भाकिलीसँ २-० ले हारे । उनी १४-१ र ९-० ले पराजित भइन् ।

तेक्वान्दोमा नेपालको अब एक खेलाडीको स्पर्धा बाँकी छ । पुरुष ८० केजीमा नेपालका ज्याकी यादवले बिहीबार जोर्डनी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

अहिलेसम्म खेलेका तेक्वान्दोका १० खेलाडीमध्ये पुम्सेका प्रेमबहादुर लिम्बु, ग्योरोगीका अन्जली तामाङ र गोविन्द बहादुर आलेले समान एक खेल जित्नु बाहेक अन्यको प्रदर्शन निराशाजनक रह्यो । बाँकीले एक खेल समेत जित्न सकेनन् ।

एसियाडमा पाँचौ दिनको खेल सुरु हुँदा सम्म नेपाली खेलाडीको प्रदर्शन उत्साहजनक देखिएको छैन ।

अहिलेसम्म केही खेलका खेलाडीले एक खेल जित्नु नै नेपालको उपलब्धी जस्तै बनेको छ । प्राथमिकतामा राखेर पदकको अपेक्षा गरिएकै खेलमा समेत नेपालको कमजोर प्रदर्शन भएपछि नेपाल पदक विहिन नै हुने हो कि भन्ने चिन्ता बढेको छ ।

नेपालले प्रतिस्पर्धा गरेको पुरुष भलिबल, सुटिङ, साइक्लिङ, पुरुष रग्बीमा भने चुनौती समाप्त भइसकेको छ ।

एसियाली खेलकुद तेक्वान्दो

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय