+
+

टाइब्रेकरमा चुक्यो नेपाल

नमिता दाहाल नमिता दाहाल
२०८० असोज १० गते २२:४५

१० असोज, काठमाडौं । ट्राइब्रेकरमा चुक्दा नेपाल घरेलु मैदानमा भएको यू–१९ साफ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ ।

१२ हजारभन्दा बढी घरेलु समर्थकका बीच भएको खेलमा नेपालले एक गोलले पछाडि परेको अवस्था उल्टाएर बराबरी गरेको थियो । तर, पेनाल्टीमा ३–२ ले भारतसँग पराजित भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आक्रामक खेल खेलेको भारतले २६ औं मिनेटमा अग्रता लियो । भारतका लागि साहिल खुर्सिदले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले गोम्सर गोयारीको हेड बललाई डिबक्स भित्रबाटै गोलमा परिणत गरेका थिए ।

नेपालले भने पाएका दुईवटा राम्रो अवसरमा गोल गर्न सकेन । ३७ औं मिनेटमा कुशल देउवाले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । थप गरिएको समयमा कुशल देउवाको कर्नरमा समिर तामाङले गरेको हेडर पनि पोस्टमाथिबाट बाहिरिएको थियो ।

नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले खेलको दोस्रो हाफमा मिडफिल्डर अभिनास स्याङतानलाई निकालेर लक्षु थापालाई मैदान प्रवेश गराए । त्यसपछि नेपालको मिडफिल्ड केही सुधार देखियो । मिडफिल्डमा लक्षु र प्रशान्त लक्सम लिम्बुले सम्हाल्दा अगाडि फर्वाडले खुलेर खेल्ने मौका पाए ।

खेलको ६६औं मिनेटमा भारतीय खेलाडीले ह्याण्ड गरेपछि डिबक्सको ठीक अगाडि नेपालले फ्रि किक पायो । प्रशान्त लक्सम लिम्बुले हानेको फ्रि किक भारतीय डिफेन्समा ठोक्किएर रिवाउन्ड भयो । रिवान्उ बल पुनः प्रहार गर्दा गोल हुन सकेन ।

७४ औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । समीर तामाङले दीपक थापा मगरको क्रसमा हेडर गोल गर्दै खेल बराबरीमा ल्याए ।

नेपालका लागि गोलरक्षक जियारथ शेख निक्कै महत्वपूर्ण रहे । पहिलो हाफमा भन्दा जियारथको प्रदर्शन दोस्रो हाफमा निकै उत्कृष्ट रह्यो । उनले ४ वटा भारतीय प्रहार विफल बनाए ।

नेपालले ९० मिनेटसम्म १–१ बराबरीमै खेल्यो । अतिरिक्त समयको अन्तिम मिनेटमा नेपालले राम्रो स्थानमा फ्रि किक पाएको थियो । तर त्यस अवसरलाई नेपालले गोलमा परिणत गर्न सकेन ।

सुजन डंगोलले माल्दिभ्ससँगको खेलमा रातो कार्ड खाँदा पनि पनि आजको खेलमा नेपाललाई गाह्रो परेको थियो । ‘सेटको खेलाडी बाहिरिँदा अलिकति गाह्रो त भयो’ प्रशिक्षक सुनिल श्रेष्ठले भने, ‘प्रेसरमा भएर गाह्रो भयो होला आश गरेका खेलाडीले पनि पेनाल्टीमा गोल गर्न सकेनन् ।’

पेनाल्टीमा चुकेको नेपाल

निर्धारित समयमा दुबै पक्षबाट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गयो । २०१५ मा भारतलाई नै टाइब्रेकरमा हराएर फाइनलमा पुगेको नेपाल आजको खेल भने टाइब्रेकरमै चुक्यो ।

नेपालका अश्विन घोरासैनीले पहिलो पेनाल्टी गोल गरे । दोस्रो नम्बरमा आएका प्रशान्त लक्सम लिम्बुको पेनाल्टी भारतीय गोलकिपरले रोके । तेस्रोमा आएका कुशलले गोल गरे । चौथोमा आएका लक्षु थापा र पाँचौंमा आएका बिक्रम तामाङले पनि गोल गर्न सकेनन् । भारतका अर्जुन सिंह, गोमसार गोयारी र माङलिङ थेङ किपिङले गोल गरे भने रिक्की मितल र दिनेश सिंहको बल नेपालका गोलकिपरले रोकेका थिए ।

पेनाल्टी हान्ने खेलाडी घाइते भएकाले पनि गाह्रो भएको प्रशिक्षक श्रेष्ठ भने सुनाए । ‘पेनाल्टी हान्ने खेलाडी बाहिरिएर हामीलाई समस्या भएको हो । दीपक, अभिनाश र समिर बाहिरिए’ उनले भने, ‘तीन जना पेनाल्टी हान्ने खेलाडी बाहिरिएर हामीलाई गाह्रो भयो ।’

युवा खेलाडीको प्रदर्शन लोभलाग्दो

तेस्रो पटक फाइनल पुग्न चुकेपछि खेलाडीहरुले आश जगाएका छन् । खासगरी सिनियर टिमबाट खेलिरहेका फुटबलरहरु विदेश पलायन भएको बेला यो प्रतियोगिता युवा खेलाडी चिन्ने अवसर थियो । त्यसमा गोलरक्षक जियारथ शेख, समिर तामाङ, प्रशान्त लक्सम लिम्बु, दीपक थापा र निरन्जन धामी लगायतले राम्रो प्रभाव छाडेका छन् ।

प्रशिक्षक श्रेष्ठ पहिलो खेलबाहेक बाँकी दुई खेलमा आफ्ना खेलाडीहरुले राम्रो खेलेको बताउँछन् ।

‘हामी उपाधिबाट वञ्चित भयौं, तर हाम्रो टिमका धेरै खेलाडीले अब राष्ट्रिय टिममा दस्तखत दिन सक्छन्’ उनले भने, ‘अहिले राष्ट्रिय टिममा धेरै नयाँ खेलाडी आइरहेका छन् । यिनीहरुले पनि मौका बनाउँछन् भन्ने विश्वास छ ।’

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?