+
+

१९औं एसियाड : तेक्वान्दोमा नेपालको चुनौती सकियो, आएन पदक

बिहीबार ज्याकी यादव पहिलो खेलमै पराजित भएपछि १९औं एसियाडमा नेपालको तेक्वान्दोबाट पदक जित्ने सम्भावना औपचारिक रुपमै सकिएको छ । नेपालले तेक्वान्दोमा एसियाडमा पदक जित्न नसकेको १६ वर्ष भइसकेको छ ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज ११ गते १०:४९

११ असोज, हान्झाउ (चीन)। एसियन गेम्समा नेपालले भाग लिएको मध्ये तेक्वान्दो सबैभन्दा सफल खेल हो । नेपालले अहिलेसम्म एसियाडमा जितेको २४ मध्ये १५ पदक त तेक्वान्दोले नै जितेको छ । जसमा १ रजत पदक समेत छ ।

सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाडमा तेक्वान्दो र बक्सिङबाट नेपालले ४-४ कास्य पदक जितेको थियो । त्यसपछि तेक्वान्दोले १९९० बाहेक २००६ सम्म हरेक संस्करणमा पदक जित्दै आएको थियो । त्यसयता भने तेक्वान्दोले एसियाडमा पदक जित्न सकेको छैन ।

तर हरेक संस्करणमा तेक्वान्दो पदकको आशा गरिने र प्राथमिकता दिइएको खेलमा पर्छ । तैपनि तेक्वान्दोले पछिलला चार संस्करणमा पदक जित्न सकेन । हाल चीनको हान्झाउमा जारी १९औं एसियाड मा पनि तेक्वान्दोसहित बक्सिङ, कराते लगायत खेल पदकको सम्भावना भएको सूचीमा थियो । तर तेक्वान्दोले यस पटक पनि निराश बनायो ।

तेक्वान्दोले एसियाडमा पदक जित्न नसकेको १६ वर्ष भइसकेको छ । पछिल्लो पटक २०६६ को दोहा एसियाडमा नेपालका दीपक विष्ट, आयशा शाक्य र मनिता शाहीले कास्य पदक जितेका थिए ।

बिहीबार ज्याकी यादव पहिलो खेलमै पराजित भएपछि १९औं एसियाडमा नेपालको तेक्वान्दोबाट पदक जित्ने सम्भावना औपचारिक रुपमै सकिएको छ ।

लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको पुरुष ८० केजीको अन्तिम १६ को खेलमा ज्याकी जोर्डनी खेलाडी अनास सादेकसँग २-० ले सजिलै पराजित भए । ज्याकी अनास विरुद्ध पहिलो चरणमा १०-१ र दोस्रो चरणमा १३-१ ले पछि परे ।

यस पटक पनि तेक्वान्दोबाट नेपालले पदकको अपेक्षा राखेपनि खेलाडीहरुको प्रदर्शन भने त्यो अनुरुप देखिएन । कमजोर तयारी र लगानीका कारण यस पटक नेपाली तेक्वान्दोले पुरानो विरासत जोगाउन सकेन ।

पदककको छेउछाउ त पुग्न सकेन नै तेक्वान्दोमा सहभागी भएका ११ खेलाडी मध्ये तीन खेलाडीले मात्रै एक-एक खेल जित्न सफल भए । १९औं एसियाडको उद्घाटन समारोहमा मार्सपासमा उसुकी निमा घर्तीमगरसँगै नेपालको झण्डा बोकेका अनुभवी खेलाडी बिर बहादुर महराबाट केही आशा राखे पनि उनीहरू पहिलो खेलमै पराजित भए ।

हान्झाउमा नेपालले २९ खेलमा २५३ खेलाडी उतारे पनि लगातारको हारले कतै नेपाल यस पटक पदकविहीन हुने त होइन भन्ने चिन्ता पनि बढाएको छ ।

पुम्सेका प्रेम बहादुर लिम्बु एक खेल जित्दै क्वाटरफाइनलमा पुगे पनि त्यसपछि अघि बढ्न सकेनन् । ग्योरोगीतर्फ अन्जली तामाङ र गोविन्द बहादुर आलेले एक-एक खेल जित्नु बाहेक बाँकी खेलाडीले कुनै खेल पनि जित्न सकेनन् । अन्जली र गोविन्दले अन्तिम ३२ को खेल जितेपनि अन्तिम १६ को खेलमा पराजित हुँदै बाहिरिए ।

नेपालले पदकको आशा राखेको ट्टीन मुख्य मार्सल खेलमध्ये तेक्वान्दोको चुनौती सकिँदा बक्सिङको पनि लगभग पदकको सम्भावना सकिएको छ । बक्सिङबाट मुख्य आशा गरिएको सुष्मा तामाङ समेत पहिलो खेलमै पराजित भइन् ।

यस्तै पदकको आशा गरिएको करातेको प्रतिस्पर्धा सुरु हुन बाँकी छ ।

तेक्वान्दोसहित, जुडो, सुटिङ, उसु, साइक्लिङ, रग्बी (पुरुष) र पुरुष भलिबलमा नेपालको खेल समाप्त भइसकेको छ ।

यसबाहेक पदकको आशा गरिएको अन्य खेलमध्ये इस्पोर्ट्सको पनि तीन इभेन्टमा नेपाल पराजित भइसकेको छ । अब पदकको आशा गरिएको इस्पोर्ट्स अन्तर्गत पब्जी मोबाइलको खेल बिहीबारदेखि सुरु हुँदैछ ।

यस्तै पुरुष क्रिकेटमा बुधबार मंगोलियामाथि कीर्तिमानको वर्षा गर्दै सुखद सुरुवात गरेको नेपालले यसमा पदक जित्ने लक्ष्य राखेको छ ।

किन आउन सकेन पदक ?

वीरबहादुर महरा, इन्दिरा बस्नेत र अभिशेक बराल ।

हान्झाउमा नेपालले २९ खेलमा २५३ खेलाडी उतारे पनि लगातारको हारले कतै नेपाल यस पटक पदकविहीन हुने त होइन भन्ने चिन्ता पनि बढाएको छ ।

तेक्वान्दोमा दुई कास्य पदक जितेका दीपक विष्ट पहिले भन्दा अहिले खेलको माहोल कम हुनु र कमजोर तयारीले गर्दा पदक आउन नसकेको बताउँछन् । ‘अन्य देशको तुलनामा कमजोर तयारी हुनु, लगानी कम हुनु, खेलाडी पलायन र नयाँ खेलाडीलाई एक्सपोजर कम हुनु, खेलमा पहिले जस्तो लगाव नदेखिनु मुख्य कारण हो,’ विष्टले अनलाइनखबरसँग भने, ‘अरु चार वर्ष तयारी गर्छन् हामी चार महिना तयारी गर्छौँ । हामी मेडल ल्याउने बाटोमा गएका छैनौँ र खेल खेलाउने बाटोमा मात्र छौँ । मुख्य कुरो खेलको लागि वातावरण बन्नुपर्छ । राम्रा खेलाडी पलायन भइसके नयाँ खेलाडी जन्माउन समय लाग्छ । तेक्वान्दोमा धेरै विवादहरु छन् त्यसलाई किनारा लगाउनुपर्छ ।’

विष्टले खेलको लागि उपयुक्त वातावरण बनाएर तयारी गरेमा नेपालले मेडल जित्न सक्ने बताए । समय अनुसार प्रविधिमा अभ्यस्त हुँदै सबै कुराहरु परिवर्तन हुनुपर्ने र पुरानो प्रक्रियाले अब नहुने पनि विष्टले बताए ।

१३औं सागमा नेपालका लागि पदक जितेका अधिकांश खेलाडीहरु अहिले विदेश पलायन भइसक्दा तेक्वान्दोमा ठूलो असर परेको थियो ।

 

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?