+
+

मणिपाल अस्पताल तोडफोड गर्ने थप एकजना पक्राउ, ८ दिनपछि उठ्यो सुकमायाको शव

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते ११:४३

१६ असोज, पोखरा । गत ८ गते लमजुङबाट उपचारका लागि ल्याइएकी सुकमाया दुराको मृत्युपछि चिकित्सक कुटपिट प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

सुकमायाको मृत्युपछि उत्पन्न तनावमा अस्पताल तोडफोड गरेको आरोपमा ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तका तर्फबाट विरोधमा उत्रिएका कार्की सिसी क्यामरामा तोडफोडमा उत्रिएको देखिएपछि पक्राउ परेका हुन् ।

कास्की प्रहरी प्रमुख मोहनबहादुर थापाका अनुसार भीडबाट तोडफोड गर्ने र अराजकता निम्त्याउने अझै केही व्यक्ति खोजीमा छन् ।

गत ८ गते चिकित्सकको लापरबाहीले सुकमायाको मृत्यु भएको भन्दै आफन्तका तर्फबाट डाक्टर अनिल शाहमाथि हातपात भएको थियो । डाक्टर कुटिएको विषयले देशैभरि आन्दोलन भएको थियो ।

८ गते नै डाक्टर कुटेको आरोपमा २७ वषर्ीय विनय गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । चिकित्सकका तर्फबाट पनि डा. दिनेशलाई पक्राउ गरेर एक दिन हिरासतमा राखेर छोडेपछि आफन्तले झनै आन्दोलन चर्काएका थिए ।

मणिपाल प्रकरणमा माओवादी निकट चिकित्सक संगठनका नेता डा. दिनेश विकसमेत पक्राउ परेपछि स्वास्थ्यकर्मीले आन्दोलन झनै चर्को पारेका थिए । डाक्टरमाथि एकपछि अर्को आक्रमणका घटना भएको भन्दै चिकित्सकहरुले देशैभरि आन्दोलन गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले डाक्टर कुट्ने र तोडफोड गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता नै जनाएका थिए ।

चिकित्सकले डाक्टर कुट्ने, तोडफोड गर्नेलाई पक्राउ गर्नुपर्ने माग गर्दै आकस्मिकबाहेकका सेवा थप्प पार्दै प्रशासन कार्यालयअघि प्रदर्शनसमेत गरेका थिए भने आफन्तका तर्फबाट महेन्द्रपुलमा चक्काजाम गरेका थिए ।

तनाव व्यवस्थापनमा खटिएका प्रहरीले नै डाक्टर कुटेर आएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएको भिडियो अनलाइनखबरमार्फत सार्वजनिक भएपछि गृह मन्त्रालयले एक्सन लिएको थियो । यो प्रकरणमा इन्स्पेक्टर मदन श्रेष्ठ निलम्वनमा छन् भने वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेदप्रकाश जोशी काजमा हेडक्वाटर तानिएका छन् ।

अस्पताल प्रशासन र डाक्टरबीच ६ बुँदे सहमति भएपछि आन्दोलन मत्थर भएको थियो । तर, सहमति पछि पनि अस्पताल तोडफोड गर्ने १२ असोजमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको थियो । सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरी प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनविपरीत काम गरेको कसुरमा मुद्दा अगाडि बढाएको छ ।

सहमति भइसकेको भनिएको मणिपाल प्रकरणमा प्रहरीले फेरि पक्राउ गरेको भन्दै आफन्तले सुकमायाको शवसमेत बुझेका थिएनन् । अस्पताल र आफन्तबीच सहमति भएको तर प्रहरीले तोडफोडमा उत्रिएकालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको एसपी थापाले बताए ।

मृतकका आफन्तले पक्राउ परेका व्यक्तिको रिहाइ गर्न माग गर्दै शव नउठाएकोमा छिटोभन्दा छिटो सहजीकरण गरिदिने सर्तमा मंगलबार बिहान (आज) शव उठाइएको छ ।

आफन्तले ८ दिनपछि अस्पतालमा शव उठाएको एसपी थापाले जानकारी दिए । प्रहरीले स्वास्थ्य संस्था सम्बन्धी ऐनअनुसारै पक्राउ परेका व्यक्तिको कानुनी प्रक्रिया अगाडि बढाउने थापाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?