+
+

भारतीले सुरु गरिन् अनशन, रिगललाई जेलमै राख्नुपर्ने माग

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते ११:२०

१७ असोज, काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी छन् ।

माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताइन् ।

अनशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्, ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु । म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्न ।’

रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए ।

कैद मिनाहा दिने राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतनकी चेतनकी श्रीमती भारती अनशन बसेकी हुन् । हत्यामा संलग्नलाई फेरि पनि जेल चलान गर्नुपर्ने आफ्नो माग रहेको उनले जानकारी दिइन् ।

रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?