+
+

एसियाडको अनुभवले विश्वकप छनोटलाई सहयोग

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज १७ गते १८:३४

१७ असोज, हान्झाउ । नेपाली राष्ट्रिय क्रिकेट टिमले एसियाडमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि २३ रनले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरियो ।

पदक जित्ने लक्ष्यका साथ हान्झाउ आएको नेपाली क्रिकेट टिमले पदक त जित्न सकेन । तर अक्टोबर अन्तिममा घरेलु मैदानमै सुरु हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका रुपमा एसियाडलाई उपयोग गर्‍यो ।

नेपालका प्रमुख प्रशिक्षक मोन्टी देसाईंले भारत विरुद्धको खेलले आउने टी-२० विश्वकप छनोटका लागि मद्दत पुग्ने बताए ।

‘हामीले भारतसँग राम्रो खेल्यौं। यो खेलबाट हामी विश्वकप छनौटका लागि धेरै आत्मविश्वासी भएका छौं ।’

भारतविरुद्ध जितका लागि २०३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।

नेपालले टेष्ट मान्यता प्राप्त टिमसँग १० वर्षपछि टी-२० आई खेलेको हो ।  एक महिनाअघि एसिया कप क्रिकेटमा पहिलो पल्ट भारतसँग ओडीआई खेलेको नेपालको भारतसँगै पहिलो टी-२० आई एसियाडमा खेलेको हो ।

एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्धको खेल हारे पनि राम्रो प्रदर्शन गरेको नेपालले एसियाडमा भारतविरुद्ध फेरि एक पटक राम्रो क्रिकेट खेल्यो ।

यो प्रदर्शनबाट गर्व लागेको देसाईँले बताए । ‘हामी यो जर्नीबाट प्राउड छौं । हामीले क्रिकेट संस्कृति बनाउनका लागि इन्भेस्ट गरेका छौं,’ उनले भने, ‘हामीले ब्राण्डको क्रिकेट खेल्यौं र यसलाई निरन्तरता दिए धेरै राम्रो हुनेछ ।’

टी-२० विश्वकप एसिया छनोटमा नेपालसहित यूएई, ओमान, हङकङ, सिंगापुर, बहराइन, मलेसिया र छनोट हुन बाँकी अर्को एक गरी ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष दुई टोली आगामी वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

एसियाडमा कूल १४ टोली सहभागी थिए । जसमा भारतसहित पाँच राष्ट्र सिधै क्वाटरफाइनलमा पुगेका भए पनि बाँकी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो । जसमा नेपाल मंगोलिया र माल्दिभ्सलाई हराउँदै समूह ए को विजेता बनेर क्वाटरफाइनल पुगेको थियो ।  ।

क्वाटरफाइनल ड्र मा नेपालले भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश मध्ये एक प्रतिद्वन्द्वी पाउने तय थियो । जसमा भारतसँग नै नेपालको क्वार्टरफाइनल खेल पर्‍यो ।

भारतले टस जितेर ब्याटिङ गर्‍यो । यशस्वी जैसवालले शतक प्रहार गरेपछि भारतले ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । जवाफमा नेपालले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १७९ रन बनायो ।

भारत विरुद्धको खेलमा पनि केही त्यस्ता टर्निङ प्वाइन्ट थियो जसले गर्दा खेल नेपालको पक्षमा भएन । ‘भारतसँग हामीले प्रतिस्पर्धात्मक खेल खेल्यौं । जितेको भए अझ राम्रो हुन्थ्यो,’ प्रशिक्षक देसाईँले भने ।

नेपालले बलिङमा सुरुमै राम्रो गर्न नसक्दा भारतले सानदार ब्याटिङ गरेको थियो । पावर प्लेमा ६३ रन बनाएको भारतका लागि जैसवाल र कप्तान रुतुराज गाएकवाडले पहिलो विकेटकै लागि १०३ रनको साझेदारी गरे ।

नेपालले अन्तिम ५ ओभरमा ६४ रन खर्चेको थियो । जसमा पनि अभिनाश बोहराको अन्तिम ओभरमै भारतले २५ रन जोडेको थियो ।

‘हामीले १-२ बल राम्ररी फिल्डिङ गरेको भए उनीहरूलाई १९० मा जतिमा रोक्न सक्थ्यौं । उनीहरूको १०-१२ रन कम भएको नतिजा जे पनि हुन सक्थ्यो,’ देसाईले भने ।

नेपालको ब्याटिङमा पनि एकरुपता हुन सकेन । ३० रन कटाउने एक मात्र खेलाडी दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाउँदा कुशल मल्ल र सन्दिप जोराले समान २९ तथा कुशल भुर्तेलले २८ रन बनाए । करण केसीले नटआउट १८ रन हाने ।

आईपीएल खेलेका चर्चित युवा खेलाडीहरु सामु नेपाली युवा टिमले राम्रो प्रदर्शन गरे पनि फिल्डिङमा केही चुक्दा भारतले २०२ रन बनायो र त्यही १०-१५ रन नेपालका लागि धेरै भएको कप्तान र प्रशिक्षकको भनाइ थियो ।

लक्ष्य पछ्याउँदा दीपेन्द्र सिंह ऐरी र सन्दिप जोराले राम्रो साझेदारी गर्दा कुनै बेला नेपालले खेल जित्ने सम्भावना समेत देखाएको थियो । दीपेन्द्रले एकै ओभरमा शिवम दुवेलाई तीन छक्का प्रहार गरेका थिए ।

तर यो साझेदारी टुटेपछि भने नेपाल जितबाट टाढियो ।  कप्तान रोहितकुमार पौडेलले भने, ‘जोरा र दिप्पी दाइ ब्याटिङ गरिरहेका बेला हामीलाई जित्छौं भन्ने लागेको थियो । उहाँहरू दुईमध्ये एक जना अन्तिमसम्म टिकेको भए नतिजा जे पनि हुन सक्थ्यो।’

भारतको टिममा आईपीएल खेलेका खेलाडी हुनु र टी-२० खेलको प्रकृति नै यस्तै हुनुले पनि खेलको नतिजा आफूअनुकुल आउन नसकेको देसाईले बताए । उनले भने, ‘भारतको टिममा आईपीएल खेलिसकेका खेलाडी छन् । फेरि टी-२० भनेको यस्तै खेल हो । बलरको आफ्नो योजना हुन्छ, ब्याटरको आफ्नै योजना हुन्छ ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?