+
+

आवासीय चिकित्सकका दुःख

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० असोज १९ गते १९:३३

१९ असोज, काठमाडौं । सोमबार (८ असोज) मणिपाल अस्पताल, पोखराका डा.अनिल शाह अनाहकमै कुटिए । लमजुङबाट आएकी ५७ वर्षकी बिरामीको मृत्यु भएपछि आक्रोशित भीडले डा. शाहमाथि हातपात गरेका हुन् ।

भदौ अन्तिम साता मात्र सन्चो अस्पताल, हेटौंडाका दुई जना डाक्टरमाथि कुटपिट भएको थियो । त्यसपछि लमजुङ लगायत स्थानमा पनि कुटपिटका घटना भए । यस्ता अधिकांश घटनामा रेजिडेन्ट डाक्टरहरू नै पर्ने गरेका छन् । किनकि बिरामीको उपचारमा फ्रन्टलाइनमा उनीहरू नै खटिएका हुन्छन् ।

आक्रमणको घटना निरन्तर हुन थालेपछि चार हजारको हाराहारीमा रहेका आवासीय चिकित्सक आकस्मिक कक्ष बाहेकका काम छाडेर सडकमा ओर्लिए । सुरुमा उनीहरूले कार्यस्थलमा सुरक्षासँगै आफ्ना मुद्दाहरूलाई पनि उठाएका थिए । तर विषयान्तर हुने मात्र होइन, डाक्टरहरू नै दुई खेमामा बाँडिने जोखिम देखेपछि रेजिडेन्टहरूले सुरक्षा केन्द्रित आन्दोलन गरे ।

१३ असोजमा सरकारसँग सहमति पनि भयो । त्यो सहमतिमा सुरक्षाको मुद्दा मात्र सम्बोधन भएको छैन, आवासीय चिकित्सकहरूको सेवा–सुविधामा गर्नुपर्ने सुधारबारे अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिवको नेतृत्वमा समिति बनेको छ ।

सहमतिको चौथो बुँदामा भनिएको छ– ‘चिकित्सक, आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्टर्न डाक्टर तथा स्वास्थ्यकर्मीहरूको सेवा–सुविधामा न्यूनतम सरकारी सरह एकरूपता कायम गर्ने लगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिवको संयोजकत्वमा अर्थ, गृह, कानुन, श्रम मन्त्रालय, चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, चिकित्सक संघ र संघर्ष समितिका प्रतिनिधि रहेको समिति १५ दिनभित्र गठन गरी जिम्मेवारी दिने ।’ स्वास्थ्य मन्त्रालयले बिहीबार निकालेको सूचना अनुसार यो समिति गठनको प्रक्रिया सुरु भएको छ ।

आवासीय चिकित्सकहरूका अनुसार यो समितिमा रेजिडेन्टहरूका दुःखबारे छलफल हुने र थोरै भए पनि सम्बोधन हुने आशा पलाएको छ । नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसनका पूर्वअध्यक्ष डा.सुमन आचार्य भन्छन्, ‘तत्काल गर्न सकिने कामहरू गरौं भनेर यो समिति बनाउने सहमति गरेका हौं । यो समितिले कति प्रभावकारी भएर काम गर्छ, हेर्न बाँकी छ ।’

सकसपूर्ण दिन

चिकित्सकहरूका अनुसार एउटा डाक्टरको करिअरमा रेसिडेन्सी नै सबैभन्दा गाह्रो समय हो । एमबीबीएस पास गरेर एक वर्ष इन्टर्न गरेका डाक्टरले पोष्ट ग्राजुएट (पीजी) गर्न सक्छन् । विधा अनुसार ३ देखि ७ वर्ष अवधि हुन्छ । कन्सल्ट्यान्ट विज्ञ बनाउने समय भएकाले यो अवधिमा आवासीय चिकित्सकहरू बढीभन्दा बढी समय अस्पतालमा नै बिताउने अपेक्षा गरिएको हुन्छ ।

तर नेपालमा भने ‘ड्युटी आवर’ वैज्ञानिक ढंगले निर्धारण नभएकोदेखि सेवा सुविधा निकै कम भएको आवासीय चिकित्सकको गुनासो छ ।

स्वास्थ्य संस्था सञ्चालन गरिदिने सम्पूर्ण जिम्मेवारी आवासीय चिकित्सकको होइन । तर हामीमाथि कामको बोझ थोपरिएको छ – डा. शेषराज घिमिरे, रेजिडेन्ट एशोसिएसन अफ न्याम्सका पूर्वसदस्य

चिकित्सा शिक्षाको स्नातकोत्तर तह अध्ययन गरिरहेका आवासीय चिकित्सकले अध्ययनसँगै विशेषज्ञ चिकित्सक निगरानी रहेर बिरामीको सेवा गर्नुपर्ने हुन्छ ।

आवासीय चिकित्सकले अस्पतालमा भर्ना भएका र आकस्मिक उपचारका लागि आएका बिरामीको स्वास्थ्य जाँच गर्ने, भर्ना गर्ने, विभिन्न वार्डमा जिम्मेवारी लिएर काम गर्नुपर्ने, डिस्चार्ज गर्ने लगायत काममा निरन्तर खटिनुपर्छ । बिरामी भर्ना गरेर राख्नुपर्ने इन प्यासेन्ट वार्ड र सर्जरी सेवा विभागहरूमा कार्यरत आवासीय चिकित्सकले बढी समय ड्युटी गर्नुपर्छ ।

आवासीय चिकित्सकहरूका अनुसार लगातार ३६ घन्टासम्म ड्युटी गर्नुपर्छ, त्यो पनि महिनामा १०/१२ पटकसम्म । एक आवासीय डाक्टर भन्छन्, ‘खाना खाने, शौच गर्ने र रातको समयमा कुनै अनपेक्षित घटना भएन भने एकाध घण्टा ब्रेक हुन्छ । नभए ३६ घण्टामा ३४/३५ घण्टा नै काम गर्ने अपेक्षा हुन्छ ।’

जबकि नेपाल मेडिकल काउन्सिलले ल्याएको ‘रेगुलेसन फर पीजी मेडिकल एजुकेसन एमडी–एमएस प्रोग्राम २०१७’मा ‘स्नातकोत्तर तहका रेजिडेन्टलाई २४ घण्टा ड्युटी हप्तामा दुई वटाभन्दा बढी लगाउन नपाइने भनेर प्रष्ट उल्लेख थियो ।

तर रेजिडेन्ट डाक्टरहरूको ड्युटीको समय घटाउने हो भने सेवा अस्पताल नै बन्द हुने भन्दै ३६ घण्टासम्म ड्युटी गराइन्छ । रेजिडेन्ट एशोसिएसन अफ न्याम्सका पूर्वसदस्य डा. शेषराज घिमिरे भन्छन्, ‘स्वास्थ्य संस्था सञ्चालन गरिदिने सम्पूर्ण जिम्मेवारी आवासीय चिकित्सकको होइन । तर हामीमाथि कामको बोझ थोपरिएको छ ।’

पछिल्लो समय त नियमन हुनै छाडेको छ । २०७६ मा चिकित्सा शिक्षा आयोग गठन भएपछि आवासीय चिकित्सकको ड्युटी आवरको नियमन तथा नियन्त्रणको अधिकार आयोगमै गयो । तर आयोगले अहिलेसम्म ‘ड्युटी आवर’ नै तोकेको छैन ।

मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीका अनुसार पछिल्लो समय आवासीय चिकित्सक ड्युटी आवर लामो भएको गुनासो बढ्दै गएपछि एक वर्ष अगाडि चिकित्सा शिक्षा आयोगलाई पत्र लेखेर ‘ड्युटी आवर’ मिलाइदिन आग्रह गरिएको थियो । ‘आवासीय चिकित्सकको ड्युटी निर्धारण, लागू गर्ने विषय अहिले आयोगको काम हो’ रजिष्ट्रार डा. अधिकारीले भने, ‘ड्युटी समय खुलाइदिन आयोगलाई पटक–पटक आग्रह गर्दा पनि काम भएको छैन ।’

यसले आफूहरू थप मारमा परेको आवासीय चिकित्सक बताउँछन् । एक सिनियर चिकित्सकका अनुसार सरकारी स्वास्थ्य संस्थाका कतिपय विशेषज्ञ चिकित्सकमा आफ्नो जिम्मेवारी समेत आवासीयतिर पन्छाउने प्रवृत्ति देखिएको छ ।

उनी आवासीय चिकित्सक परिचालनमै त्रुटि देख्छन् । उनीहरूले सिनियर चिकित्सकको सुपरीवेक्षणमा काम गर्नुपर्ने हो । तर सिनियर चिकित्सकको काम आवासीय चिकित्सकले गरिदिनुपर्छ भने जस्तो भाष्य बनेको छ । ‘आवासीय चिकित्सकले पाठ्यक्रम अनुसार काम गर्नुपर्ने हो, तर हामीकहाँ सिनियरको काम पनि आवासीयले गर्नुपर्ने जस्तो भएको छ’ एक चिकित्सक भन्छन्, ‘हामीकहाँ आवासीय चिकित्सकहरूमाथि अमानवीय व्यवहार भइरहेको छ ।’

शारीरिक तथा मानसिक आरामका साथै व्यक्तिगत, पारिवारिक र सामाजिक सम्बन्धहरूलाई मेन्टन गर्न पनि समय चहिने भएकाले ड्युटी मिलाउनुपर्ने आवासीय चिकित्सकहरू बताउँछन् । लगातार २४ घण्टा ड्युटी सातामा दुई वटा मात्र राख्नुपर्ने, साता वा दुई सातामा एक दिन बिदा दिनुपर्ने र वर्षमा कम्तीमा १५/२० दिन अनिवार्य छुट्टी दिनुपर्ने उनीहरू बताउँछन् ।

न्याम्सका डा. रविन गौतम पनि निरन्तर ३६ घण्टा काम गर्दा निर्णय लिन क्षमतामै असर गर्ने बताउँछन् । ‘अस्पतालमा बसेर पनि दुई घण्टा फ्रि हुन पाए पनि धेरै ठूलो कुरा जस्तो लाग्छ’ डा. गौतम भन्छन्, ‘नेपालमा डाक्टर मानसिक रूपमा विक्षिप्त छन् भन्ने कुरा आत्महत्या दरले पनि देखाउँछ । तर हाम्रो मानसिक स्वास्थ्यको जिम्मेवारी सरकारको चासो छैन ।’

आवासीय चिकित्सकहरूले शनिबार वा सार्वजनिक बिदाको दिनमा पनि छुट्टी पाउँदैनन् । कतिसम्म भने रेजिडेन्सीको दौरानमा प्रसूति, करिया बिदा लगायत आधारभूत सुविधा समेत पाउँदैनन् । ‘करिया बिदा, प्रसूति बिदा अधिकार हो’ न्याम्सका डा. गौतम सुनाउँछन्, ‘तर आवासीय चिकित्सकले यो पनि पाउने अवस्था छैन । पाइहाले तीन वर्षपछि १५ दिन थप काम गर्नुपर्छ ।’

दिनरात बिरामीको उपचारमा खटिने आवासीय चिकित्सकको तलब सुविधा भने निकै कम छ ।

केही दिन अगाडि कार्यदल बनाउने सहमति भएको छ, समितिले सिफारिस गरेको आधारमा आयोगले ड्युटी समय छिट्टै तोक्छ : डा. अञ्जनीकुमार झा, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष

सरकारी अस्पतालमा काम गर्ने आवासीय चिकित्सकले ४८ हजार पाउँछन् । निजी मेडिकल कलेजहरूमा त १८÷२० हजार रुपैयाँमै काम गर्नुपर्ने बाध्यता छ । त्यसमा पनि उनीहरू तीन–चार महिनासम्म तलब नपाउने समस्या छ । ‘एक त आवासीय चिकित्सकको तलब न्यून छ । त्यही तलब लिन पनि बेला–बेला आन्दोलन गर्नुपर्ने बाध्यता छ’, एक चिकित्सक भन्छन् ।

यस्तै आवासीय चिकित्सकलाई आवासको व्यवस्था गरिनुपर्ने भए पनि केही मेडिकल कलेज बाहेक अधिकांशमा आवासको व्यवस्था छैन । वीर, ट्रमा, पाटन, पोखरा लगायत शिक्षण संस्थामा आवासीय चिकित्सकले आवास पाउने व्यवस्था छैन ।

आवासीय चिकित्सकले अस्पतालको आसपासमा बसेर अनुकूलता मिलाएर बिरामी सेवा र अध्ययन गर्नुपर्ने हो । तर, अधिकांश सरकारी अस्पतालमा आवासको सुविधा छैन’ रेजिडेन्ट एशोसिएसन अफ न्याम्सका पूर्वसदस्य डा. घिमिरे भन्छन्, ‘अस्पताल प्रशासनले हाम्रो समस्यालाई इग्नोर गर्दै आएको छ ।’

यो सबैका बाबजुद आवासीय चिकित्सकहरूले ‘चुपचाप’ बिरामीको उपचारमा खटिएका छन् । किनकि यसरी काम नगर्ने हो भने कन्सल्ट्यान्ट नै नभइने भयो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झा हालै भएको सहमति अनुसार आवासीय चिकित्सकका ड्युटी लगायत विषय सम्बोधन हुने विश्वास गर्छन् । ‘अहिलेसम्म हामीले आवासीय चिकित्सकको ड्युटीको समयलाई लिएर केही काम भएको छैन’ उनले अनलाइनखबरसँग भने, ‘यस विषयमा केही दिन अगाडि स्वास्थ्य मन्त्रालयले कार्यदल बनाएर सहमति बनेको छ । समितिले सिफारिस गरेको आधारमा आयोगले सेवा–सुविधादेखि ड्युटी समय छिट्टै तोक्छ ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?