+
+

फुटपाथबाट स्टलतर्फ

अमृत चिमरिया अमृत चिमरिया
२०८० असोज २० गते ७:१२

१९ असोज, काठमाडौं । धादिङका नरनाथ गौतमले फुटपाथमा व्यापार गर्न लागेको ९ वर्ष भयो । सुन्धारा अगाडि फुटपाथमा टिसर्ट-पाइन्टको व्यापार गर्ने उनले पछिल्ला महिनाहरूमा जस्तो सकस कहिल्यै भोग्नु परेको थिएन । काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोक लगाएपछि उनको दैनिकी भागदौडमै बित्यो ।

‘नगर प्रहरी आयो भनेपछि फिजाएर राखेको सामान गुटुमुटु पारेर भाग्नुपथ्र्यो, खुट्टै ढोग्छु, भोलिदेखि राख्दिनँ भन्दा नि सुन्दैनथे’ दुई महिना अगाडि महानगर प्रहरीले दिएको दुःख सम्भिmए, ‘एकदिन त मलाई १० मिनेटसम्म लखेटे, सुन्धाराबाट वीर हस्पिटलसम्म लखेटेपछि छोडे । त्यतिन्जेल झण्डै बेहोश भइनँ ।’

नगर प्रहरीले भेट्यो कि सामान सबै जफत गरेर लैजान्थ्यो, आँखा छलेर कति दिन सकिन्थ्यो !

वैशाखमा बालबच्चालाई पनि गाउँमै लैजान्छु, काठमाडौं बस्दिनँ भन्ने मन बनाइसकेका थिए । ‘तर गाउँमा वर्षभरि खान पुग्ने जग्गा छैन, अलिअलि भएको पनि खोलाले तानिसक्यो’ उनले भने, ‘बुढियाले पनि मानिनँ, यतै संघर्ष गर्ने निर्णय गरें ।’

अहिले त उनले त्रासको जीवन बाँच्नु परेको छैन । नगर पुलिस आउला कि भनेर डर पनि छैन । फुटपाथमा व्यापार गर्नेहरूलाई लक्षित गरेर खुलेको नागस्थान मिनी मार्केट, सुन्धारामा स्टल राखेका उनी नयाँ मान्छे आउने वित्तिकै ५०० को दुइटा भन्दै टिसर्ट देखाउन थालिहाल्छन् । ‘सुरु-सुरुमा भर्खरै भएकोले होला व्यापार खासै छैन’ गौतमले अनलाइनखबरसँग भने, ‘तर अब ढुक्कको अनुभूति भएको छ ।’

फुटपाथमा व्यापार गर्ने व्यवसायीहरूको स्वरोजगार सहकारी संस्था लिमिटेडले महानगरको पुरानो कार्यालय बागदरबार र सिभिल मलको बीचमा रहेको जग्गा भाडामा लिएर दुईतले टहरो बनाएको छ, जहाँ फुटपाथ व्यवसायीहरूले नै स्टल राखेका छन् ।

त्यहीं स्टल राखेकी दोलखाकी शान्ति परियार पनि ‘आज त बाँचियो, भोलि के होला’ भन्दै बस्नुपर्ने बाध्यता हटेको सुनाउँछिन् । ‘फुटपाथमा चार-पाँच चोटि झम्टेको नगर प्रहरीले एकदिन न्युरोड गेटमै भेटेर सामान खोस्यो । मेरो हात उठिहाल्यो’ त्यो दिन दिनभरि बागदरबार लगेर केरकार गरेको स्मरण गर्दै उनले भनिन्, ‘सामान नदिई माफी माग्न लगाएर पठाइदिए । त्यसको दुई दिनसम्म म फुटपाथमै गइनँ ।’

‘त्यो सम्झिंदा कति आनन्द, आनन्द !’ सडकमा बस्दा र स्टलमा बसेर उही मूल्यमा सामान खरिद-बिक्री गर्दा ग्राहकले गर्ने सम्बोधन समेत फरक भएको उनले सुनाइन् ।

मिनी मार्केटको रेखदेख गरिरहेका सहकारी सचिव यमचन्द्र कटुवालका अनुसार यहाँ विगतमा फुटपाथमा व्यापार गर्नेहरूले मात्र स्टल राख्न पाउँछन् । हालसम्म माथिल्लो तल्लामा ६१ वटा स्टल राखिसकेका छन् । ‘पहिलेबाट फुटपाथमा व्यापार गरेकाहरूको सूची तयार गरेर यहाँ स्थान दिएका हौं, ठूला व्यवसाय गर्नेहरूलाई यहाँ स्टल राख्न दिंदैनौं’ सचिव कटुवालले भने, ‘सुरुमा बसेका ६१ जनाले दैनिक भाडाबाहेक अन्य केही खर्च दिनुपर्दैन । यहाँको स्टल किनबेच हुँदैन ।’

यहाँको आफ्नै नियम छ । बिहान ८ बजे अगाडि कसैले स्टल खोल्न पाउँदैनन् भने साँझ ८ बजेपछि अनिवार्य रूपमा स्टल बन्द नै गर्नुपर्ने नियम सबै मिलेर बनाएका छन् ।

प्रत्येक दिनको २०० रुपैयाँ भाडा सहकारीलाई बुझाउनुपर्छ ‘यहाँ समय, स्थान र भाडा सबैलाई बराबर छ, कसैलाई तल-माथि छैन’ कटुवालले भने, ‘प्रत्येक स्टलको लागि खाट र दुई स्टलको लागि बीचमा पर्ने गरी एउटा बत्ती राखिएको छ ।’

काठमाडौं महानगरपालिकाले सहकारीले निर्माण गरेको संरचनाको नक्सा पास गर्दा सहयोग गरे पनि अन्य सबै काम भने फुटपाथ व्यवसायीहरूले नै मिलेर गरेको उनले बताए । सहकारीले बालाजु र भक्तपुरको ठिमीमा पनि त्यस्तै बजार चलाएको छ ।

नयाँबानेश्वर व्यापार व्यवसायी संघले पनि फुटपाथमा व्यापार गर्नेहरूलाई एकीकृत गरेर बजार सञ्चालन गरेको छ । बानेश्वरमा तीन तलामा तरकारी, फेन्सी लगायत सामग्री राखेर बजार सञ्चालन भइरहेको छ । तल्लो तलामा तरकारी सहित अन्य व्यवसाय छ भने माथिल्लो दुई तलामा फेन्सी सम्बन्धी सामग्री छ ।

दैनिक, साप्ताहिक र मासिक रूपमा भाडा तिर्ने गरी फुटपाथ व्यवसायीहरूले यहाँ स्टल राखेका छन् । ‘अगाडिपट्टि महँगो भाडा छ, पछिल्तिर सस्तै छ’ फुटपाथ छोडेर स्टलमा आउँदाको खुसी साट्दै ब्यागको स्टल राखेकी सहनशीला न्यौपानेले अनलाइनखबरसँग भनिन्, ‘मैले राख्न थालेको दुई महिना पुग्न लाग्यो ।’

काठमाडौं महानगरले संकलन गरेको तथ्यांक अनुसार २२ स्थानमा तरकारी बजार सञ्चालन भइरहेको छ । अनामनगर, टुकुचा, जडीबुटी, तीनकुने, शान्तिनगर, गणेशस्थान, नयाँबस्ती, नरेफाँट, नयाँबानेश्वर, सुन्दरबजार, बल्खु, कलंकी मकालु, नारायणचौर, हाँडीगाउँ, रानीबारी, सुकेधारा, सामाखुशी टाउनप्लानिङ, एलआरआई स्कुल अगाडि व्यवस्थित तरकारी बजार पनि सञ्चालनमा छ । व्यक्ति वा समूहले खाली जग्गा भाडामा लिएर खोलिएका यस्ता तरकारी पसलहरूमा दैनिक/मासिक भाडा तिर्ने गरी स्टल राखिएको छ ।

यस्तै असनदेखि इन्द्रचोकसम्म भने व्यक्तिको घर अगाडि बिहान ८ बजेसम्म तरकारी बेच्न दिएको पाइएको छ ।

लामो समयदेखि फुटपाथमा व्यापार गरिरहेकाहरूलाई लक्षित गरेर शहरका विभिन्न स्थानमा खोलिएको व्यवस्थित बजारहरूबारे भने महानगरसँग यकिन तथ्यांक भने छैन ।

बजारलाई व्यवस्थित बनाउन अध्ययन भइरहेको, तर त्यहाँका व्यापारीहरूबाट कर लिने कि नलिने भन्नेबारे पनि निर्णय गरिनसकेको फुटपाथ व्यवस्थापन सम्बन्धी जिम्मेवारी लिइरहेका मेयर बालेन शाहका सचिवालय सदस्य धिरज जोशी बताउँछन् । ‘फुटपाथबाट स्टलमा बसेका व्यवसायीहरू भर्खरै व्यवस्थित हुन खोज्दैछन् अहिले नै उनीहरूलाई कर लगाउने भन्ने कुरा व्यावहारिक हुँदैन कि ?’ यसबारे अध्ययन गरेर मात्र महानगर निर्णयमा पुग्ने जोशीले जानकारी दिए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?