+
+
सरकारको सहुलियत पसल :

उपत्यकामा निःशुल्क होम डेलिभरी, देशभर ९८ बिक्री केन्द्र

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० असोज २१ गते १९:५८

२१ असोज, काठमाडौं । सरकारले आइतबारदेखि देशका ९८ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । दशैँ, तिहार, छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै सुरु गरिएको सहुलियत पसल ४३ दिन (३ मंसिर) सम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

कम्पनीले आइतबार काठमाडौंको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा एक कार्यक्रम गरेर सुपथ मूल्य पसलको औपचारिक सुरुवात घोषणा गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानको सहभागिता रहने सहुलियत पसलमा खाद्यान्न, खाना पकाउने ग्याँस, जिउँदो खसी–च्याङ्ग्रा, गेडागुडी र दलहन, दुग्धजन्य पदार्थ पाइने कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।

उनकाअनुसार सबै प्रकारका सहुलियत पसलमा प्रतिकिलो कम्तीमा २ रुपैयाँदेखि अधिकतम् ५० रुपैयाँसम्म छुट पाइनेछ । ‘सहुलित पसलमा सस्तो, गुणस्तरीय, ताजा खाद्य वस्तुका साथै अर्गानिक खाद्यान्न समेत उपलब्ध हुन्छ,’ सूचना अधिकारी न्यौपानेले भनिन्, ‘सहुलियत पसलमा आउने ग्राहकलाई सन्तुष्ट बनाउने प्रयास भएको छ ।’

वाणिज्य मन्त्रालयकाअनुसार खाद्य, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानको गरेर उपत्यकासहित देशभरका ९८ स्थानमा सहुलियत पसल सञ्चालनमा आउने छ । काठमाडौं उपत्यकामा भने घुम्ती बिक्री केन्द्रसहित निःशुल्क होम डेलिभरीको व्यवस्था छ ।

सहुलियत पसलमा चिनी उपलब्ध नगराएको भन्दै उपभोक्ताले आलोचना गरेपछि अन्तिम समयमा चिनीको जोहो पनि गरिएको छ । थापाथली बिक्री केन्द्रमा मात्रै चिनीको बिक्री सुरु गरिएको हो । प्रतिपरिवार २ किलोका दरले चिनी उपलब्ध गराइने र बिक्री मूल्य प्रतिकिलो ९७ रुपैयाँ तोकिएको छ । साल्ट ट्रेडिङसँग मौज्दात रहेको ३०० टन चिनी ल्याएर बिक्री सुरु गरिएको हो ।

कति पाइन्छ छुट ?

सहुलियत पसलमा कम्तीमा प्रतिकिलो २ रुपैयाँदेखि बढीमा ५० रुपैयाँसम्म छुट पाइने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले दिने छुट फरक फरक छन् । सबै किसिमको चामल (मोटा/मसिनो/लङग्रेन), दालहरु, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा प्रतिकिलो तथा प्रतिलिटर ७ रुपैयाँ छुट पाइने छ ।
कर्णालीको सिमी र गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो र उवामा प्रतिकिलो १० रुपैयाँ छुट दिइको छ ।

कर्णलीको उत्पादन अर्गानिक भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कम्पनीले आयात गर्ने जिउँदो खसी र बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ । अहिले यसको खरिद प्रक्रिया जारी छ । घटास्थाना पछि मात्रै खसी बोका र च्याङ्ग्रा उपलब्ध हुनेछ ।

यस्तै, नुनमा प्रतिकिलो २ रुपैयाँ, खाने तेलमा प्रतिलिटर ७ रुपैयाँ र चिउरामा प्रतिकिलो ७ रुपैयाँ नै छुट पाइने छ । साल्टले अहिले ९७ रुपैयाँ किलोमा चिनी बिक्री गरिरहेको र यसलाई सहुलियत पसलमा पनि निरन्तरता दिइएको छ । तर, चिनी काठमाडौंको थापाथली बिक्री केन्द्रमा मात्रै उपलब्ध छ ।

यो चिनी प्रतिपरिवार २ किलोका दरले बिक्री गरिने छ । यता दुग्ध विकास संस्थानले बिक्री गर्ने घ्यूमा प्रतिकिलो २० रुपैयाँ, पनीरमा प्रति २०० ग्राममा २० रुपैयाँ र पनीर ५०० ग्रामको खरिदमा ५० रुपैयाँसम्म छुट पाइने मन्त्रालयले जनाएको छ ।

यी हुन् देशभरका सहुलियत पसल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले आइतबारदेखि देशभर ९८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपत्यका भित्र काठमाडौंको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालनमा आएका छन् ।

उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङमा सहुलियत पसल सञ्चालनमा आउनेछन् ।

यसैगरी रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सहुलियत पसल सञ्चालनमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र काठमाडौं उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थलबाट सहुलियत पसल सञ्चालन गरेको छ ।

साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीकाअनुसार उपत्यकामा ग्राहकले फोन गरेर बोलाएको टोल तथा स्थानमा कम्पनीले दिन नै तोकेर घुम्ती सेवा उपलब्ध गराउने छ ।

दुग्ध विकास संस्थान डीडीसीले भने लैनचौर, न्यूरोड र खुमलटार, विराटनगर, जनकपुर, हेटौंडा, कोहलपुर, नेपालगञ्ज, अत्तरिया, धनगढी, बुटवल गरी जम्मा ११ स्थानबाट सहुलियत सेवा उपलब्ध गराएको छ ।

काठमाडौं उपत्यकामा फ्री होम डेलिभरी, घुम्ती सेवा पनि

उपभोक्ताको सुविधालाई मध्यनजर गर्दै सरकारी सहुलियतका खाद्यान्न काठमाडौं उपत्यका भित्र भने निःशुल्क होम डेलिभरीको व्यवस्था गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकाअनुसार कम्पनीको अनलाइन वेब सेवा नेपाल फूड डट जीओभी डट एनपीमा गएर अनलाइनमा खाद्यान्न अर्डर गर्न सकिन्छ । एक पटकको अर्डरमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म प्रतिपरिवार अर्डर गरेर अनलाइनबाटै खाद्यान्न खरिद गर्न सकिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने बताउँछिन् ।

यसरी गरिने अनलाइन मागको डेलिभरी भने हाललाई काठमाडौं उपत्यकाको हकमा संस्थानमार्फत हुने डेलिभरी चक्रपथ भित्र मात्रै उपलब्ध हुनेछ । तर, निजी डेलिभरी कम्पनी सस्तोडिलबाट पनि उपभोक्ताले सहुलियत पसलको अनलाइन डेलिभरी सेवा पाउन सक्नेछ र यस्तो डेलिभरी काठमाडौं उपत्यकाभरी निशुल्क रहेको सुवेदीले बताइन् । दुवै प्रकारको डेलिभरीमा थप कुनै अतिरिक्त रकम खर्च नालाग्ने कम्पनीले प्रष्ट्याएको छ ।

‘हाम्रो स्टोरको बिक्री सहुलियत पूर्ण मूल्य जति छ त्यत्तिमै होमडेलिभरी गर्ने सुविधा छ कुनै थप शुल्क लाग्दैन ’ सुवेदीले भनिन् ।

साल्टट्रेडिङको सहुलियत घर तथा टोलमै लिन भने फोन गरेर घुम्ती सेवालाई बोलाउनु पर्नेछ । आफ्नो टोलको ठेगाना दिएर सहुलियत पसलको घुम्ती सेवा माग गर्दै फोन गरेपछि आएका फोनहरुलाई मध्यनजर गर्दै दैनिक घुम्ती पसल सञ्चालन गर्ने साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए ।

‘हाम्रा सबै पसलहरुमा सहुलियत पाइन्छ । यसबाहेक ग्राहकले फोन गेरेर टोलको नाम र ठेगाना टिपाए पछि ती ठाउँमा हामी घुम्ती पसल पनि पठाउँछौं,’ राजभण्डारीले भने ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?