+
+

सहुलियत पसल : हल्ला धेरै, लाभ नगन्य

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० असोज १५ गते १९:१५
फाइल तस्वीर

१४ असोज, काठमाडौं । यस वर्षको दशैं असोज मसान्त (२८ गते) मा सुरु हुन्छ र, कात्तिक दोस्रो साता (९ गते) मा सकिन्छ । अर्को ठूलो चाड तिहार (२५ कात्तिकदेखि सुरु) आउँछ ।

दशैं–तिहारलाई लक्षित गरेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विगतका वर्षहरुमा झैं यो वर्ष पनि देशभर सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णयअनुसार सहुलियत पसलहरु २१ असोजदेखि सञ्चालनमा आउने छन्, जसमा कम्तीमा ७ रुपैयाँदेखि बढीमा ५० रुपैयाँसम्म छुट पाइन्छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीकाअनुसार चामल, दाल, नुन, पिठो, तेल र गेडागुडीमा समेत सहुलियत छ ।

साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका उत्पादनसमेतमा छुट भएकाले कम्तीमा २ रुपैयाँबाट सुरु भएर बढीमा ५० रुपैयाँसम्म छुट सहुलियत पसलमा पाइने छ ।

चामल (मोटा /मसिनो/लङग्रेन) मा प्रतिकलो ७ रुपैयाँ छुट दिइएको छ । मुसुरो, मुग्री र मासको दाल खुल्ला बजारमा भन्दा सहुलियतमा २० रुपैयाँसम्म सस्तो छ । गहुँ, आँटा, पिठो, मैदा, सबै प्रकारका खाने तेल पनि सहुलियतमा छ ।

नुन अन्यत्र भन्दा सहुलियत बजारमा प्रतिकिलो २ रुपैयाँ सस्तो छ भने अन्यत्र १३० रुपैयाँ किलोमा बिक्री भइरहेको चिनी सहुलियत पसलमा ९७ रुपैयाँमा पाइने छ । दुग्ध विकास संस्थानले बिक्री गर्ने घिउमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा प्रति २०० ग्राममा २० रुपैयाँ र पनिर ५०० ग्रामको खरिदमा ५० रुपैयाँसम्म छुट पाइने छ । जुन मूल्यले खुद्रा बजारमा भन्दा यी वस्तुको मूल्य सहुलियत बजारमम कम्तीमा २५ रुपैयाँदेखि १०० रुपैयाँसम्म सस्तो पर्नेछ ।

कहाँ–कहाँ खुल्छन् सहुलियत पसल ?

मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले देशभर ९८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउने छ ।

व्यापार कम्पनीले उपत्यकामा काठमाडौंको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायकमा सहुलियत पसल सञ्चालन गर्नेछ । उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङमा सहुलियत पसल सञ्चालनमा आउनेछन् ।

यसैगरी रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सहुलियत पसल सञ्चालनमा आउने छन् ।

साल्ट ट्रेडिङले उपत्यकाका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसलमार्फत सहुलियत पसल सञ्चालन गर्नेछ । डीडीसीले भने लैनचौर, न्यूरोड र खुमलटार, विराटनगर, जनकपुर, हेटौंडा, कोहलपुर, नेपालगञ्ज, अत्तरिया, धनगढी, बुटवल गरी ११ स्थानबाट सहुलियत सेवा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

लाभ नगन्य

उद्योग मन्त्रालयका अनुसार यस वर्ष सहुलियत पसल सञ्चालनका लागि २ करोड ३२ लाख २० हजार रुपैयाँ खर्च हुनेछ । तर, उपभोत्ताले लाभ भने नगन्य मात्र पाउने देखिएको छ ।

भान्सामा नभई नहुने खाद्यान्न सरकारको सहुलियत पसलमा किन्दा र खुल्ला बजारमा किन्दा हालकै अवस्थामा एउटा परिवारले प्राप्त गर्ने लाभ साह्रै न्यून देखिएको हो ।

२५ वर्षदेखि काठमाडौंमा खाद्यान्नको थोक तथा खुद्रा व्यापार गरिरहेका केशव नेपालले ४ जनाको एउटा परिवारका लागि दशैंमा चाहिने १४ प्रकारका वस्तुको सूची तयार पारिदिएका छन् । र, त्यही सूचीमा भएको खाद्यान्नको खुला बजार र सहुलियत पसलको मूल्यको तुलनात्मक अध्ययन गरेका छौं ।

यसरी हेर्दा सरकारले निक्कै प्राथमिकता दिएको सहुलियत पसलबाट आम उपभोत्ताले पाउने लाभ भने निकै नगन्य देखिन्छ ।

चार जनाको एउटा परिवारले दशैंका लागि खुल्ला बजार र सहुलियत बजारबाट खाद्यान्न खरिद गर्दा जम्मा ८५२ रुपैयाँ मात्रै बचत गर्न सक्छन् ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना पनि सहुलियत पसल सञ्चालनका नाममा सरकारले गर्ने खर्चको तुलनामा आम उपभोक्ताले पाउने लाभ निकै कम भएको बताउँछन् ।

‘यो सहुलित दिएको जस्तो गर्नका लागि मात्रै छ । अहिलेकै मूल्यले बजारमा प्रभावकारी हस्तक्षेप भएको देखिन्न,’ तिमल्सिना भन्छन्, सरकारले बेलैमा सोचोस् ।’

सहुलियत पसलको मुख्य निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने थोरै थोरै गरेर धेरै परिवारले लाभ लिनेगरी सहुलियत पसलको परिकल्पना गरेको दाबी गरेको छ ।

‘सानो सानो लाभ धेरै परिवारमा बाँडिदा ठूलो फरक पर्छ,’ कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदी भन्छिन्, ‘कुन वस्तुमा कति लाभ भन्दा पनि कति हजार परिवारले लाभ लिए भन्ने कुरा ठूलो हो ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?