+
+

विश्वविद्यालयले कसरी पठाए इजरायलमा नेपाली विद्यार्थी ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते २०:११
Photo Credit : Sedot Negev Agriculture Training Center
‘सेडट नेगेव एग्रिकल्चर ट्रेनिङ सेन्टर’मा नेपाली विद्यार्थीहरुको ग्राजुयसन सेरेमोनी

२३ असोज, काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेका थिए । उनीहरु सबै एक महिना पहिले मात्र सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायलस्थित कृषि फार्ममा गएका थिए । हमासले गत शनिबार गरेको हमलामा नेपाली विद्यार्थीहरु पनि हताहती भए ।

यो घटनासँगै हमास विद्रोहीको कब्जामा रहेको गाजा क्षेत्र नजिकै नेपाली विद्यार्थीलाई किन लगियो भन्ने प्रश्न उठेको छ । असुरक्षित क्षेत्रमा नेपाली विद्यार्थीलाई पुर्याइएको र उनीहरुलाई सम्भावित जोखिमबारे पर्याप्त सचेत नगराइएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारको आलोचना समेत गरेका छन् ।

नेपाल र इजरालयबीच केयर गिभरका रुपमा नेपाली नर्सिङ जनशक्तिलाई लैजाने गरी १४ असोज २०७७ मा श्रम सम्झौता भएको थियो । त्यसकै आधारमा अहिले पनि ४ हजार ५०० ‘केयर गिभर’ त्यहाँ कार्यरत रहेको सरकारले बताएको छ ।

त्यहीबेला विश्वकै अब्बल मानने इजरायली कृषि प्रविधि भित्र्याउने उद्देश्यले इजरायलको प्राविधिक सहयोगमा ‘एग्रिकल्चरल सेन्टर अफ एक्सिलेन्सेज’ खोल्ने समझदारी भएको थियो । कम्तीमा ७ वटै प्रदेशमा यस्ता सेन्टर खोल्ने भनिए पनि सरकारले त्यसमा लगानी गरेन । त्यहीकारण इजरायली कृषि प्रविधि सिक्न नेपालीहरु इजरायल नै जानुपर्ने अवस्था रहिरह्यो ।

सरकारी तथ्यांक अनुसार शनिबारको घटना हुनुअघिसम्म २६८ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत थिए ।

सुदूपश्चिम विश्वविद्यालयले पहिलो खेपमा व्यहारेको झड्का

श्रम सम्झौता २०७७  सालमा भए पनि इजरायलले त्यसअघि नै ‘लर्न एन्ड अर्न’ कार्यक्रममा नेपालीहरुलाई लैजाने गरेको थियो । सुरुमा त्रिभुवन विश्वविद्यालयसँग सहमति गरेर कृषि संकायका विद्यार्थीहरुलाई प्रशिक्षार्थी कामदारका रुपमा लैजान थालियो ।

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी इजरायल उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

तर विद्यार्थीहरु उतै लुक्न थालेपछि इजरायल सरकारले केही वर्षसम्म साना किसान बैंकमार्फत प्रशिक्षार्थी कामदार लग्यो । कृषि कर्म सिकेर नेपाल फर्किएपछि त्यही प्रविधिलाई अंगालेर खेती किसानी गर्ने अपेक्षा गरिए पनि धेरैले यहाँ आएर पेशा परिवर्तन गरे ।

त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशुविज्ञान संकायका डीन प्रा.भार्गव धिताल उद्देश्यअनुसार प्रभावकारी नतिजा नआएपछि साना किसानमार्फत कृषि प्रशिक्षार्थी लैजाने कार्यक्रम रोकिएको हुनसक्ने बताउँछन् । ‘सीप मात्रै नभएर सैद्धान्तिक ज्ञान पनि सिकाउने मनसायले लगेको हो, तर त्यसबेला सम्भव नभएपछि रोकिएको हुनसक्छ,’ उनले अनलाइनखबरसँग भने ।

त्यसपछि फेरि विश्वविद्यालयहरुमार्फत कृषि पढेका विद्यार्थीलाई ‘लर्न एन्ड अर्न’ कार्यक्रममा लैजान थालियो । इजरायलले अरु देशसहित नेपालको लागि पनि निश्चित कोटा छुट्याएको छ । नेपालका कृषि पढेका विद्यार्थीहरु काठमाडौंस्थित इजरायली दूतावासको सहजीकरणमा ११ महिनाका लागि  जान पाउँछन् ।

कार्यक्रमका लागि कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन, त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशुविज्ञान संकाय र सुदूरपश्चिम विश्वविद्यालयका इच्छुक विद्यार्थीबाट सम्बन्धित शैक्षिक संस्थाले आवेदन लिने गरेका छन् । त्यसपछि इजरायली दूतावासको सक्रियतामा इजरायलका सम्बन्धित तालिम केन्द्रको प्रतिनिधि आफैंले विद्यार्थी छनोट गरेर लैजाने गरेका छन् ।

तीन वटै विश्वविद्यालयले सम्झौता गरेको ‘एग्रिकल्चर ट्रेनिङ सेन्टर’हरु फरक–फरक छन् । यस्ता ‘एग्रिकल्चर ट्रेनिङ सेन्टर’हरुले नेपाल लगायत विभिन्न देशबाट लगेका कृषिका विद्यार्थीलाई कृषि फार्महरुमा पठाउने गरेका छन् ।

सम्झौताअनुसार ‘एग्रिकल्चर ट्रेनिङ सेन्टर’हरुले विद्यार्थीलाई हप्ताको एक दिन सैद्धान्तिक पढाइ र पाँच दिन काम दिन्छन् । एक दिन बिदा समेत दिने व्यवस्था छ । ११ महिने समयावधि सकिएपछि विद्यार्थीलाई तालिम पुरा गरेको प्रमाणपत्र दिएर फर्काउने गरिएको छ ।

यो वर्ष कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनका ११९ जना, त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशुविज्ञान संकायका ९७ र सुदूरपश्चिम विश्वविद्यालयको ४९ जना विद्यार्थीले इजरायल जाने अवसर पाएका थिए ।

‘सेडट नेगेव एग्रिकल्चर ट्रेनिङ सेन्टर’मा नेपाली विद्यार्थीहरुको ग्राजुयसन सेरेमोनी

‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत सुदूरपश्चिम विश्वविद्यालयले यो वर्ष पहिलो पटक ४९ जना विद्यार्थी पठाएको थियो । विद्यार्थीलाई ‘सेडट नेगेव एग्रिकल्चर ट्रेनिङ सेन्टर’मा पठाइएको थियो । यो ट्रेनिङ सेन्टरले दूतावासमार्फत विश्वविद्यालयमा प्रस्ताव पठाएको थियो । भदौ अन्तिममा मात्र विद्यार्थीहरु गएका थिए ।

तर ट्रेनिङ सेन्टरमार्फत एलुमिन फार्ममा काम गरिरहेका १७ जना विद्यार्थी आक्रमणमा परे । उनीहरुमध्ये  १० जनाको मृत्यु भयो भने चार जना घाइते भएका छन् । दुई जना सुरक्षित छन् भने एक जना अझै सम्पर्कविहीन छन् ।

कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनसहित त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशुविज्ञान संकायको अनुभवलाई आधार बनाएर ढुक्कका साथ विद्यार्थी इजरायल पठाएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशी बताउँछन् । ‘हामीले पहिलो पटक पठाएका थियौं, पहिलो पटकमै यस्तो दुर्घटना भयो,’ उनी भन्छन्, ‘अहिले कतिपय विद्यार्थी सम्पर्कमा छन्, कतिपयसँग सम्पर्कको प्रयास भइरहेको छ ।’

रामपुर र त्रिविका विद्यार्थी सुरक्षित

कृषि तथा वन विश्वविद्यालय रामपुरले आफ्ना विद्यार्थी अहिलेसम्म सकुशल रहेको जानकारी दिएको छ । गएकाहरुमध्ये केही युद्ध क्षेत्र नजिक परेका थिए । बंकरभित्र रहेका ३४ जनामध्ये ८ जना सुरक्षित स्थानमा सारिँदैछ । अरुलाई पनि सार्ने तयारी भइरहेको जानकारी आएको विश्वविद्यालयले जनाएको छ ।

इजरायलमा गएको विश्वविद्यालयको यो दोस्रो समूह हो । विश्वविद्यालयले १४ जेठ २०७९ (२३ मे २०२२) मा इजरायलको सरकारी तालिम केन्द्र ‘रमाद नेगव इन्टरनेशनल ट्रेनिङ सेन्टर फर एडभान्स एग्रिकल्चर’सँग सम्झौता गरेको थियो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका योजना निर्देशनालयका योजना निर्देशक डा.शिवचन्द्र ढकालका अनुसार स्नातक तहको अन्तिम वर्षको विद्यार्थीलाई पठाउने गरिएको छ । गत वर्ष एक सय जनाको कोटामा धेरै विद्यार्थीको आवेदन परेको र गएका विद्यार्थीहरुबाट सकारात्मक प्रतिकृया आएकाले विश्वविद्यालयले उक्त तालिम केन्द्रलाई कोटा थप गर्न अनुरोध गरेको उनले स्मरण गरे । यसैकारण यो वर्ष १२७ जनाको कोटा पाएको थियो ।

गत वर्ष फ्याकल्टी अफ एग्रिकल्चर, फ्याकल्टी अफ एनिमल साइन्स, भेटेरिनरी साइन्स एन्ड फिसेरी र फ्याकल्टी अफ फोरेस्ट्रीका विद्यार्थी लगेपनि कतिपय विद्यार्थीले पढाइ अनुसारको काम र तालिम नमिलेको गुनासो गरेका थिए । विद्यार्थीको गुनासोपछि विद्यार्थी पठाउने सम्झौता अघि तालिम केन्द्रसँग कुरा गरेको र विद्यार्थी जानु अघि विद्यार्थी कुन ठाउँको कुन कृषि फार्ममा काम गर्ने हो भन्ने जानकारी दिएर लगिएको विश्वविद्यालयको दाबी छ ।

इजरायलमा रहेका कृषि तथा वन विज्ञान विश्वविद्यालयका ११९ जना विद्यार्थीमध्ये ११३ जना विद्यार्थी यसै वर्ष गएका हुन् । गत वर्ष गएका ९३ जनामध्ये ७ जना विद्यार्थी मात्रै फर्किन बाँकी छ । सात जनामध्ये एक जना छात्रा त्यहीँको युवकसँग विवाह दर्ता गरेर बसेको जानकारी विश्वविद्यालयले पाएको छ ।

इजरायलको कृषि फर्ममा विद्यार्थीहरू

दुई जना विद्यार्थी ‘टिम लिडर’ को रुपमा सहयोग गर्न बसेको र चारजना भने गैरकानुनी रुपमा इजरालयमै लुकेका छन् । ‘उद्धारका लागि सबैको विस्तृत विवरण टिपाएका छौं, चार जना विद्यार्थीको चाहिँ नाम मात्रै टिपाएका छौं,’ योजना निर्देशक डा.ढकाल भन्छन् । उनीहरु सम्पर्कमा नआएकाले कहाँ छन् भन्ने जानकारी नभएको उनले बताए ।

त्रिविको कृषि तथा पशुविज्ञान संकायले पनि आफ्ना सबै विद्यार्थी सुरक्षित रहेको जनाएको छ । हाल दक्षिण क्षेत्रमा युद्ध चलिरहे पनि त्रिविका विद्यार्थी उत्तरी क्षेत्रमा छन् ।

त्रिविले त्रिविले गत वर्ष ‘सेडट नेगेव एग्रिकल्चर ट्रेनिङ सेन्टर’सँग सम्झौता गरेर गत वर्षदेखि नै त्यहाँ विद्यार्थी पठाउन थालेको हो । कृषि तथा पशुविज्ञान संकायका डीन प्रा.भार्गव धिताल गत वर्ष १०० सय जनाको माग भएपनि ९५ जना मात्रै गएको बताउँछन् । गत वर्ष गएका विद्यार्थीहरुको प्रतिकृया बुझेर यो वर्ष पनि ‘किन्नरेट कलेज इजरायल’सँग सम्झौता गरेर ९९ जनालाई इजरायलमा पठाइएको प्रा. धितालले जानकारी दिए ।

इजरायलमा रहेका विवश्वविद्यालयका अर्का एक विद्यार्थी भने गत वर्ष नै गएका हुन् । यसअघि नेपालका केही विद्यार्थीहरु नफर्किएपछि संस्थाले कार्यक्रमको नाम नै संशोधन गर्दै ‘लर्न अर्न एन्ड रिटर्न’ बनाएको समेत डिन प्रा.धितालले बताए ।

सुरक्षामा प्रश्न

शनिबारको घटनापछि भने ‘लर्न अर्न एन्ड रिटर्न’ कार्यक्रममा पठाइने नेपाली विद्यार्थीहरुको सुरक्षामा प्रश्न उठेको छ । इजरायलमा गएर फर्किएका नेपालीहरुका अनुसार केयर गिभरहरु इजरायली नागरिकसँगै घरभित्र काम गर्ने भएकाले तुलनात्मक सुरक्षित मानिन्छन् । तर, कृषि फार्ममा सिक्न र कमाउन पुगेकाहरु बाहिर काम गर्नुपर्छ, कतिपय त गाजा क्षेत्रमा छन् ।

इजरायलमा सुरक्षा थ्रेटको सूचना आउनासाथ आफ्ना नागरिकलाई सूचना दिन साइरन बजाउने गरिएको छ । त्यस्तो बेला आफ्नो जनिकको बंकरमा जानुपर्छ । तर सधैं बंकरमा पुग्ने समय हुँदैन ।

शनिबार त इजरायली गुप्तचरलाई समेत माथ दिने गरी हमासले मिसाइल आक्रमण गरेको थियो । त्यसैले आगामी दिनमा लर्न एण्ड अर्न कार्यक्रममा विद्यार्थी पठाउँदा नेपालले सुरक्षा चासोलाई पनि ध्यान दिनुपर्ने देखिएको जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?