+
+

बिरामीलाई किन आईसीयूमा राखिन्छ ?

डा. अनाम प्याकुरेल, जनरल प्राक्टिस्नर डा. अनाम प्याकुरेल, जनरल प्राक्टिस्नर
२०८० असोज २३ गते १४:३६

कुनै गम्भीर समस्या भएको बिरामीलाई आईसीयूमा राखेर उपचार गरिन्छ । तर किन आईसीयूमै भन्ने कुरा भने आम मानिसलाई थाहा नहुन सक्छ । आईसीयूको पूरा अर्थ इन्टेन्सिभ केयर युनिट अर्थात् सघन उपचार कक्ष हो ।

शरीरका अंगहरुले राम्रोसँग काम गर्न नसकेर सिकिस्त अवस्थामा पुगेका बिरामीलाई आईसीयूमा राखिन्छ । शरीरका मुख्य अंगहरु जस्तै मुटु, फोक्सो, टाउको, आन्द्रालगायतमा केही समस्या हुँदा पनि आईसीयूमा राखिन्छ ।

रक्तचाप कम भएर औषधि प्रयोग गर्नुपर्ने, मुटुरोगी, निमोनिया भएर भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीलाई आईसीयूमा राखिन्छ । नियमित रूपमा चिकित्सकको निगरानीमा राख्नुपर्ने बिरामीलाई पनि आईसीयूमा राखेर उपचार गरिन्छ ।

किनकि यस्ता रोगले विस्तारै शरीरका अन्य अंगमा पनि असर गर्न थाल्यो भने त्यो अंगले गर्नुपर्ने काम गर्न छोड्छ, जसलाई मेडिकल भाषामा अर्ग्यान फेल भनिन्छ । यस्तो भएमा बिरामी अझ सिकिस्त हुने जोखिम हुन्छ । त्यसैले जुन अंगले काम गर्न छोडेको छ, त्यसलाई मद्दत पुर्‍याउन उपकरण जडान गरेर आईसीयूमा राखेर उपचार गरिन्छ ।

जनरल वार्डमा किन यस्ता बिरामीको उपचार गर्न सकिंदैन ?

गम्भीर बिरामीलाई सेकेण्ड-सेकेण्डमा हेरबिचार गर्नुपर्ने हुन्छ । रोगअनुसार उपचार गर्नुपर्ने हुन्छ । अन्य रोगका बिरामीबाट टाढा राख्नुपर्ने हुन्छ । किनकि यसले गर्दा बिरामीको अवस्था अझ बिग्रिने वा संक्रमण हुने जोखिम हुन्छ । साथै बिरामीको हरेक क्रियाकलाप पनि निगरानी गर्नुपर्ने हुन्छ । यी सबै कुरा जनरल वार्डमा सम्भव नहुने भएकाले आईसीयूको आवश्यकता पर्छ ।

आईसीयूमा अक्सिजन स्याच्युरेसन, ब्लड प्रेसर, ईसीजीको सेकेण्ड-सेकेण्डको अवस्था निगरानी गरिएको हुन्छ, जुन जनरल वार्डमा सम्भव हुँदैन । जस्तै, कसैको शरीरमा अक्सिजन स्याच्युरेसन घट्यो भने तुरुन्तै अक्सिजन पूर्तिको लागि भेन्टिलेटरमा राख्न सकिन्छ । त्यस्तै ब्लड प्रेसर घट्दै गएको छ भने आइना ड्रक चलाउनुपर्ने हुन्छ । मुटुको चाल गडबडी, जसलाई सडेन्ट कार्डियक अरेस्ट जसमा मुटु अचानक र अप्रत्यासित रूपमा पम्प गर्न बन्द हुँदा हुन्छ । यस्तो भयो भने मस्तिष्क र अन्य अंगमा रक्त प्रवाह बन्द हुन्छ ।

त्यसैले गम्भीर बिरामीलाई आईसीयूमै राखेर उपचार गर्ने गरिन्छ ।

(काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डा. प्याकुरेलसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?