+
+

दयाहाङ र मिरुनाको शीर्ष भूमिका रहने फिल्म ‘लोकल हिरो’ निर्माणको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १६:५४

काठमाडौं । ‘सम्बोधन’ र ‘ग्याङस्टर ब्लुज’पछि अनन्या फिल्म्सले तेस्रो फिल्मको रुपमा ‘लोकल हिरो’ निर्माणको घोषणा गरेको छ । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहने फिल्मले मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको छ ।

निर्माता सरोज न्यौपानेले यो फिल्म आगामी फागुन २५ गते रिलिज हुने जनाए । रोमान्टिक–कमेडी–सोसल ड्रामा जनरामा बन्ने यो फिल्मलाई बलिउडका ठूला फिल्ममा काम गरिसकेका विश्वास तिमल्सिना र राज ऋषिले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।

तिमल्सिनाले प्रियंका चोपडाको फिल्म कम्पनी पर्पल पिबल पिक्सर्चले निर्माण गरेको फिल्म ‘पाहुना : द लिटिल भिजिटर्स’मा संवाद लेखकको रुपमा काम गरेका छन् । साथै ‘जाने तु या जाने ना’ फेम्ड निर्देशक अब्बास टायरवालाको सहायक निर्देशक भएर काम गरिसकेका छन् ।

उनले फेन्टाम, रिलायन्स, अपालज र जी फाइभजस्ता बलिउड निर्माण कम्पनीसँग सहायक लेखकको रुपमा काम गरेको विवरणमा जनाइएको छ । राज ऋषिले चाहिं इरफान खान स्टारर चर्चित फिल्म ‘द लन्च बक्स’ निर्देशक रितेश बत्राको सहायक निर्देशकको रुपमा काम गरेका छन् ।

तिहारलगत्तै छायांकन सुरु हुने यो फिल्मको बजेट तीन करोड रुपैयाँ हुने जनाइएको छ । काठमाडौं, काभ्रेपलाञ्चोक र झापा जिल्लामा फिल्म छायांकन तयारी छ । अभिनेता दयाहाङ राईले ‘सम्बोधन’पछि अनन्या फिल्म्स ब्यानरसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन् ।

यो ब्यानरबाट फागुनमा अनमोल केसी स्टारर ‘जेरी : अनटप’ र २०८१ सालमा दीपकराज गिरीसँग एक अनटाइटल फिल्मको निर्माण हुँदैछ । ‘हामी यो प्रोजेक्टलाई लिएर निकै उत्साहित छौं । अन्य कलाकार र कुरा पछि सार्वजनिक हुनेछ,’ निर्माता न्यौपानेले अनलाइनखबरसँग भने ।

दयाहाङ राई यतिबेला रामबाबु गुरुङको ‘डिग्री माइला’मा व्यस्त छन् भने मिरुना मगर ‘रंगेली’मा । यी दुई जनाले कबड्डी ४, जारी र नांगो गाउँमा स्क्रिन सेयर गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?