+
+

काठमाडौंका सरकारी वकिल नेउपानेको सरुवा, नयाँ प्रमुखमा श्रेष्ठ सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १७:५४

२३ असोज, काठमाडौं । न्याय सेवा आयोगले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ ।

सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेको सरुवा गरेर उनको ठाउँमा महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ पठाइने भएको हो ।

नेउपानेको महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गर्ने आयोगको निर्णय छ ।

न्याय सेवा आयोगको आइतबार बसेको बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सरकारी वकिलहरुको सरुवा गर्दा उनीहरुको जिम्मेवारी हेरफेर गर्न सिफारिस गरेको हो ।

महान्यायाधिवक्ताको कार्यालयका एक अधिकारीका अनुसार, राजतत्रांकित प्रथम श्रेणीका अधिकारीहरुको सरुवा सम्बन्धी निर्णय गरेर आयोगले मन्त्रिपरिषद्लाई सफारिस गर्छ । मन्त्रिपरिषद्बाट निर्णय भएपछि यो कार्यान्वयनमा आउँछ ।

सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख नेउपानेसँग गृह प्रशासन रुष्ट थियो । विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणदेखि सतहमा देखिएको असमझदारी ललितानिवास जग्गा प्रकरणसम्म आउँदा थप चर्किएको थियो ।

नेउपानेले ललितानिवास जग्गा प्रकरणलाई संगठित अपराधको कसूरमा मुद्दा नचलाउने निर्णय गरेका थिए । ६० दिनसम्म आरोपीलाई थुनेर अन्तिममा सरकारी कागजात कीर्तेमा मात्रै मुद्दा चलाउने निर्णय भएको थियो ।

सरकारी स्रोतका अनुसार, नेउपानेलाई ललितानिवास जग्गा प्रकरणको फाइल बुझाउनु अगावै सरुवा गर्ने तयारी थियो । तर, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरुवा रोकेका थिए

सूची अनुसार, उच्च सरकारी वकिलको कार्यालय, पोखराका नारायणबहादुर थापाको उच्च सरकारी वकिलको कार्यालय, विराटनगरमा सरुवा गर्न सिफारिस गरिएको छ ।

उच्च सरकारी वकिलको कार्यालय, जनकपुरका यदुनाथ शर्माको उच्च सरकारी वकिलको कार्यालय, पोखरामा सरुवा गर्न सिफारिस गरिएको छ ।

उच्च सरकारी वकिलको कार्यालय विराटनगरका सहन्यायाधिवक्ता कोषहरि निरौलाको उच्च सरकारी वकिलको कार्यालय, जनकपुर सरुवा गर्ने निर्णय भएको छ भने उच्च सरकारी वकिलको कार्यालय, आखलढुंगा दरबन्दी भइ काजमा महान्यायाधिवक्ताको कार्यालयमा रहेकाका हरिशंकर ज्ञवालीको दरबन्दी मिलान गर्न भनिएको छ ।

आयोगले राजपत्राङ्कित द्वितीय श्रेणीका ४२ जना सरकारी वकिलको पनि सरुवा गरेको छ ।

हेर्नुस् न्याय सेवा आयोगले गरेको सरुवा र पदस्थान सम्बन्धी निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?