+
+

विमानस्थलमा विद्यार्थी कुरिरहेका नगर प्रमुख

दिपेश शाही गौरव पोखरेल दिपेश शाही, गौरव पोखरेल
२०८० असोज २६ गते ७:२९
कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा पदम धामी, रमेशबहादुर कार्की र नितिन भण्डारीलाई विमानस्थलमा स्वागत गरेपछि ।

२६ असोज, काठमाडौं । इजरायलबाट नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा आगमन कक्षमा पर्खिरहेका थिए, स्वदेशबाट फर्किएका विद्यार्थीका अभिभावक र आफन्तहरू । त्यही भीडमा थिए, कृष्णपुर नगरपालिका कञ्चनपुरका नगरप्रमुख हेमराज ओझा ।

खादा र माला हातमा बोकेर बेग्र पतीक्षामा रहेका उनी सुदूरपश्चिम विश्वविद्यालय टीकापुरमा अध्ययनरत आफ्नो पालिकाका तीन जना विद्यार्थीलाई देख्नेबित्तिकै खुशीले मुस्कुराए ।

विमानस्थलका सुरक्षाकर्मीसँग अनुरोध गरेर एराइभल कक्षभित्रै पुगेर उनले क्रमशः तीनैजनालाई अंकमाल गरेर खादा लगाइदिए । ‘आफ्नै पालिकाका भाइहरू पनि परेका छन् भनेपछि घटना भएकै दिन फर्किने योजनालाई क्यान्सिल गरेर यतै बसिरहें । उनीहरू सुरक्षित छन् भने पनि युद्ध भइरहेको ठाउँमा केही नराम्रो होला कि भन्ने चिन्ता लागिरहृयो’, नगरप्रमुख ओझाले भने, ‘परराष्ट्रमन्त्री हाम्रै क्षेत्रको हुनुभएकाले उहाँसँग पनि सोधपुछ गरिरहें । मलाई जत्तिकै चिन्ता उहाँलाई पनि थियो । नियमित कुरा भएकाले धेरै ‘रिस्क’ छैन भन्ने थाहा पाएको थिएँ ।’

त्यसपछि पनि उनी नगरको कामका कारण फर्किनु पर्ने थियो । बुधबार यहाँबाट उद्धार गरिएका विद्यार्थीलाई ल्याउन हवाइजहाज जाने भनेपछि उनी सँगै लिएर जाने भनेर यतै बसे । ‘मैले नगरको तर्फबाट केही गरिरहनु परेन, सरकार र परराष्ट्र मन्त्रालयले सबै गरेपछि पर्खिएर बसें । भाइहरूलाई शान्त्वना दिइरहेँ’, उनी भन्छन्, ‘उहाँहरू आएपछि लिएर जाउँला भनेर यतै बसें । अहिले भेट हुँदा खुशी लाग्यो । अब आफूसँगै लिएर जान्छु ।’

नितिन भण्डारीले भने, ‘उहाँ (मेयर)ले सम्पर्क गरिरहनु भयो । उहाँ हाम्रो बारेमा नियमित चासो लिइरहनु हुन्थ्यो । अनि ढुक्क हुन्थ्यौं । उहाँसँग सकेसम्म सम्पर्कमा रहृयौं ।’

काठमाडौंमा पनि बसोबास भएका नगरप्रमुख ओझा व्यक्तिगत काममा काठमाडौं आएका थिए । यहाँ पुगेकै दिन उनले इजरायलमा आक्रमण भएको र सुदूरपश्चिम विश्वविद्यालयमा पढ्ने कञ्चनपुरका विद्यार्थी पनि उक्त घटनामा परेका छन् भन्ने थाहा पाए । त्यसपछि को-को परेका छन् भनेर खोजी गर्ने क्रममा उनले आफ्नै पालिकाका तीनजना पनि छन् भन्ने जानकारी पाएका थिए ।

सुदूरपश्मि विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत अन्य विद्यार्थीसँगै कृष्णपुर नगरपालिकाका तीनजना पदम धामी, रमेश बहादुर कार्की र नितिन भण्डारी पनि परेका थिए । नगर प्रमुख ओझाले उनीहरूको अवस्थाबारे काठमाडौंमा बसेर निरन्तर जानकारी लिने र परिवारलाई शान्त्वना दिने काम गरिरहे ।

इजरायलबाट फर्किंदा नगरप्रमुखले गरिरहेको प्रतिक्षा र आफू संकटमा परेको बेलामा दिएको चासोले उनीहरूलाई गुन लगाएको स्पष्टै देखिन्थ्यो ।

‘मेयरले धेरैपटक कल गर्नु भएको थियो । हामीले रिसिभ गर्ने अवस्था नै थिएन । कहिले नेटले काम गर्थेन । बिजुली पनि काटिएको थियो । हामी भागेर ज्यान बचाउनु पर्ने थियो । उहाँको मात्रै नभएर घर परिवार, साथी, भाइ कसैको पनि म्यासेजको रिप्लाइ गर्न सकेनौं’, तीनजना मध्येका एक नितिन भण्डारीले भने, ‘तर उहाँले सम्पर्क गरिरहनु भयो । उहाँ हाम्रो बारेमा नियमित चासो लिइरहनु हुन्थ्यो । अनि ढुक्क हुन्थ्यौं । उहाँसँग सकेसम्म सम्पर्कमा रहृयौं ।’

उनीहरू मध्येका रमेशबहादुर कार्की १२ सेप्टेम्बरमा र पदम धामी र नितिन भण्डारी १३ सेप्टेम्बरमा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका थिए । पुगेको एक महिना नबित्दै आततायी घटना भएपछि आत्तिएका उनीहरू सरकारको पहलमा नेपाल आइपुगेपछि खुशी देखिन्थे ।

‘नेपाल आइपुग्दा एकदमै खुसी लागेको छ । परराष्ट्रमन्त्री र मेयर दुवै जनाप्रति खुशी छौं । बाहिर जे जस्तो भने पनि उहाँहरू दैनिक भिडियो कल गरेर हामी गरिरहेका छौं, नआत्तिनु भनिरहनु हुन्थ्यो । म यहीँ बसिरहेको छु, भनेर भन्नुहुन्थ्यो’, उनीहरू भन्छन्, ‘हामी तीन दिनसम्म बंकरमा बस्यौं । त्यसपछि इजिप्टको बोर्डरमा सेफ छ भनेर त्यहीँ गयौं । तर यताबाट उहाँहरूसँग भइरहेको नियमित कुराकानीले आश्वस्त भएर बस्यौं ।’

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर 

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?