+
+

कांग्रेस वडाध्यक्षद्वारा भरतपुरको कार्यपालिका बैठक बहिष्कार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १५:१९

२६ असोज, चितवन । चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिका बैठक कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले बहिष्कार गरेका छन् ।

आज शुक्रबार बस्ने भनिएको कार्यपालिकाको ८६ औं बैठक उनीहरूले बहिष्कार गरेका हुन् ।

भरतपुर महानगपालिका बडा नं. ३ मा रहेको लायन्स क्लव अफ चित्रवनले अस्पताल चलाउने प्रयोजनका लागि लिएको जग्गामा बनेको भवन बालकुमारी कलेजले भोगचलन गरेपछि महानगरले हटाएको विषयलाई लिएर उनीहरूले बैठक बहिष्कार गरेको जनाएका छन् ।

कांग्रेसबाट निर्वाचित वडा नं. १० का वडाध्यक्ष परमेश्वर खनालले महानगर बैठकले सार्वजनिक जग्गामा बनेका संरचना सबै हटाउने निर्णय गरे पनि अन्यत्र नहटाएर बालकुमारी कलेजले उपयोग गरेको भवन मात्रै खाली गरेको आरोप लगाए ।

मेयरले मनपरि ढंगले २१ जना कार्यकर्ता भर्ती गरेको, भरतपुर भ्रमण वर्ष २०२४ को प्रचारप्रसारमा आफ्नो मात्रै गुणगान गाएकोले बैठक बहिष्कार गरिएको उनले बताए । मेयरले समितिहरू बनाउँदा पनि एकलौटी गरेको कांग्रेसका वडाध्यक्षहरुको आरोप छ ।

नगरप्रमुखका प्रेस विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीले भने कांग्रेसका वडाध्यक्षसहितको ८०औं बैठकले कलेजले गैरकानुनी रूपमा चलाएको भवन खाली गर्ने निर्णय गरेको भन्दै अहिले यसलाई अनावश्यक ढंगले विवादमा ल्याइएको बताए ।

महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ । केही दिन अगाडि नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नं. २४ का वडाध्यक्षसहितका पदाधिकारी माओवादीमा प्रवेश गरेपछि कांग्रेस रिसाएको स्रोतको भनाइ छ । पार्टी प्रवेश कार्यक्रम नगर प्रमुख रेनु दाहालको उपस्थितिमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?