+
+

फिल्म हलमा झुम्मिए चिनियाँ महिला, अर्थतन्त्रमा बक्स अफिसको टेको

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते ११:३२

चिनियाँ अर्थतन्त्र अहिले सुस्ताइरहेको छ तथापि पछिल्लो केही महिनादेखि त्यहाँ चलचित्र हलहरुले भने कीर्तिमानी व्यापार गरिरहेका छन् । स्वदेशी फिल्म हेर्नका लागि पछिल्ला महिनाहरुमा खासगरी चिनियाँ युवतीहरुको भीड फिल्म हलमा लाग्ने गरेको छ ।

गत जुन महिनादेखि सेप्टेम्बर सम्मको चार महिनाको अवधिमा चिनियाँ बक्स अफिसले कुल २३ अर्ब ४४ करोड युआन अर्थात् तीन अर्ब २० करोड डलर संकलन गर्न सफल भएको छ ।

चीनका दुईवटा मुख्य बक्स अफिस ट्रयाकिङ एपहरु डेंगाटा र माओयानको तथ्यांक अनुसार यो रकम चिनियाँ बक्स अफिसमा चार महिनाको अवधिमा संकलित सबैभन्दा ठूलो रकम हो ।

चीनमा जुन देखि अगष्ट महिनासम्मको अवधि परम्परागत रुपमै वर्षभरमै धेरै फिल्म टिकट बिक्री हुने सिजन हो । यो पटकको उक्त ग्रिस्ममा २० अर्ब ६० करोड युआन अर्थात् दुई अर्ब ८० करोड डलरको फिल्म टिकट बिक्री भएको छ ।

यसअघि सन् २०१९ मा उक्त सिजनमा १७ अर्ब ८० करोड युआन अर्थात् दुई अर्ब ४० करोड डलरको फिल्म टिकट बिक्री भएको थियो ।

चीनमा यो जुनदेखि सेप्टेम्बर सम्मको चार महिनामा ५७ करोड मानिसहरु चलचित्र हेर्नका लागि सिनेमाघर गएका छन् र त्यसमध्ये अधिकांश महिला रहेका छन् ।

चीनमा यो अवधिमा सर्वाधिक व्यापार गर्न सफल शीर्ष पाँच फिल्मका ६१ प्रतिशत दर्शक महिला रहेका छन् । यो पनि नयाँ कीर्तिमानी तथ्यांक रहेको डेंगटाले जनाएको छ । त्यस्तै चलचित्रका दर्शकमध्ये आधाजसो २० देखि २९ वर्षको उमेर समूहका रहेका छन् ।

तथ्यांक अनुसार चीनका स-साना सहरहरुमा चलचित्रका दर्शको संख्या यो वर्ष उल्लेख्य बढेको छ

अन्ततः चिनिया अर्थतन्त्रमा बक्स अफिसको किर्तिमान दुर्लभ चम्किलो विन्दुको रुपमा देखा परेको छ । कोभिड महामारीका कारण तीन वर्षसम्म जारी विभिन्न बन्देजहरु सकिएसँगै प्रारम्भिक रुपमा पुनरागमन गरेको चिनिया अर्थतन्त्रले पछिल्लो समयमा गति गुमाएको छ । विश्लेषकहरुका अनुसार अर्थतन्त्रको कठीन समयमा समेत चलचित्र क्षेत्र फस्टाउने गरेको इतिहास छ किनकि चलचित्रले अपेक्षाकृत रुपमा कम मूल्यमा उम्किने बाटो प्रदान गर्दछ ।

युएस चाइना इन्स्टिच्यूटमा राजनीति शास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक स्टान्ली रोजेन भन्छन्, ‘चीनमा आवास तथा कार जस्ता चिजको उपभोग निकै घटेको छ । तरपनि उपभोक्ताहरुले चलचित्र हेर्न जानका लागि भने खर्च गर्न सक्दछन् । यसले डिप्रेसनको अवस्थाबाट मस्तिष्कलाई बाहिर ल्याउने गर्दछ।’

दोस्रो त्रैमासिकमा चीनको कूल गार्हस्थ्य उत्पादन पहिलो त्रैमासिकको तुलनामा जम्मा ०.८ प्रतिशतले वृद्धि भएको छ ।

चिनियाँ घरपरिवारहरुले आफ्नो ८० प्रतिशत सम्पत्ति जम्मा गर्ने घरजग्गा बजारमा भने निरन्तर रुपमा गिरावट आइरहेको छ । भविष्यका बारेमा बढ्दो अनिश्चितताका बीच मानिसहरुले आफुसँगै नगद थुपारिरहेका छन् ।

प्राध्यापक रोजेन चीनको अहिले अवस्थालाई सन् १९३० को आर्थिक महामन्दीको बेलाको अमेरिकासँग तुलना गर्दछ् । त्यसबेला पनि अमेरिकीहरुसँग पैसा थिएन तर फ्रेड एस्टाएर र गिन्जर रोजर्स जस्ता स्टारहरुले अभिनय गरेका चलचित्रहरुको बक्स अफिसको कमाइ भव्य भएको थियो ।

शुद्ध पलायनवाद

पछिल्ला महिनाहरुमा विश्वव्यापी बक्स अफिसमा हलिउड फिल्महरु बार्बी र ओपनहाइमर हावी हुँदा चीनमा भने स्वदेशी चलचित्रहरु नै सर्वाधिक लोकप्रिय रहे । त्यसमा क्राइम थ्रिलर चलचित्र नो मोर बेट्स, रोमान्टिक रहस्यमय चलचित्र लस्ट इन द स्टारका साथै Creation of the Gods I: Kingdom of Storms चलचित्र निकै सफल रहे ।

सांघाइस्थित एक ग्यालरी सहायक २३ वर्षीया पेरी पेंग यो गि्रस्मयाममा आफुले हेरेका चिनिया चलचित्रहरुको गुणस्तर देख्दा आफु अचम्मित भएको बताउँछिन् ।

उनी भन्छिन्, ‘हामीले लामो समयदेखि यस्ता अति उत्कृष्ट घरेलु चलचित्रहरु देखेका थिएनौँ । स्वदेशी चलचित्र समेत यतिधेरै राम्रा हुन्छन् भन्ने कुराले हामी आश्चर्यचकित छौं ।’

यो वर्ष चिनियाँ बक्स अफिसमा अमेरिकी फिल्मको हिस्सा केवल १४ प्रतिशत मात्र रह्यो जुन विश्वमै दोस्रो ठूलो हो । यदि वर्षभरि नै यही ट्रेण्ड रहेमा चिनियाँ बक्स अफिसमा हलिउड फिल्मको हिस्सा एक दशककै सबैभन्दा कमजोर रहनेछ

आफूले बार्बी तथा ओपनहाइमर फिल्म समेत हेरेका भए पनि या वर्षको लागि आफूलाई सर्वाधिक मन परेको चलचित्र भने Creation of the Gods I : Kingdom of Storms रहेको उनी बताउँछिन् । यो १६ शताब्दीको चिनिया आख्यानमा आधारित मार्सल आर्टस् फन्टासी फिल्म हो ।

उनका अनुसार सन् २००० पछि जन्मेको आफ्नो पुस्ता उपभोगको प्रमुख शक्ति बनिरहेको छ र उनीहरुले गर्ने उपभोगको शैली पनि बदलिएको छ ।

उनी भन्छिन्, ‘हामी भविष्यको बारेमा चिन्ता नै नगरी वर्तमानमा बाँच्न चाहन्छौं । हामी मध्ये कतिपयले त सामाजिक सुरक्षाको भुक्तानी समेत गर्न चाहँदैनौं । हामीले त सकेजति धेरै जीवनको मज्जा लिन र रहेक दिनलाई भरपूर उपयोग गर्न चाहन्छौं ।’

पेरीकी बहिनी पेन्सी पेंग हंगकंगस्थित वित्तिय उद्योगमा काम गर्छिन् । उनका अनुसार चलचित्र हेर्नु सस्तो पर्दछ र यसले छोटो समयका लागि भए पनि आफ्ना समस्याहरु भुल्ने मौका प्रदान गर्दछ ।

उनी भन्छिन्, ‘हाम्रा लागि कार तथा घरजस्ता कुराहरु निकै टाढाका चिज हुन् । यस्तो लाग्छ कि ती वस्तुहरु हाम्रो नियन्त्रण भन्दा बाहिर छन् । हाम्रो जीवन निकै दुखी बनिसकेको छ । त्यसैले यस्तोमा आफूलाई खुसी बनाउने कुरामा किन नरमाउनु ?’

तथ्यांक अनुसार चीनका स-साना सहरहरुमा चलचित्रका दर्शको संख्या यो वर्ष उल्लेख्य बढेको छ ।

पेकिंग विश्वविद्यालयका प्राध्यापक जुगुआंग चेन भन्छन्, ‘अर्थतन्त्र अहिले समस्यामा छ । उपभोक्ताको दृष्टिकोणबाट न्यून तथा मध्यम आय भएका दर्शकका लागि फिल्म हेर्न जानु उपभोगको सबैभन्दा उपयुक्त माध्यम बनिरहेको छ । उनका अनुसार चलचित्रहरुको गुणस्तरमा भएको सुधार तथा विविधताले पनि यो गि्रष्म याममा दर्शकको संख्या बढ्न सहयोग गर्यो । यो पटकको सर्वाधिक सफल चिनिया चलचित्र नो मोर बेट्सले बक्स अफिसमा ३ अर्ब ५२ युआन संकलन गर्न सफल भयो । यो फिल्मको कथावस्तु न्यून आय भएका दर्शकसँग मिल्दोजुल्दो थियो ।’

महिलाले उकासेको बक्स अफिस

चीनमा विद्यमान लैंगिक असन्तुलनका बीच महिलाकै कारण देशको बक्स अफिसमा छाएको पछिल्लो बहार आश्चर्यजनक छ । सन् २०२२ को तथ्यांक अनुसार चीनमा लैंगिक दर १०४।७ बाट १०० मा झरेको छ ।

चीनमा सर्वाधिक महिला दर्शक तान्न सफल फिल्म चाहीँ लस्ट इन द स्टार रह्यो । वास्तविक घटना तथा महिलावादी सन्देश भएको यो चलचित्रका कूल दर्शकमध्ये ६७ प्रतिशत महिला थिए ।

मर्निंग कन्सल्ट कम्पनीका वरिष्ठ विश्लेषक केभिन ट्रानका अनुसार चीनमा महिला भन्दा पुरुषको संख्या धेरै हुनसक्छ तर महिलाको बढ्दो खर्च क्षमताका कारण महिलालाई सेवा प्रदान गर्ने क्षेत्रमा थप लगानी गर्ने कुरालाई पुष्टि गर्दछ ।

विगतमा चिनियाँ बक्स अफिसमा समेत प्रभुत्व जमाइरहेको हलिउड अहिले आफ्नो स्थान फर्काउन संघर्ष गरिरहेको छ । यस्ता बेलामा धेरै भन्दा धेरै महिला दर्शकलाई आकर्षित गर्दा स्टुडियोहरु लाभान्वित हुनेछन् ।

यो वर्ष चिनियाँ बक्स अफिसमा अमेरिकी फिल्मको हिस्सा केवल १४ प्रतिशत मात्र रह्यो जुन विश्वमै दोस्रो ठूलो हो । यदि वर्षभरि नै यही ट्रेण्ड रहेमा चिनियाँ बक्स अफिसमा हलिउड फिल्मको हिस्सा एक दशककै सबैभन्दा कमजोर रहनेछ ।

सेन्सरसिपमा कडाई, बिग्रिंदो द्विपक्षीय सम्बन्ध, बढ्दो राष्ट्रवादी भावनाका साथै स्थानीय रुपमा उत्पादित चलचित्रहरुसँगको प्रतिस्पर्धाका कारण चीनमा हलिउडको शेयर पछिल्ला वर्षहरुमा निरन्तर घटिरहको छ ।

ट्रानका अनुसार अन्तर्राष्ट्रिय फिल्म निर्माण स्टुडियोहरुले चिनियाँ महिलाहरुलाई लक्षित गरी रोमान्टिक कमेडी, म्युजिकल तथा उनीहरुलाई मन पर्ने अन्य विधाका चलचित्रहरुको बजारीकरण अभियानमा व्यापक ढंगले लाग्नुपर्ने देखिन्छ ।

उनी भन्छन्, ‘चीनमा बिहे गर्ने महिलाहरुको संख्या घटिरहेको र यसले उनीहरुलाई फिल्म हेर्ने लगायतका फुर्सदिला गतिविधिका संलग्न हुने मौका मिलिरहेको सन्दर्भमा आगामी वर्षहरुमा समेत चीनमा चलचित्रका महिला दर्शकहरुको संख्यामा बढोत्तरी हुनेछ ।’

-सिएनएनको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?