चलचित्रले मानवीय भावना अभिव्यक्त गर्छ । त्यसैले सिनेमा भावनाको उत्पत्ति मानव सभ्यता विकाससँगै हुनथाल्यो भन्न सकिन्छ ।
सिनेमा इतिहासमा विश्वकै उत्कृष्ट फिल्म निर्देशकमध्ये एक मानिने अल्फ्रेड हिचककले एक पटक फ्रान्सेली निर्देशक र समकालीन फ्रान्कोइस ट्रुफाउटसँग भनेका थिए– ‘केही फिल्महरू जीवनका हिस्सा हुन्, तर मेरा फिल्महरू केवल केकका टुक्रा हुन् ।’ उनले यहाँ आफ्नो फिल्मले वास्तविकताभन्दा मनोरञ्जन प्रदान गर्नेमा जोड दिने गरेको बताउन खोजेका थिए ।
आजभन्दा झन्डै २०–२५ वर्षअघि शनिबारको दिनले निकै महत्व राख्थ्यो, दिउँसो २ बजेको समाचारपछि हिन्दी चलचित्र जो हेर्नु थियो । पिसाब थामेर झन्डै ३ घण्टाको चलचित्र हेरिसकेपछि झुन्डझुन्डमा फिल्मको कथा, संवाद, नायक, नायिका, भेषभुषा र अभिनय आदि विषयमा घनघोर चर्चा–परिचर्चा हुने गथ्र्यो । सबै उमेर समूहका मानिसहरूबीच यो चर्चाको विषय बन्थ्यो ।
फलानोले कस्तो फाइट हानेको, गीत दामी, छिटो क्यासेट किनौं, स्टिकर नि ल्याउँ आदित्यादि । कथालाई आफ्नै तरिकाले इम्प्रोभाइज गरेर अभिनय गर्नेको समूह छुट्टै । कोही हिरोको जस्तो ड्रेस–अपमा त कसैको हेयर स्टाइल उस्तै ।
यसरी हेर्दा सिनेमाको व्याकरण (अडियो, भिडियो, टाइम एन्ड स्पेस) वा सिनेमाको अरू आयामले हाम्रो समाजलाई प्रत्यक्ष असर गरेको थियो । सायद त्यही भएर नै बीएस्सी गर्दैगर्दा सन् २०१० मा फिल्म स्कुल प्रवेश गरें । योसँगै सुरु भयो मेरो चलचित्र यात्रा । यससँग सम्बन्धित सैद्धान्तिक सिकाइ, व्यावहारिक अभ्यास, केही कमाइको क्रम पनि सुरु भयो ।
संसारमा सन् १८९६ मा लुमिएर्स ब्रोदर्सले ‘द ग्रेट ट्रेन रोबरी’ नामको सर्ट फिल्म बनाए, जसलाई संसारको पहिलो चलचित्रको रूपमा हेरिंदो रहेछ । संसारमा फिल्म निर्माणको प्रक्रिया, कास्ट एण्ड क्रु, मार्केट, एक्जिभिसन प्लानको बारेमा केही थाहा थिएन । तैपनि बलिउडको ७०/८०/९० दशकका चलचित्रले दिमागमा दह्रो जरा गाडेको थियो ।
दिलीप कुमारको ‘मुग्ले आजम’ देखि धर्मेन्द्र, अमिताभका शोले, शाहरुखका चलचित्र साथै नेपाली रजतपटका भुवन केसी, शिव श्रेष्ठ, राजेश हमालका चलचित्रले नि एउटा छाप छोडेको थियो । यद्यपि बढी झुकाव भने बलिउडमै थियो ।
हलिउड वा संसारका अरू चलचित्र नहेरिने त्यतिबेला पनि सिनेमाको एउटा भाइरस दिमागमा छिरिसकेको थियो । मेरो आफ्नो स्कुले जीवनको सन् १९९५–२००१ ताका शनिबारको एउटा चलचित्र छुट्नु भनेको जीवनमा ठूलै केही चिज छुटे जस्तो हुन्थ्यो, जस्तो कि ट्रेन नै छुटे जस्तो । हप्ताभरि नै बर्बाद भयो जस्तो लाग्ने ।
साथीभाइसँग, उही अहिले हामीले स्क्रिप्ट पिचिङ गरे जस्तो, स्टोरी न्यारेसन गरे जस्तो, क्यारेक्टर सेटिङ, स्टोरी एनालाइसिस गरे जस्तो, गफ त हुनेगथ्र्यो तर आफैंले अडियो सुनेको, दृश्यकाव्य देखेको जस्तो हुँदैनथ्यो । त्यसैले त्यो कालखण्डका शनिबारे चलचित्रहरू खासै, सकभर छुटाइएन भन्दा हुन्छ ।
स्टेभन स्पिलवर्ग, मर्टिन स्कोर्सेस, अल्फ्रेड हिचकक, स्ट्यानले क्युबरिक, पिटर ज्याकसन, क्लाइन्ट ईस्टवुड, ईङमार वर्गमेन, जेम्स क्यामरुन, चार्ली च्याप्लिन साथै आन्दे्र तार्कोप्सी, अनुराग कश्यप, अनुराग वाशु, भन्साली हुँदै नेपाली सिनेमा हलमा प्रदर्शन भएका प्रायःजसो नेपाली चलचित्र हेर्नैपर्ने । सँगै सबै आयामबाट विश्लेषण वा शनिबारे चलचित्रको भिजुअल न्यारेसनको कुरा गरिरहँदा शनिबार दिउँसो १ः३० देखि १ः४५ सम्म बीडब्ल्यू टिभी सेट अगाडि उपस्थित भइएन भने ढोका वा साथीभाइको काँधमा चढेर झ्यालको प्वालबाट चलचित्र हेर्नुको विकल्प थिएन । तर त्यो समयमा भौतिक वस्तुहरू गाडी, घर, बाटो, पुल, कम्प्युटर, गहना, कपडा, भाषा, संस्कृति, भूगोल आदि बारे बुझाइ फिल्मबाटै बने । कसरी बोल्ने, कस्तो लगाउने, कस्तो खाने, कस्तो जीवन बाँच्ने भन्ने कुरामा कसरी फिल्मबाट प्रभावित भइयो भन्ने कुरा सम्झँदा अहिले एकप्रकारले उदेक लाग्छ ।
अन्त्यमा हिरोले जित्ने जस्ता कुरा तिनै चलचित्रबाट सिक्न पाइयो । फ्रान्सेली चलचित्र निर्देशक जर्ज मिलिजको ‘ट्रिप टु द मून’ (१९०२) मा बनेको थियो, यद्यपि एपोलो ११ मिसन अन्तर्गत सन् १९६९ मा मात्र रकेट चन्द्रमामा अवतरण गरेको थियो । वास्तवमा विज्ञानका इन्भेन्सन वा मेडिकल साइन्सका अन्वेषणका कुरा फिल्मबाट प्रभावित भए ।
सीधा अर्थमा भन्नुपर्दा मानिसको चन्द्रमामा पाइला राख्ने कुरादेखि लिएर राजनीति, भौगोलिक, सांस्कृतिक प्रभावदेखि लिएर विश्वयुद्ध १–२ मा धरी सिनेमाको असर देखियो ।
अपशोच हाम्रोमा सन् १९५१ बाट सिनेमा बन्न थालनी गरेतापनि यसलाई अझै उद्योगको रूपमा विकास गर्न सकिएको छैन । हामीले हाम्रो क्रियसन वल्र्ड स्टेजमा लैजान नसक्नु एक हिसाबमा लज्जाबोधकै कुरा हो ।
सिनेमाको दायरा यति फराकिलो छ कि यसको माध्यमबाट हामी धेरै कुरा व्यक्त गर्न सक्छौं । यद्यपि त्यसलाई व्यवसायीकरण गर्ने कुरा दोस्रो हो । सपनामा पनि त्यही शनिबारे चलचित्रका कुराहरू आजभोलि पनि देखिन्छन्, अहिले कथाको संरचनामा जुनसुकै तरिकाले काम गरेतापनि अन्ततः दर्शकलाई कथा नै भन्ने हो जसले कि दिमागमा हान्न प¥यो कि मनमा । तब मात्र एउटा फिल्म मेकर वा कथावाचकको कथाले जीवन पाउँछ ।
संसारमा आज यस्ता देशहरू पनि छन् जसले सिनेमाको माध्यमबाट आफ्नो देशलाई पर्यटन र संस्कृतिलाई विश्वसामु प्रस्तुत गरिरहेका छन् । ओस्कार विजेता न्यूजिल्याण्डका निर्देशक पिटर ज्याक्सन भन्छन्, ‘द मोस्ट अनेस्ट फर्म अफ फिल्म मेकिङ ईज टु मेक अ फिल्म फर योर सेल्फ ।’ उनलाई सही थाप्दै नेपाली फिल्म अभ्यासका केही तितो सत्य सुनाउन मन लाग्यो ।
आज सिनेमा क्षेत्रलाई संसारले सफ्ट पावरको रूपमा हेर्छन्, तथापि सिनेमाको शक्ति र प्रभावलाई हामीले चिन्न सकिरहेका छैनौं ।
मैले बाल्यकालदेखि अहिलेसम्म धेरथोर यस्ता मानिसहरू पनि भेटेको छु, उनीहरूको जीवनमा चलचित्रले धेरै बदलाव ल्याएको छ । जीवनको शैली, योजना, लक्ष्य बदलिएका छन् । तर हाम्रोमा चलचित्रले दर्शकको जीवन होइन, चलचित्रकर्मीकै पनि जीवन बदलिएको छैन । आफूले गरेको कामको पारिश्रमिक समयमा नपाएर प्रताडित हुने धेरै छन् । नजिकबाट यी दृश्यहरू हेर्नुपर्दा उदेक लाग्छ ।
मैले पछिल्लो १३–१४ वर्षमा देखेको कुरा नेपाली फिल्म क्षेत्रमा धेरै खाले समस्या छन्, सायद बाहिरको चलचित्र उद्योगमा पनि होलान् तर हाम्रोमा एउटा व्यावसायिक प्रोड्युसर छैनन् । चलचित्रको लागि पैसाको जोहो गर्दैमा ऊ चलचित्र निर्माता हुन सक्दैन । चलचित्र निर्माता आफैं फिल्म मेकर भएकोले विभिन्न भूमिकामा रहेका चलचित्रकर्मी (प्रि–प्रोडक्सन, प्रोडक्सन, पोस्ट प्रोडक्सन, लेखन, निर्देशन, बजारीकरण योजना लगायत सबै प्रक्रियामा सहभागी) र फिल्म निर्माणको सूक्ष्म प्रक्रिया साथै हरेक डिपार्टमेन्टको काम–कारबाही संयन्त्र बारे जानकार र अभ्यस्त हुनुपर्छ । एउटा काम (प्रोजेक्ट) गर्न एक सय रुपैयाँ लाग्छ भने ४० रुपैयाँ छ, काम सुरु गरौं, अरू आइहाल्छ भन्छन् । काम सुरु भएपछि मात्र काम सक्न यति समय र लगानी लाग्छ भनेर हिसाब गर्न थाल्छन् । धेरै फिल्म बन्दाबन्दै रोकिन्छन्, केही जेनतेन बन्छन् भने अनि चलचित्रमा सिर्जना कहाँ भेटिनु ? कला कहाँ भेटिनु ?
सिनेमा त कला र विज्ञानको फ्युजन हो । जबसम्म तपाईंको आफ्नो कथालाई प्राविधिक र सौन्दर्यशास्त्रीय ढंगले अभिव्यक्त गर्ने अठोट, समय, अनुसन्धान, उद्देश्य, व्यवसाय र स्पष्ट भिजन हुँदैन, व्यावसायिकता र इमानदारी हुँदैन, तबसम्म तपाईं काम गर्न सक्नुहुन्न । झुक्किएर कहिलेकाहीं नतिजा आएछ भने पनि अर्को परियोजनामा त्यस्तो संयोग मिल्दैन ।
त्यसो त, अरू देशका चलचित्र उद्योगमा पनि यस्ता व्यावसायिक समस्या हुन्छन् । यद्यपि उनीहरूमा व्यावसायिकता र इमानदारी देखिन्छ । आज दक्षिण भारतले निर्माण, विषयवस्तु, बजारीकरणमा धेरै फिल्म उद्योगलाई पछि पारिरहेको छ । उदाहरणको लागि श्रीलंका, कोरिया, इरान, केही युरोपियन चलचित्र उद्योग विश्वमञ्चमा तारिफयोग्य बनेका छन् ।
सिनेमा विचार, भावना, समाज, घटना, व्यवसाय, कला, मानव मस्तिष्क सबै हो । जे भएतापनि चल्नेवाला चित्र बनाउनु अघि समय, घटना, परिघटना, मानव मनोवृत्ति, राजनीति, भूगोल, संस्कृति, भाषा, वैज्ञानिक आविष्कार लगायतलाई सूक्ष्म ढंगले बुझ्नुपर्छ ।
म त अझ के भन्छु भने यी सबै कुरा बुझ्नुअघि आफूले आफैंलाई बुझ्नु आवश्यक छ । माटो सुहाउँदो सिनेमामा भएको अवस्थामा (अडिओ, भिडिओ, टाइम र स्पेस) वा सिनेमाभित्र देखिने संस्कृति, स्पेस, भाषा, भावना, पात्र र प्लटहरू जस्तोसुकै फ्रेमभित्र देखिने विषयवस्तु, मेटाफोर र विषयवस्तुसँग दर्शक भावनात्मक रूपमा जोडिएन भने दर्शक पाउन वा उनीहरूलाई बाँधिराख्न गाह्रो छ ।
धेरै चलचित्र निर्माताले पनि त्यही भन्नुहुन्छ र मेरो बुझाइ पनि यही हो । ७० देखि ९० को दशकसम्म वा लगभग २००० सम्ममा धेरै सिनेमाले व्यावसायिक सफलता पनि पाउने गर्थे यद्यपि केही सिनेमा त सृजनात्मक रूपमा पनि अब्बल हुने गर्थे । त्यसपछि के भयो, अहिले के भइरा’छ मलाई नि थाहा छैन ।
एकेडेमी अवार्ड, गोल्डेन ग्लोव, कान्स, वुसान, सन्डान्स, टोरेन्टो, बिफ लगायत वर्षेनि संसारभर कैयौं फिल्म फेस्टिभल हुन्छन् । ती संसारभर नाम चलेका चलचित्र महोत्सवले जहिले पनि वा पहिलो फेजबाट नै खोज्ने भनेको फिल्म मेकिङप्रतिको इमानदारी (भावना/विचार) हो । यद्यपि प्राविधिक कुराको पछि छुट्टै महत्व छ तर उनीहरूको पहिलो रोजाइमा विषयवस्तु र त्योसँग अनुसन्धानलाई नै हेर्छन् ।
नेपालमा सन् १९५१ देखि अहिलेसम्म सुधार नै नभएको भने होइन । तर सुधारको गति र मति सन्तोषजनक छैन । अब फिल्म मेकिङमा एआई छिरिसक्यो । हामी भने उही ‘क््रयाक भर्सन’मा काम गरिरहेका छौं ।
चाहे सट फिल्म होस् वा वेब सिरिज, टिभी सिरिज होस् वा स्पोर्टस् वा प्लान्ट एण्ड एनिमलसँग सम्बन्धित डकुमेन्ट्री/मकुमेन्ट्री साथै सिनेमामा नै कति धेरै भिजुअल ल्याङ्ग्वोइज ट्रेन्ड आइरहेका छन् । तर हामी भने उनै मास्टर, कटिङ, एचएस, आईएनएस (क्लोज) सटमा छौं । अब स्टेरियोटाइप मेकिङ अनि सिनेमाबाट कथा भन्ने भाषा (सिनेम्याटिक) नै परिवर्तन हुन आवश्यक छ ।
माफ गर्नुहोला, इमेजको मात्रै कुरा गर्यो भन्नुभयो होला । आवाजमा पनि हामी पूर्ण रूपमा तेस्रो विश्वमै छौं । ३०/४० वर्षको अनुभव भएका, फिल्म स्कुलबाटै स्नातक, थिएटरबाट आफूलाई निखार्दै आउनुभएका अग्रज हामीसँगै हुनुहुन्छ । अरू क्षेत्रका व्यक्तित्व, लगानीकर्ता, चलचित्र विश्लेषक, चलचित्र पत्रकार तथा सम्बन्धित संघ–संस्थाहरूसँग सहकार्य भइरहेकै छ । चलचित्रसँग सम्बन्धित अन्वेषण, चलचित्र महोत्सव र चलचित्रसँग सम्बन्धित विभिन्न कार्यक्रम, गोष्ठी, समारोह यावत् गतिविधि भइरहन्छन् । हाम्रोमा नभएको त्यही चलचित्रप्रतिको लगाव र आवश्यक अनुसन्धान मात्र हो ।
एक जना विश्व विख्यात फिलान्थ्रोपिस्ट, व्यवसायी, विश्लेषक डोन ड्यापरले म्याड म्यान हेरिसकेपछि एक लाइन लेखेका थिए- ‘म यहाँ साथी बनाउन होइन, इतिहास बनाउन आएको छु ।’ यसको अर्थ सबैले बुझ्छन्, तर यहाँ व्यवहार ठिक उल्टो भइरहेको छ । सन्तोष मान्नुपर्ने कुरा, हामी केही न केही सुधारकै बाटोमा भने अवश्य छौं ।
चलचित्रप्रतिको लगाव र एकजना चलचित्र निर्देशक हुनुको नाताले अवचेतन मनमा कुरा खेलिरहन्छ । ठाउँ, पात्र केही भनिनँ । एकजना वडाध्यक्षको कोठामा एल आकारको सोफा छ । त्यो सोफामा ती महिला मस्त मस्कँदै गफ गर्दैछिन् तीजको दरको कार्यक्रम बारे । फेरि त्यही झ्यालबाट लाइनबद्ध सेवाग्राही (स्थानीयवासी)ले अध्यक्षज्यूको कोठामा बन्द भएको भित्तेघडी देखिरहेका छन् ।
प्रदेशको मुख्यमन्त्रीको नयाँ निवास बबाल छ । त्यसको पारिपट्टि हामीले चिया पिउने पसल छ । प्रायः जस्तो चिया पिउन मुख्यमन्त्रीको निवासको स्टाब्लिस सट (वाइड) खिच्छु । काठमाडौंमा त सिंहदरबार वरिपरि नै प्रायः काम पर्छ र, यस्ता यस्ता मेटाफोरिकल सट प्रायः खिचिरहन्छु । अब यही भएर नै हाम्रो चलचित्र क्षेत्रको यथोचित उन्नति भएन भन्दिनँ । यद्यपि राज्य, शासन र व्यवस्था (नीति) ले एक खालको असर गर्दोरहेछ ।
चलचित्र क्षेत्रमा समस्या छन्, सम्भावना पनि छन् । समस्या पहिचान गरौं र यथोचित समाधानमा काम गरौं । जाँदाजाँदै हिचककलाई नै सम्झन्छु- ‘अलवेज मेक द अडियन्स सफर एज मच एज पोसिवल अर्थात् जतिसक्दो दर्शकलाई दुःख दिनुस् ।’ तर ढंगले ।
(कार्की चलचित्र निर्देशक हुन् ।)
प्रतिक्रिया 4