
सम्झनाअनुसार, दशैंको छेउछाउ पारेर बाले मेरा लागि स्कुल ड्रेस किनिदिनु हुन्थ्यो । त्यही स्कुलको नयाँ ड्रेस लगाएर म दशैंमा मावल जान्थेँ । बाको हात समातेर फुङलिङ बजार जान्थेँ ।
चिप्लेटी खेल्दा च्यातिएका सुरुवाल टालटुल पारिन्थ्यो, रफू भरिन्थ्यो । आमा हजुरआमाका चोलो र बा, हजुरबाका सुरुवालका घुँडाहरू अर्को कुनै कपडाले टालेर रङ्गीबिरङ्गी बनाउने समय पनि त्यही थियो ।
एक साल, मेरो भाग्य चम्कियो ।
सायद, बाले चौमासिक तलब थापेका दिन छोराछोरीलाई पुग्ने थानको कपडा बोकेर घर आउनुभयो । हामीलाई ड्रेस भनेर ल्याएको कपडाको अलिक धेरै नै भाग उब्रिएछ । त्यो बाँकी कपडाले मेरा लागि झोला सिलाउने उपाय बाले किनाल्नुभयो ।
निलो रङ्गको झोला पाएँ, मैले । काँधमा भिरेर हिँड्दा घुँडासम्म पुग्ने त्यो झोलाको खुशी सम्झदा अहिले पनि रोमाञ्चित हुन्छु । मेरी आमाले त्यो झोलाको फिता गाँठो पारेर घुँडा माथिसम्म आइपुग्ने बनाइदिनु भएको थियो ।
आज जस्तो सामाजिक सञ्जालको युग भएको भए आमाको फेसबुकमा त्यो मेरो फोटो भेटिन्थ्यो होला । वा मेरो पहुँचमा चल्तीको फोटो स्टुडियो हुन्थ्यो भने बाल्यकालीन याद नवीकरण गर्नेथिएँ, हुँला।
खैर, मैले झोला भिरेर स्कुल जान पाएँ । कापी, किताब र पेन्सिलले झोलामा बस्न पाए। मलाइ लाग्छ मेरो कक्षामा म नै एक मात्र झोले थिएँ । मेरा साथीहरू पछिसम्म हातमा किताब च्यापेर स्कुल आउँथे । सजिलो र तेर्सो बाटोमा टाउकामा कापी, किताब अड्याएर हिँडने प्रतिस्पर्धा गर्थे । पानी परेका दिन बारीका माने पिँडालुका पातहरू टिपेर किताब जोगाउँथे। कोहीचाहिँ पिठ्युँमा सर्टको पछाडि किताब लुकाएर हिँडथे।
गाउँमा खुलेको बोर्डिङ स्कुलमा केही कक्षा पढेर हाम्रो स्कुलतिर सरेका केही साथीहरूले चाहिँ पछाडि भिर्ने झोला लिएर आए । तिनीहरूका रवाफै अर्को, मानै- उनीहरु अर्कै ग्रहका मानिस हुन् । अहिले पनि गाउँतिर देख्छु, मेरी छोरीको पुस्तामा पनि धेरै विद्यार्थी झोले हुन पाएका छैनन् ।
मेरो गाउँमा अधिकांश मानिस खेती किसानी गर्थे, अद्यापि गर्छन् । खेतीपाती गर्न डोको, थुन्से, नाम्लो, बरियो नै पर्याप्त थियो, छँदै छ । तिनले आजसम्म बोक्न पाएको झोला भन्नु मल, नुन, चिनी किन्दा दोकानेले थमाउने प्लास्टिकको एकसरो झोला मात्रै होला ।
घाँस, दाउरामै जीवन बिताएका हाम्रा धेरै आमा बाहरूले झोला बोक्न पाएनन् ।
मेरो गाउँमा मोटरबाटो थिएन । ढाक्रेहरू ढाकर बोकेर जीवन धान्थे । सहरबाट मेरो गाउँ सिम्लेसम्म तल दोभानसम्म, पारी पापुङ र ओलाङचुङगोलासम्म भारी बोक्ने उनीहरुको काम थियो ।
दैनिक आवश्यकताका सामान गाउँका साना पसलहरूमा पुर्याउँथे । कहिलेकाहीँ तामा, स्टिल र काँसका भाँडाँकुडाँ बेच्ने मानिसहरू गाउँटोलसम्म आउँथे । गाउँका हाटहरूमा कपडा र चुरा बेच्ने साहूहरू पनि हाम्रो घरमा बास बस्न आइपुग्थे । तिनीहरूसँग ठुल्ठूला डोकाहरू हुन्थे । डोकाभित्र एउटा झोला हुन्थ्यो, सायद नगद र अन्य महत्त्वपूर्ण सामग्री हुन्थ्यो होला ।
तर, तिनीहरूले आफूसँग भएको झोला पनि डोकामा बोकेर हिँड्नु पर्यो ।
संसारमा झोला बोकेर हिँडने हजारौँ वर्षको इतिहासमा मेरो गाउँका बा पुस्ताका मानिसहरू कमैले मात्र झोला बोक्न पाए । आमा, हजुरआमाहरूले बोकेको थैली हो।
गाउँमा झोला बोक्नेहरू आज पनि सम्झनामै छन् ।
एक जना राजनीतिक कार्यकर्ता थिए । उनी लगभग हरेक दिन मेरो जस्तै छड्के झोला बोकेर सहर जान्थे । उनी कहिल्यै कार्यकर्ताभन्दा माथि उठ्न सकेनन, या नियति र नेताहरूको नियतले तिनलाई थिचिराख्यो ।
गाउँका अहेबसँग एउटा ओखतिमूलो भरिएको झोला थियो । उनी जता पुगे पनि झोला उनीसगैँ हुन्थ्यो । हाम्रो स्कुलका हेडसरको पनि एउटा झोला थियो । अनि त्यही झोला बोकेर सदरमुकाम गइरहन्थे । चौमासिक तलब बुझ्न झोला बोकिहिँड्थे कि ।
आक्कलझुक्कल गाउँमा देखिने गाविस सचिवले झोलामै अफिस बोकेर गाउँ आउँथे । यी कसैका झोलाले गाउँमा केही कुभलो गरेनन् । सबै झोलेले गाउँमा जे गरे, आफ्नो बुताले भ्याएसम्म गरे । राम्रै गरे । गाउँमा आज पनि उनीहरू आदर्श मानिसकै नजरमा हेरिन्छन् ।
म चाहिँ १० कक्षा पास गरेपछि बजारमा किनेको एउटा नयाँ झोला बोकेर काठमाडौँ आएँ । अलिकति राजनीति बुँझे । थोरै समाज बुझेँ । अलिकति आफूलाई पनि चिने । समाजको सदस्य नाताले समाजको आवश्यकता पनि महसुस भयो । र त, आफ्नो हिस्साको राजनीति गरेँ पनि ।
सानोतिनो नेता पनि भई टोपलेँ । कसैको झोला बोक्न नसकेर चाहेजस्तो ठूलो नेता बन्न सकिनँ । त्यही क्रममा झोलेको अर्थ थाहा पाएँ । नेताका पछि अन्धभक्त भएर लाग्ने, चाकरी चाप्लुसी गर्ने, प्रश्न गर्नै नसक्ने कार्यकर्तालाई ‘झोले’ भनेर व्यङ्ग्य गरिँदो रहेछ ।
सच्चा कार्यकर्ताहरू किनारामा धकेलिने र अनेक अवसरहरू चाहिँ झोलेहरूको भागमा पर्दो रहेछ । मैले मेरा गाउँका झोले राजनीतिज्ञलाई त्यो बेला सम्झन्थेँ जो अझै पनि राजनीतिको किनारामै छन् । मैले त्यो बेला महसुस गरेँ, झोले शब्दमा अन्धभक्त र व्यक्तिवाद जस्ता गम्भीर राजनीतिक मनोदशा लुकेको रहेछ । म त यसलाई समस्याकै रूपमा चित्रण गर्छु ।
स्कुलमा एक्लै झोला बोकेर हिँडने म झोलेले अब कहिल्यै झोले नहुने कसम खाएँ ।
तर, आज सम्झन्छु कति ठाउँमा आफ्नै आदर्श र बाचाहरूसँग जीवन भोगाइले मेल खाएन ।
नेताहरूको आदेशमा चलियो । अध्यनमा ध्यान पुगेन । ज्ञान भएन । बहस गरिएन । त्यसैले, झोलाले निराश तुल्यायो ।
आफूले बुझेको लोकतन्त्र र लोकतन्त्रका मूल्य मान्यतामा झोलावाद कतै पढेजस्तो लाग्दैन । मैले पढेको राजनीतिक दर्शन, सिद्धान्तको अंशमा कतै झोलावाद भेटिँदैन र
के म एउटा नागरिकको रूपमा जिम्मेवार छु त ? आफैलाई यो प्रश्न सोध्ने ठाउँमा पुगियो ।
झोलेहरू मार्फत् जनआवाजहरू दबाउने, विरोधी तह लगाउने र सत्ता टिकाउने प्रयत्न गर्ने र आफूलाई लोकतन्त्रको हिमायती हुँ भन्न नछाड्ने आफ्नै वरिपरि देखियो । यी प्रवृत्ति भएकाहरूले जनताको लागि नभएर केवल सत्तासुखमा आफूलाई समर्पित गरिरहेको पनि देखियो ।
झोलामा विद्यार्थीको किताब, अहेबको औषधि, किसानको मलखाद, बीउविजन र सचिवको कार्यालय देखेको मानिसले बिचौलियाका प्रस्तावहरू र नीतिविपरीतका सिफारिसहरू देखियो ।
त्यही बेला झोला बोकेर आँसु लुकाउँदै विदेश हिँडेको आफ्नै भाइको अनुहार देखेँ । झोला नबोकी चप्पल पड्काउँदै परदेश हिँडेका मानिसहरू पनि देखेँ । र, भर्खरै प्लस टु पास गरेका छोराछोरीको झोला पुर्याउन एयरपोर्टतिर हिँडिरहेका बाआमाहरूको अनुहारमा लुक्न नसकेको वेदना देखेँ ।
सङ्घीय शासन प्रणालीमा गाउँको विद्यालय सुधार गर्न सिंहदरबार आइपुगेका हेडसर देखेँ। १० वर्षदेखि ताप्लेजुङमा बसेरसेवा गरेका पालिकाको कर्मचारी सरुवा माग्न सिंहदरबार वरिपरि घुमेको देखेँ । पेट दुखेको उपचार गर्न झापा झरेका गाउँलेहरू देखेँ । कुनै युवा अडिन नसकेको र गाउँ छाडिरहेको गाउँ देखेँ ।
यी समस्याहरू सँगै समृद्धिका सपना देखेँ । जनसांख्यिक लाभांशको उपयोग गर्ने नीति देखेँ । मानव संसाधन विकासका नवीनतम् योजनाहरू देखेँ ।
निष्कर्षमा: कतै पनि नमिलेको नीति र व्यवहार देखेँ ।
अनि लाग्यो, हामीले झोले होइन नागरिक बन्नुपर्छ । आफ्नो अधिकार र कर्तव्य राम्रोसँग बुझ्नुपर्छ । त्यसलाई व्यवहारमा उपयोग गर्नुपर्छ। चाकरी होइन बहस गर्नुपर्छ । आलोचनात्मक चेत राख्नुपर्छ ।
नेताहरूले पनि झोले होइन, सशक्त र जिम्मेवार कार्यकर्ता बनाउनुपर्छ । जसले हाम्रो लोकतन्त्रको जग बलियो बनाउँछ । हामीले पनि लडेर, जेलनेल भोगेर ल्याएको हाम्रो व्यवस्था बलियो बनाउँछ ।
राज्य प्रणालीमा आममानिसको सहभागितालाई प्रवर्द्धन गर्छ । हामीलाई सुशासन, विकास र समृद्धिका सपनासम्म पुर्याउँछ । हाम्रो समाजका विद्यार्थी, किसान, मजदुर, वकिल, राजनीतिज्ञ, प्राध्यापक सबैलाई उस्तै झोला बोक्न सक्ने बनाउँछ ।
निष्कर्षमा: एउटा झोलेको आग्रह छ । हामी ‘झोले’ होइन, जिम्मेवार र सचेत नागरिक बनौँ । सच्चा लोकतन्त्रको विकासका लागि आलोचनात्मक चेत, बहसको संस्कार र व्यक्तिवादको विरोध गर्ने कार्यकर्ता बनौँ ।
हामीले कसैको झोला नबोक्दा मात्रै सबैले आ–आफ्ना झोला बोक्न सक्ने हैसियत निर्माण हुन्छ ।
प्रतिक्रिया 4