+
+
Shares

‘एनिमल’ नट माई हिरो

अल्फा मेल समाजका नायक हैनन्, खलनायक हुन् । महिलालाई बच्चा पैदा गर्ने मेसिन सोच्ने, आमाको ममता नदेख्ने, श्रीमतीको केही पनि नमान्ने अल्फा मेल मेरो लागि आदर्श पुत्र, पिता र श्रीमान हैनन् ।

शीखा न्यौपाने शीखा न्यौपाने
२०८० मंसिर ३० गते १६:३६

कुनै चलचित्र हेर्न जाँदै हुनुहुन्छ भने तपाईंको प्रमुख रुचि प्रायः मनोरञ्जन नै हुन्छ। तपाईं त्यो २-३ घण्टामा आफ्नो दैनिकी बिर्सिएर रमाउन चाहनुहुन्छ। कुनै चलचित्रले तपाईंलाई हसाउँछ, कुनैले रुवाउँछ, कुनैले जीवनभन्दा विशाल प्रेम देखाउँछ भने कुनैले समाजको यथार्थ चित्रण गर्ने प्रयास गर्छ ।

चलचित्रको विशेषता भनेको यसले मानसपटलमा एक प्रभाव पारिदिन्छ । तर त्यो मनोरञ्जनले पार्ने प्रभावको जवाफदेही को हुन्छ भने प्रश्नलाई बुझ्नु एकदम जरूरी छ।

के अहिले हलमा लागिरहेको हिन्दी फिल्म ‘एनिमल’ लाई हामी एक चलचित्रको रूपमा मात्र हेर्न सक्छौं त? के त्यसका केही तत्वहरू हानिकारक छैनन्? यो चलचित्रले समाजको कस्ता मान्छेलाई के कुरामा आकर्षित गर्छ? यसले समाजलाई कस्तो ऐना देखाइरहेको छ?

सन्दीप रेड्डी भांगाद्वारा निर्मित ‘एनिमल’मा रणवीर कपूर, अनिल कपूर, रश्मिका मन्दना, बबी देओल, सौरभ सचादेवा, तृप्ति दिम्री, शक्ति कपूर लगायतले अभिनय गरेका छन् । चलचित्रको विषयवस्तुले मुख्यतः बुवा र छोराको सम्बन्धलाई ‘एक्सप्लोर’ गर्ने कोसिस गरेको छ।

बाल्यकालदेखि जवान हुँदासम्म एक अनुपस्थित बुवाको मायाको लागि छोराले केके गर्छ ? चलचित्र यही प्रश्नको सेरोफेरोमा घुमेको छ । रणविजय सिंहको भूमिकामा देखिन्छन् रणवीर कपूर । उनी बुवाप्रतिको प्रेम देखाउन दुनियाँमा आगो लगाउन पनि पछि पर्दैनन् ।

यसअघि कबिर सिंह बनाएका सन्दीप रेड्डी भांगाले यो चलचित्रमा पनि मुख्य पात्र घमण्डी, सन्की, रिसाहा र हिंसात्मक देखाएका छन्। रणवीरको मेहेनत, लगन उनको कलामा देखिन्छ। रणवीर साँच्चिकै यो दशकको राम्रो अभिनेता हुन् भन्ने पुष्टि उनले चलचित्रमा गरेको जीवन्त अभिनयबाट गर्छन् ।

उनले आफूलाई कथाअनुसारको पात्रमा मज्जाले ढालेका छन् र यो अभिनय प्रसंशायोग्य छ तर त्यो पात्र आफैंमा प्रसंशा गर्न योग्य पात्र भने हैन ।

‘एनिमल’मा हिंसा र आतंकलाई गौरवीकरण गरिएको छ । सन्दीपले दर्शक केमा उत्तेजित हुन्छन् बुझेका छन्। ठूला बन्दुक, लडाइँ, संगीत, एउटा-दुइटा भावना उजागर गर्ने, रगत उमाल्ने डायलग, सानसौकत, शरीर प्रदर्शन, अब्बल अभिनेता र महिलाहरूको वस्तुकरण । उनले यही रेसिपी मसला हालेर पस्किएका छन् ।

सन्दीपले चलचित्रमा निर्माण गरेको दुनियाँ पुरुषको हो जसले आफूलाई मात्रै जान्नेसुन्ने भन्छन्, जो एकदम पगला जस्तो छन्। यहाँ मुख्य पात्र अल्फा मेल भनेर आफूलाई चिनाउँछन् । अल्फा मेल अर्थात् हरेक समूहमा सबैभन्दा शक्तिशाली पुरुष।

यी पुरुषमा नैतिकता भने अलिकति पनि छैन । उनी मर्न र मार्न तयार छन् तर कमजोर हुन होइन । रणविजय कति रुढीवादी छन्, यो चलचित्रमा उनले गरेको व्यवहारले थाहा हुन्छ । उनी महिलाको स्यानिटरी प्याड बारे संवेदनशील नभई कमेन्ट गर्छन् । उनी पहिलो भेट, प्रेम, चुम्बन जस्तै झापडलाई पनि रोम्यान्टीसाइज गर्छन्।

फिल्ममा अनिल कपूर अनुपस्थित पिताको भूमिका निभाउँछन् जो छोरालाई स्नेह,समय दिन जान्दैनन् । उनी आफ्नो छोरालाई पटकपटक अपराधी भन्छन् तर उनको क्राइम रोक्न केही गर्दैनन् । रणविजयको पिताप्रतिको माया एक पागलपन जस्तै छ।

यो फिल्मले बाबु-छोराको सम्बन्धलाई आधार बनाए पनि त्यसलाई गहिरिएर विश्लेषण भने गर्न सकेको छैन ।

अबरारको नकरात्मक भूमिकामा छन् बबी देओल जो साँच्चिकै पशुको अर्थ बुझाउने चरित्र निर्वाह गरेको देखिन्छन् । बबी देओल कम समयको लागि ठूलो पर्दामा आएपनि उनीबाट आँखा हट्दैन। बबी देओल हैवान देखिन्छन् र उनलाई देखाउन खोजिएको त्यही नै हो । एक एक्टरको रूपमा उनको ग्रोथ भने मज्जाले देखिन्छ। ५४ वर्षीया बबीले पर्दामा रणवीरलाई हरहिसाबले टक्कर दिएका छन् । र, यसलाई बबीको कम्ब्याक पनि भन्न सकिन्छ ।

चलचित्रमा समस्या अभिनय होइन, यो अब्बल छ । समस्या लेखन र प्रस्तुतिको हो। सरल भाषामा भन्ने हो भने समस्या स्क्रिप्टको हो। चलचित्रको सम्पादन अव्यवस्थित छ । चलचित्रले प्रमुख पात्रको चरित्र वृद्धि हुने समय नै दिंदैन। रणवीरका पुराना चलचित्रको प्रायः भूमिका जस्तै- रकस्टारमा जोर्डन, तमाशामा वेद, वेक अप सिडमा सिड यी सबैमा आफूभित्रको खालीपन आफ्नै कलाले भर भनेर सन्देश दिएका छन् ।

तर ‘एनिमल’मा रणविजयले तीन घण्टामा पनि एकछिन रोकिएर आफूभित्र नियाल्ने समय पाउँदैनन । चलचित्रमा मानसिक स्वास्थ्यलाई बेवास्ता गरिएको छ। एउटा दृश्यमा जब मनोवैज्ञानिक रणविजयको मद्दत गर्छु भन्छिन्, उनले हाँसोमा उडाउँछन् र आफू ठिक छु भन्छन । ‘एनिमल’मा पुरुषको अहंकारी इगो वृद्धि गर्ने धेरै संवाद छन् । जस्तै कि ‘श्रीमतीलाई कन्ट्रोल गर्नुपर्छ नत्र पकड छुट्छ ।’ तसर्थ यो पुरुषद्वारा निर्मित पुरुषको लागि मात्र बनेको चलचित्र हो भन्ने अनुभूति दिलाउँछ । यसमा महिलाको न स्थान छ, न भूमिका नै ।

यो कमि निर्देशन र कथाको कारणले आएको हो । निर्देशकको दुनियाँमा प्रेमको परिभाषा सम्मानमा हैन, दुर्व्यवहारमा छ। यो हामीले पहिले कबिर सिंहमा कबिरको प्रीतिप्रतिको अब्सेसनमा देखेका छौं । ‘एनिमल’को प्रस्तुति भने रणविजयको गलत कुरालाई पनि बुवाको निम्ति छोराको प्रेम भनेर स्पष्टीकरण दिन खोजेको जस्तो देखिन्छ ।

उसो त धेरै चलचित्रले महिलाप्रतिको हिंसालाई सामान्यकरण गरेका देखिन्छ। तर विशेषतः यो चलचित्रले यस्तो दुनियाँ देखाएको छ जहाँ महिला कि त यौनको लागि, कि त पुरुषको साथको लागि मात्र बनेका छन्। महिला यहाँ बच्चा पैदा गर्ने मेसिन हुन्।

एक दृश्यमा रणविजयले गिताञ्जलीलाई महिलाको ‘पेल्विस’ शक्तिशाली पुरुषको बच्चा पैदा गर्ने साधन हो भन्ने कुरा गर्छन् । महिला पात्र दिदी, बहिनी, आमा, श्रीमती अनि छोरी, सबै यहाँ अस्तित्वविहीन छन् ।

रश्मिकाले निर्वाह गरेको भूमिका गीताञ्जली अरु महिलाभन्दा फरक देखिन्छ। उनले श्रीमानको पागलपनलाई नियालेर हेरेकी छन् तर पनि उनी दर्शक जस्तो देखिन्छिन् । यी सबै आफ्नो श्रीमानसँग दबिएर बस्छन् ।

अबैध सम्बन्ध राख्नु, महिलालाई पीडा दिनु, उनको कुरा नसुन्नु, एनिमलमा आम विषय जसरी देखाइएको छ । यहाँ महिलाको आफ्नै कुनै सोच छैन, सम्मान हुँदैन र समाजमा कुनै पनि महिला पात्रा शक्तिशाली छैनन् भनेर देखाइएको छ ।

त्यसो त पीडा, हिंसा अन्य चलचित्रमा नभएका हैनन् । आलिया भट्टको चलचित्र डार्लिङ्समा उनी घरेलु हिंसाबाट पीडित हुन्छिन्, लज्जामा समाजको तितो सत्य मनिषा कोइराला र माधुरी दिक्षित मार्फत् देखाइएको थियो । तर यी सबै चलचित्रमा हामी पीडा खप्नेप्रति सहानुभूति देखाउँछौं, उत्पीडकमाथि हैन । जब तपाई उत्पीडकलाई समाजमा युवाहरूको प्रेरणाको स्रोत बनाउनुहुन्छ, तपाईं कस्तो समाज निर्माण गर्दै हुनुन्छ ?

तर ‘नो कन्ट्री फर ओल्ड मेन, जोकर जस्ता हलिवुडका फिल्ममा पनि त हिंसा, रगत, पागलपन छन्, तर यो फिल्ममा यत्रो विरोध किन’ भनेर तपाईं प्रश्न उठाउन सक्नुहुन्छ ।

जवाफ सरल छ- वोकिन फोनिक्सको जोकर रिलीज हुँदा त्यसले मानसिक स्वास्थ्य बारे गफ गर्ने ठाउँ लिएर आयो । जहाँ धेरैले मानसिक स्वास्थ्य बारे कुरा गर्न थाले। नो कन्ट्री फर ओल्ड मेनमा हिंसाको गौरवीकरण गरिएको छैन न त पात्रलाई एकदम सही हो भनी स्पष्टीकरण दिइएको छ ।

चलचित्र ले हामीलाई लेन्स दिन्छ, जसले हामी त्यहाँ भैरहेको घटनाको एउटा बेग्लै पर्स्पेक्टिव बनाउछौँ। चाहे त्यो चलचित्र सक्केपछी पनि प्रख्यात लाइन भन्ने हो कि, कलाकार जस्तो हाउभाउ गर्ने हो । ‘के देवदास भाको ? खुट्टा भए जुत्ता कत्ति कत्ति ? अल इज वेल, दबंग इस्ताइल आदि ।

रणविजय आदर्शवादी छैनन् तर बिडम्बना यो चलचित्रले मुख्य पात्रलाई सहानुभूतिको नजरले हेरियोस् भनेर माग गर्छ ।

‘डर’ मा पनि शाहरूख खानलाई यस्तै भूमिका देखाइएको थियो तर हामी सबैले उनी नकारात्मक भूमिकामा थिए भनेर याद गर्छौं। तर त्यस्तै पागलपन भएका अर्को पात्रलाई हामी नायक कसरी मान्न सक्छौं ?

रणवीरले निर्वाह गरेको भूमिका खराब हुनु चलचित्रको समस्या हैन, समस्या यो हो कि त्यो चलचित्रमा भएको कसैले देख्दैनन् कि हामीलाई त्यो पात्र जबरजस्ती सही देखाउने कोसिस गरिएको छ ।

एभ्रिथिङ इज पोलिटिकल

मिडियामा के प्रकाशित हुन्छ, हामी के पढ्छौं, के हेर्न रुचि राख्छौं, सबै कुरा पोलिटिकल हुन्छ । सिनेमाले हामीलाई धेरै कुरा देखाउँछ, सिकाउँछ पनि । हामी सिनेमा हेर्दा हाँस्छौ, भावुक भएर रुन्छौं, कहिले रिसाउछौं पनि । सिनेमा हेरेर हामी अभिनेता अभिनेत्री जसरी पहिरन लाउन चाहन्छौं । उनीहरू जस्तै बाइक गाडी चलाउन चाहन्छौं।

कति सिनेमामा हामी नायकले खलनायक पिट्दा न्याय भयो भनेर ताली बजाउँछौं । हामीले सोच्ने प्रेमका परिभाषा कति त सिनेमाबाट लिएका हुन्छौं ।

अहिले पुष्पा, कबिर सिंह जस्तो फिल्मले नयाँ पुस्तालाई कता धकेलिरहेको छ, यो हेर्न जरूरी छ । के अब हामी प्रेमलाई थप्पडसहित परिभाषित गर्छौं ? पुरुषको अहंकार वृद्धि गर्ने र महिलालाई हेपेर वस्तुसँऊ तुलना गर्ने फिल्ममा त्यसका परिणामहरू पनि बताउन जरूरी छ ।

महिलाको निम्ति यो समाजमा यसले कस्तो संस्कृति उत्पादन गर्छ, यो जान्नु निकै जरूरी छ । यस्तो चलचित्रले मानिसलाई आवेगमा लिएर आउँछ र आवेगमा हिंसा सामान्य हो भनेर सामान्यीकरण गर्छ। यसले महिलाप्रति पुरुषको धेरै हिंसात्मक मनोवृत्ति पैदा गर्छ।

नेपाली सिनेमा हिन्दी सिनेमाबाट निकै प्रभावित हुने गर्दछ। उस्तै भाषा र वातावरण भएको नेपाल र नेपाली सिनेमा हिन्दी सिनेमाबाट अक्सर प्रेरणा लिने गर्दछ। तर यस्ता फिल्मले कस्तो मनोविज्ञान विकास गर्छ ? यो फिल्म सफल हुनुको परिणाम कस्तो हुन्छ भन्ने कुरा हामीले क्रिटिकल भएर हेर्नु जरुरी छ।

हामीलाई अल्फा मेल समाजमा चाहिएको छ त ? महिला कन्ट्रोल गर्नुपर्छ भन्ने धारणा भएको पुरुषले महिला कतिको सुरक्षित राख्छन् ? कसलाई अवैध सम्बन्धलाई प्रेरणा मान्ने श्रीमान चाहिएको छ ? अल्फा मेल समाजका नायक हैनन्, खलनायक हुन् । महिलालाई बच्चा पैदा गर्ने मेसिन सोच्ने, आमाको ममता नदेख्ने, श्रीमतीको केही पनि नमान्ने अल्फा मेल मेरो लागि आदर्श पुत्र, पिता र श्रीमान हैनन् ।

म त्यस्तो समाज चाहन्छु जहाँ मेरो आमाको निम्ति प्रेम र सम्मान मेरो बुवाको जत्तिकै होस् । जहाँ प्रेमको परिभाषा दुईतर्फी समर्थन, सम्मान, सहानुभूति र करुणामा आधारित होस्। हामी यो दशकमा हरेक खालको पात्र हेर्न तयार छौं तर हामी त्यो पात्रलाई साहस र समर्थन दिन चाहँदैनौं। रणविजय खलनायक हुन् र उनले कहिले पनि नायकको दर्जा पाउन सक्दैनन् ।

म अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्छु तर म जवाफदेहितासँग सम्झौता गर्न सक्दिन । यथार्थमा कैयौं रणविजयहरू यो समाज मै घुमिरहेका छन् । उनीहरूको घमण्ड, दुर्व्यवहार, पागलपनलाई म ग्ल्यामराइज भने गर्न सक्दिनँ । तसर्थ यो फिल्म मेरो निम्ति हानिकारक छ । यो चलचित्र खलनायक हो, नायकको हैन । तसर्थ, एनिमलको पात्र इज नट माइ हिरो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?