+
+

ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सुरु, नेपाली फिल्म र सिरिज हेर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १३:१८

काठमाडौं । नेपाली ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ आरम्भ भएको छ । सोमबार काठमाडौंमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सब्सक्रिप्सनमा आधारित उक्त प्लेटफर्म लन्च गरे । ओटीटी प्लेटफर्मको निर्माता कम्पनी कान्तिपुर फिल्म एकेडेमी हो ।

दर्शकले एन्ड्रोइड र आईओएस अपरेटिङ सिस्टमका मोबाइल स्मार्टफोन, वेब र स्मार्ट टीभीबाट फिल्म र सिरिज हेर्न पाउनेछन् । यसका लागि २९९ रुपैयाँ शुल्क लाग्नेछ ।

ओटीटी लन्चसँगै दर्शकले ‘ज्याकी आईएम ट्वान्टी वान’, ‘जुलेबी’ फिल्म हेर्न सक्नेछन् । ‘ब्रह्माण्ड’ र ‘लभसूत्र’ सिरिज पनि हेर्न पाउनेछन् । छोटो फिल्म ‘मदर’, ‘खरानी’, ‘ऋतु’ र ‘मिस सेक्रेट’ लगायत पनि प्लेटफर्ममा उपलब्ध छन् ।

ओलीले शुभकामना दिंदै नयाँ प्रविधिलाई आत्मसात गर्दै सुरु भएको प्लेटफर्मले सफलता पाउने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालमा भारत र चीनको जस्तो ठूलो जनसंख्या छैन । यसैले यहाँ फिल्म चलेर पनि कलाकारलाई जीवन जिउन गाह्रो छ । धेरै जनसंख्या भएको मुलुकमा एउटा गीत चले पनि जिन्दगी बन्छ । तर यहाँ दीपकराज गिरीजस्ता कलाकारलाई भोलि के हुने हो भन्ने चिन्ता छ ।’

एकेडेमीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीले अनलाइन पेमेन्ट गरेर सब्स्क्रिप्सन गर्न सकिने बताउँदै ‘कान्तिपुर सिनेमाज’ नेपालको पहिलो सब्स्क्रिप्सन ढाँचाको ओटीटी प्लेटफर्म भएको दाबी गरे । ‘यो प्लेटफर्ममा नयाँ नेपाली फिल्म, सर्ट फिल्म र सिरिज हेर्न पाउनुहुनेछ,’ उनले भने ।

बोर्ड अध्यक्ष भुवन केसीले ‘कान्तिपुर सिनेमाज्’  दर्शक र मेकर दुवैका लागि उपयुक्त प्लेटफर्म हुन सक्ने बताए । विश्वभरका नेपाली सिनेमा पारखीका लागि ओटीटी राम्रो माध्यम भएको भन्दै उनले यसले नेपाली सिनेमालाई थप विस्तार गर्ने बताए । ‘विश्वका नेपालीलाई जोड्ने माध्यमको रुपमा यसले काम गर्न सक्छ,’ केसीले भने ।

अभिनेता तथा निर्माता दीपकराज गिरीले ओटीटी प्लेटफर्म सञ्चालन गर्नु भनेको एउटा ठूलो चुनौतीको काम भएको भन्दै यसमा सफलता पाउनेमा विश्वास व्यक्त गरे । सानो बजार रहेकाले नयाँ फिल्म पाउन र दर्शकलाई दिन सक्नु नै ओटीटीका लागि चुनौती हुने उनको भनाइ थियो ।

टेलिभिजन प्रस्तोता तथा अभिनेता सुरजसिंह ठकुरीले ओटीटीबाट अन्य मुलुकका नागरिकलाई पनि नेपाली विषयवस्तुमा आकर्षित गर्न सकिने बताए । यसका लागि सब–टाइटल राखेको खण्डमा राम्रा सामग्रीले नेपालीको मात्र नभएर विदेशीहरुको पनि मन जित्न सक्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?