+
+

पाटनमा भूकम्पले जीर्ण बनेका सम्पदा अझै त्रिपालमुनि

रासस रासस
२०८० असोज ३० गते १९:३८
३० असोज, ललितपुर । विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा ऐतिहासिक सम्पदा छन् । विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएका अधिकांश सम्पदा पुनः निर्माण भए पनि केही अझै पुनः निर्माण प्रक्रियामा छन् ।
पुनः निर्माणका लागि अन्योलमा रहेका जीर्ण सम्पदाहरु अझै पनि त्रिपालमुनि रहेका छन् । जीर्ण रहेका कतिपय सम्पदा कहिले र कसले पुनः निर्माणको जिम्मा लिने भन्ने विषयमा अन्योल छ ।
पाटन दरबार क्षेत्रका कतिपय सम्पदाहरुलाई गुठी संस्थानले व्यक्तिगत व्यापारिक प्रयोजनका लागि भाडामा दिएको छ । स्थानीयहरुले भाडा तिरेर वर्षौंदेखि सम्पदालाई व्यापारिक प्रयोजनका लागि प्रयोग गरेका छन् । ऐतिहासिक रुपमा रहेका सम्पदाहरु वर्षातको समयमा पानी चुहिने भएकाले छानामा त्रिपाल राखेको देखिन्छ ।
पाटन दरबारको एउटा सम्पदामा व्यवसाय सञ्चालन गरेका तरिका वा आफूले त्यहाँ व्यवसाय सुरु गरेको ३५ वर्ष भएको बताउनुहुन्छ । उहाँले व्यवसाय सञ्चालन गरेको सम्पदामा अरू पनि धेरै पसल छन् । भूकम्पपछि जीर्ण बन्दै गएको सम्पदाको छानामा त्रिपाल राखिएको छ ।
पाटन दरबार क्षेत्रको ऐतिहासिक तलेजु मन्दिरलाई पनि भूकम्पले क्षति पुर्‍याएको थियो । अन्य सम्पदा भूकम्पपछि पुनः निर्माण भए पनि तलेजु मन्दिरको पुनः निर्माणको काम अझै सकिएको छैन ।
निर्माणको थालनी भएको तलेजु मन्दिर पनि कामको ढिलासुस्तीको कारण त्रिपालमुनि रहेको छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका सूचना अधिकारी शारदा शिवाकोटीले अब काम चाँडै सकिने बताए ।
पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक लामपाटी जीर्ण अवस्थामा छ । जीर्ण अवस्थामा रहेको लामपाटीको एकातिरको छाना पुरै त्रिपालले छोपिएको छ । ऐतिहासिक रुपमा रहेको लामपाटी सम्पदालाई स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले व्यापारिक प्रयोजनका लागि व्यक्तिलाई भाडामा दिएको छ । त्यहाँ एउटा होटल र अन्य व्यवसाय सञ्चालन भइरहेको छ ।
जीर्ण अवस्थामा रहेको लामपाटीको पनि पुनः निर्माण प्रक्रियामा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका सूचना अधिकारी शिवाकोटीले बताउनुभयो । उहाँका अनुसार ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा पुनः निर्माण हुने भनेको लामपाटी सम्पदाको काम अझै सुरु भएको छैन ।
पाटन दरबार सङ्ग्रहालय छेउमा रहेको ऐतिहासिक अदालत भवनमा घाँस उम्रेको छ । घाँसले पुरिन आँटेको जीर्ण भवनको पुनः निर्माण भारतीय राजदूतावासले जिम्मा लिएको छ ।
लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?