+
+
ब्लग :

सम्पदा: माल पाएर चाल नपाएका हामी

विकसित देशहरू भन्दा सांस्कृतिक दृष्टिकोणले हामी अति सम्पन्न छौं। यद्यपि सम्पदा संरक्षणको मानेमा अझै गरीब नै छौं। पुर्खाहरूले छोडेर गएका धरोहरहरू हामी अहिले बनाउन सक्दैनौं। जोगाउन चाहि पक्कै सक्छौं।

 

क्रान्तिमान श्रेष्ठ क्रान्तिमान श्रेष्ठ
२०८० पुष १७ गते १४:१८

जापानी पाहुनाहरूसँग हामी धनकुटा बजार उक्लिरहेका थियौं। थौरै माथि पुगेपछि अचानक उनीहरूले चढिरहेको गाडी रोक्न लगाए। अनि ओर्लिएर खुरूखुरू पैदल हिंड्न थालें। अन्यमनस्क हामीले पाहुनाहरूलाई गाडी चढ्न अनुरोध गर्‍यौं। तर पटक्कै मानेनन्।

पछि थाहा भयो त्यसको मुख्य कारण बजार बीचको आँगनमा बिछ्याइएको ढुङ्गा पो रहेछ। बाबु–बराजुका पालादेखि आँगनमा छापिएका ती ढुङ्गाहरूप्रति हामीलाई कुनै चासो थिएन। जुन आँगन माथि हामी सानोमा गुच्चा र भकुण्डो खेल्थ्यौं। ढुङ्गा हाम्रो तर नासिने, भत्किने डर र चिन्ता चाहिं उनीहरूमा थियो।

हाम्रो लागि सिर्फ ढुङ्गा थियो तर जापानीहरूको नजरमा चाहिं सम्पदा र बजारको सौन्दर्य। यसबाट पनि प्रष्ट हुन्छ कला संस्कृति र सम्पदाप्रति हामी बीचको फरक दृष्टिकोण अनि संवेदनशीलता।

न्यातपोल, कृष्ण मन्दिर जस्तै विश्व सम्पदा सूचीमा दरिएको जापानको प्रसिद्ध हिमेजी दरबारतर्फ तपाईंहरूलाई एकैछिन डोर्‍याउँछु है। सो दरबारको भुईंतला भित्र प्रवेश गर्नको लागि ढुङ्गाको सिंढी देखिन्छ। तर कुल्चन पाइन्न। अर्को वैकल्पिक बाटो भएर भित्र छिर्नुपर्दछ।

आडैको सूचनापाटीमा लेखिएको छ— ‘चार सय वर्ष पुरानो सांस्कृतिक सम्पदा यस सिंढीमा नटेकिदिन अनुरोध गरिन्छ।’

६ तले यस दरबार माथिको तला उक्लनका लागि भने काठका विशाल भर्‍याङहरू छन्। तर जुत्ता लगाउन बन्देज छ। खाली खुट्टा दरबारको भित्री कक्ष अवलोकन गर्नुपर्दछ।

भक्तपुरको ऐतिहासिक न्यातपोल मन्दिरको सिंढी चढेर हामी वरिपरि घुम्छौं, तस्वीर खिच्छौं। यतिसम्म त ठिकै छ। तर कति मिहिनेतले बनाएका हात्ती र मान्छेका मूर्तिहरू माथि खुलेआम चढ्छौं र फोटोहरू खिच्छौं। काष्ठकलाको जीवन्त नमूना बनेर ठडिइरहेका सुन्दर खम्बाहरूमा कतिले कोरिरहेका मात्र हैन, कोट्याएर दाग पनि लगाइरहेका हुन्छन्।

यसै गरी ढुंगै ढुङ्गाले बनिएको विश्व सम्पदा कृष्ण मन्दिरको सिंढी जुत्ता लगाएरै उक्लन्छौं। मन्दिर वरिपरि घाम तापेर सुन्तला खाँदै गफ पनि लडाइराखेका हुन्छौं।

तुलना गर्ने नै हो भने हाम्रा मन्दिरहरूको इतिहास त झनै पुरानो हैन र ? जुन वास्तुकला, शिल्प कलाका हिसाबमा पनि विश्वकै उत्कृष्ट मानिन्छ। तर सम्पदा संरक्षणमा हामी कुन पानीमा छौं भन्ने कुरा माथिको उदाहरणले नै प्रष्ट पार्दछ।

सोही दरबारभित्र नेपालमा जस्तै पानीका इनारहरू पनि देख्न सकिन्छ। शत्रुहरूले आक्रमण गरिहालेमा पानीको हाहाकार नहोस् भनेर तेत्तीस वटा इनार खनाइएको भएतापनि हाल एघार वटा मात्र अस्तित्वमा छन्।

जापानका प्राचीन मठ–मन्दिर तथा अन्य स्थलहरूमा यस्ता इनारहरू प्रशस्त देख्न सकिन्छ। तर इनार नै किन नहोस् त्यसको सांस्कृतिक गरिमा तथा निर्माण सम्बन्धी सम्पूर्ण अभिलेखहरू मुद्रित गरेर त्यहाँ टाँसिएको हुन्छ। चाहे त्यो ताम्रपत्रमा होस् या शिलालेखमा।

तर हामी भने मल्लकालमै बनिएको अझ त्यस माथि जीवित देवी कुमारीले प्रयोग गर्ने ऐतिहासिक इनारको बारेमा नै अझै अनभिज्ञ रहेछौं।

हालै मात्र एकजना चर्चित गायकले काठमाडौं दरबार स्क्वायरमा अवस्थित यही प्राचीन इनार माथि टेकेर बनाएको म्यूजिक भिडियो निकै भाइरल र विवादास्पद बन्यो। राष्ट्रिय गायक भनाउँदोको सम्पदा चेत त यस्तो छ भने अरूको के होला?

अर्को कुरा विवादमा आइसकेपछि इनार माथि टेक्न मनाही गरिएको सूचना टाँसियो। इनारको ऐतिहासिक महत्वको बारेमा लेखिएको जानकारी त्यहाँ टाँसिएको भए सायद टेक्ने धृष्टता गर्ने पनि थिएनन् होला। जुन कुरो पहिले नै भइसकेको हुनुपर्थ्यो।

न्यातपोल जस्तै लाग्ने प्यागोडा मन्दिरहरू जापानमा देख्न पाउँदा नेपालको झझल्को नआउने कुरै हुँदैन। प्यागोडा शैली नेपाल, भारत भएर चीन, कोरिया हुँदै जापान भित्रिएको मानिन्छ। तर अधिकांश यस्ता मन्दिरहरू भित्र प्रवेश गर्न पाइन्न। बाहिरबाटै दर्शन गर्नुपर्ने हुन्छ। जसको तात्पर्य प्राचीन मन्दिरलाई जोगाउनु नै हो।

संरक्षण, सम्वर्धनको अलावा विदेशतिर यस्ता पुरातात्विक स्थल र वरिपरिका क्षेत्र सफा र चिटिक्क पारिएको हुन्छ। पोहोर साल म जानकी मन्दिरको दर्शन गर्न गएको थिएँ। जुन मदेश प्रदेशको शान मात्र नभएर देशकै ऐतिहासिक सम्पदा पनि हो। तर वर्षेनि लाखौं पर्यटकले भ्रमण गर्ने मन्दिरको पछिल्तिर भाग दिसापिसाबले दुर्गन्धित भैरहँदा स्थानीय सरकार र सम्बन्धित निकायलाई लाज लाग्नुपर्ने हैन र ? हाम्रा अन्य सम्पदा वरपरको हालत पनि करीब यस्तै नै छ।

जापानको प्राचीन राजधानी नाराको एउटा मन्दिर सामुन्ने सेल्फी लिइरहेको थिएँ। प्यागोडा शैलीमा निर्मित यो मन्दिरले पाटनस्थित कुम्भेश्वर महादेव मन्दिरको सम्झना दिलाइरहेको थियो। कोही अन्जान मान्छे बोल्न खोजिरहेको लाग्यो। तर मैले थाहा नपाए झैं गरिरहेको थिएँ।

‘दाइहरू नेपाली हुनुहुँदोरहेछ’ हामीले नेपाली बोलेको सुनेर उनी आफैं नजिकै आए। बिरानो ठाउँमा नेपाली भेटेर खुशीले परिचय साटासाट गर्यौं। उनको काम मन्दिर भ्रमण गर्न आउने पर्यटकहरूलाई बाटोमा उभिएर गाइड गरिदिनुरहेछ। पर्यटन सम्बन्धित संस्था मार्फत नेपालबाट छनोट भएर आएका रहेछन्।

त्यतिखेर मैले पशुपतिनाथ दर्शन गर्न जाँदाको कुनै क्षण सम्झें। एकजना भारतीय पर्यटक जुत्ता राख्ने ठाउँ खोजिरहेका थिए। अर्को चाहिं मन्दिर पुग्ने बाटो सोधिरहेका थिए। जापानका प्रायः राष्ट्रिय सम्पदा स्थलहरूमा गाइडहरू या सूचना केन्द्रको व्यवस्था गरिएको हुन्छ।

विकास निर्माणका नाममा हाम्रा ऐतिहासिक सम्पदाहरू माथि संरक्षण त के उल्टै धावा बोलेर अतिक्रमण गर्ने प्रयास गरिन्छ। नचाहिने ठाउँमा टावर बनाएर करोडौं खर्च गर्न तयार पालिकाहरू स्थानीय पुरातात्विक सम्पदा माथि आँखा चिम्लेर बस्छन्।

एकताका प्रताप मल्लले बनाएको ऐतिहासिक रानीपोखरी पुरेर क्याफे शप बनाउने योजना ल्याइयो। किरात आस्थाको केन्द्र खुवालुंग भत्काउन खोजियो। अरू त के कुरा वर्तमान राष्ट्रपतिको गृहनगरमा रहेको आदिकवि भानुभक्त सम्बन्धित घाँसी कुवा नै अतिक्रमणको चपेटामा परिरहेछ। समाचारमा लेखिए अनुसार सडक विस्तारको क्रममा सक्कली कुवा भत्काएर नक्कली घाँसी कुवा बनाइँदैछ।

ऐतिहासिक सम्पदाहरू भत्काउनु पक्कै विकास होइन। हामीले देशलाई विकास गरेर नेताहरूको चुनावी भाषण जस्तो सिंगापुर, हङकङ बनाउन सक्छौं। तर सांस्कृतिक नगरी काठमाडौं बनाउन सक्दैनौं।

उपत्यकाका बाटाघाटाहरूमा अझै पनि अमूल्य मूर्ति र मन्दिरहरू असरल्ल छरिएको पाइन्छ। विकसित देशहरूमा भए तिनीहरूको अभिलेख राखेर संरक्षणमा ध्यान पुर्‍याइन्थ्यो। राजधानीमा मात्र नभएर नेपालका विविध जातजाति धर्मसँग सम्बन्धित पुरातात्विक मठ–मन्दिर, चैत्य, गुम्बा, इनार, पोखरी, गुफाहरू संरक्षणको पर्खाइमा छन्।

जतिवटा सरकार आए गएतापनि सम्पदा संरक्षणमा संवेदनशील भएको पाइन्न। यसकारण हाम्रा अनगिन्ती ऐतिहासिक सामग्री र मूर्तिहरू चोरेर बेचिए। अझै कति विदेशी संग्रहालयमा सजिएका छन्।

हामीले माल पाएर चाल नपाएका भने पक्कै हौं। सरकारी उदासीनताका अलावा जनस्तरमा पनि सम्पदा सम्बन्धी चेतनामा हामी कमजोर छौं।

विकसित देशहरू भन्दा सांस्कृतिक दृष्टिकोणले हामी अति सम्पन्न छौं। यद्यपि सम्पदा संरक्षणको मानेमा अझै गरीब नै छौं। पुर्खाहरूले छोडेर गएका धरोहरहरू हामी अहिले बनाउन सक्दैनौं। जोगाउन चाहिं पक्कै सक्छौं। यसर्थ ती अमूल्य पुरातात्विक नासोहरूलाई जोगाउन हामी अझ बढी जागरूक बन्नुपर्ने हैन र ?

लेखक अनेसास जापानका सल्लाहकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?