+
+

अमेरिकाबाट फिर्ता ल्याइए २ पुरातात्विक सम्पदा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १९:२६

२१ मंसिर, काठमाडौं । अमेरिकाबाट नेपाल फिर्ता ल्याइएका दुईवटा पुरातात्विक महत्वको वस्तु पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ । जसमा प्रस्तरको श्रीधर विष्णुको मूर्ति र साँघुमाथि उभिएको योगासन मुद्राको नारी मूर्ति अंकित काष्ठ टुँडाल रहेका छन् ।

११ औं शताब्दीको मानिएको श्रीधर विष्णुको मूर्ति ललितपुरको बुङ्मतीस्थित कोटाटोलको बाहिली हिटीबाट सन् १९८० को दशकमा हराएको विभागले बताएको छ ।

त्यस्तै १३ औं वा १४ औं शताब्दीको मानिने साँघुमाथि उभिएको योगासन मुद्राको नारी मूर्ति अंकित काष्ठ टुँडाल ललितपुरको पाटन दरबार स्क्वायर परिसरबाट हराएको थियो ।

अमेरिकाको न्यूयोर्कस्थित द मेट्रोपोलिटन म्युजियम अफ आर्टमा पुगेका ती कलात्मक वस्तुहरुको उत्पत्तिस्थल नेपाल भएको प्रमाण दिएपछि म्युजियमले नेपालमा फिर्ता दिने निर्णय गरेको पुरातत्व विभागले बिहीबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

ती पुरातात्विक सम्पदा अमेरिकी म्युजियमले आफ्नै ढुवानी खर्चमा नेपाल पठाएको हो र म्युजियमका वरिष्ठ कलाविद् जोन स्ट्यानली गे ती सम्पदा लिएर बुधबार आफैं नेपाल आएका थिए ।

विभिन्न समयमा नेपालबाट हराएका पुरातात्विक महत्वका सम्पदाहरु धेरै फिर्ता आउन थालेको विभागको भनाइ छ । हालसम्म संयुक्त राज्य अमेरिकाबाट मात्र ७० भन्दा बढी सम्पदा फिर्ता आएका छन् ।

बेलायत, अष्ट्रिया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी, अष्ट्रेलिया र इटालीबाट गरी कुल १४३ थान मुर्ति तथा कलावस्तु फिर्ताको पहल भइसकेको विभागले विज्ञप्तिमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?