+
+

आम्मा ! कति महँगो च्यांग्रा (तस्वीरहरु)

विकास रोकामगर विकास रोकामगर
२०८० कात्तिक २ गते १९:५१

पोखरा । दशैंका लागि बिक्री गर्न व्यवसायीले हिमाली जिल्लाका भेडाच्यांग्रा पोखरा ल्याएका छन् । पोखराको हेम्जा, याम्दी सिम्पानी क्षेत्र छपक्कै छोप्ने गरी हजारौं भेडा च्यांग्रा बिक्रीका लागि राखिएका छन् ।

दशैंमा बेच्न पोखरासम्म झारिएका भेडाच्यांग्रा किन्ने र हेर्नेहरुका कारण हेम्जा क्षेत्रमा भिडभाड छ । दशैंको पाँचौैं दिन बिहीबार हेम्जा क्षेत्रमा भेडा, च्यांग्रा किन्न गएकाहरुको विहानदेखि नै भिड लाग्यो ।

यसवर्ष भेडाच्याङ्ग्राको मूल्य गत वर्षहरुमा भन्दा बढी छ । भेडाच्याङ्ग्रा किन्न गएकाहरु भाउ सुनेपछि छक्क पर्दै भन्थे, ‘आम्मा कति महंगो हो ?’

यसपटक पोखरा ल्याइएका भेडा च्यांग्राको मूल्य २५ देखि ६० हजार रुपैयाँसम्म छ । उत्तरी नाका नखुल्दा नेपालकै हिमाली क्षेत्रबाट कष्टका साथ ल्याउनुपर्ने र ढुवानीमा पनि उस्तै महंगो पर्ने भएकाले भेडा च्यांग्राको मूल्य महंगो पर्न गएको व्यवसायीको दाबी छ ।

‘४/५ दिन हिडाएर पोखरा ल्याउनुपर्छ । त्यसमाथि गाडीमा ल्याउँदा त्यसको पनि भाडा महंगो छ । केही वर्षअघिसम्म हामीलाई पनि सस्तो नै पर्थ्यो, सस्तैमा बेच्थ्यौं’, बझाङका राजेन्द्रबहादुर धामीले भने, ‘एक हिसाबले भन्दा यो हाम्रो बाध्यता पनि हो ।’

अघिल्लो वर्ष पोखरामा ३२ हजारदेखि ४५ हजार रुपैयाँसम्ममा च्यांग्रा किनबेच भएको थियो । बर्सेनि भेडा, च्यांग्राको मूल्य अचाक्ली बढ्न थालेपछि पहिले व्यक्तिगत रुपमा च्याङ्ग्रा किन्नेहरु अहिले सामूहिक रुपमा किन्न थालेका छन् ।

‘पहिले पहिले त सिंगल खाइन्थ्यो । अहिले किन्न सकिन्न’, ४ परिवारले बाँडेर खाने गरी एउटा च्यांग्रा किनेका सुन्दर गुरुङले भने, ‘महंगो पनि कति महंगो परेको हो ?’

अघिल्ला वर्षहरुमा उत्तरी जिल्ला डोेल्पा, चीनको तिब्बतलगायत क्षेत्रबाट च्यांग्रा दसैंको छेको पारेर पोखरा ल्याइन्थ्यो । तर, कोभिड–१९ महामारीपछि चीनसँगको नाका बन्द भएका कारण बझाङ, दार्चुला, मुस्ताङलगायत जिल्लाबाट भेडा च्यांग्रा ल्याउने गरिएको छ । व्यवसायीका अनुसार यसपटक मुस्ताङदेखि करिब ६ हजार र पश्चिमका हिमाली जिल्लाबाट ३ हजार भेडा च्यांग्रा पोखरा ल्याइएको छ ।

पोखरामा अघिल्लो वर्ष करिब १२ हजार भेडा च्यांग्राको किनबेच भएको थियो । यसवर्ष पनि सोही हाराहारीमा बिक्री हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको अनुमान छ ।

हेर्नुहोस् तस्वीरहरु 

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?