+
+

समय व्यवस्थापनको एउटा नमूना : राष्ट्रिय सभा समयमा चल्छ

अध्यक्ष गणेश तिमिल्सिना भन्छन्, ‘आफूलाई राष्ट्रिय सभाको नेतृत्व गर्ने अवसर मिलेपछि प्रण गरें– बैठक तोकिएको समयमै सुरु गर्छु ।’ नभन्दै अहिले माथिल्लो सभाको बैठक समयनिष्ठ रूपमा सुरु हुने पद्धतिनै बसेको छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० कात्तिक ६ गते १०:२७

६ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाको बैठकको समय तोक्ने सम्बन्धमा नयाँ अभ्यास छ । कुन दिन बैठक राख्ने हो तय गरेपछि ११ बजेर ५९ मिनेटमा, १ बजेर १४ मिनेटमा, २ बजेर ३१ मिनेटमा, १२ बजेर ४६ मिनेटमा बैठक बोलाउने निर्क्योल हुन्छ ।

एकैदिन दुई वटा बैठक बस्नुपर्यो वा अवरोधका कारणले स्थगित गर्नुपर्यो र सोही दिन अर्को बैठक राख्नुपर्यो भने १६ मिनेट पछि, २९ मिनेट वा ३१ मिनेट वा ५९ मिनेटपछि बस्ने भनी सभा अध्यक्षले समय निर्धारण गर्छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार,सुरु–सुरुमा कतिपयले यस्तो ‘अल्टर समय’ किन भनेर टिप्पणी गर्दथे ।तर, ठीक समयमा बैठक सुरु गर्न यो अभ्यास सहयोगी भएको छ’ उनी भन्छन्, ‘किन यस्तो गरेको होला भन्ने चासो हुनेभयो ।यसले राष्ट्रिय सभा समयमा चल्छ भन्ने सन्देश प्रवाह गर्यो ।’

राष्ट्रिय सभाको बैठक समयमै चल्नु राष्ट्रिय सभा सचिवालय र अध्यक्ष तिमिल्सिनाको पहलकदमी र निरन्तरको मिहिनेतको परिणाम हो । अध्यक्ष तिमिल्सिनाका अनुसार, उनी राष्ट्रिय सभाको नेतृत्वमा आउनु अगाडिको सामाजिक, राजनीतिक जीवनमा समयमा केही सुरु नभएको देखेर वाक्क थिए ।

‘संसद्मा बैठकहरू पनि समयमा सुरु नभएका समाचारहरू पढ्थें । घण्टौं ढिलो सुरु भएको समाचारले झस्काउँथ्यो’ अध्यक्ष तिमिल्सिना स्मरण गर्छन्, ‘आफैंलाई एउटा सभाको नेतृत्व गर्ने अवसर मिलेपछि प्रण गरें– बैठक तोकिएको समयमै सुरु गर्छु ।’

सुरु–सुरुमा अध्यक्ष तिमिल्सिनाले सोचे जस्तो सहज भएन । उनले सबै दलका सचेतकहरूसँग पटक–पटक छलफल गरे । सत्तापक्षका सचेतकहरूसँग ज्यादा छलफल गरे ।

‘सम्बन्धित मन्त्रीहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूलाई, सत्तापक्षका सांसदलाई निरन्तर भन्थें– मन्त्री निर्धारित समयमा उपस्थित नभए हाउसबाट घोषणा गर्छु’ उनी सम्झन्छन्, ‘हाउसबाटै सरकारका कारण बैठक ढिलाइ भएको भन्दा सरकारकै बारेमा नकारात्मक सन्देश जाने डरले पनि मन्त्रीहरू समयमै उपस्थित हुन थाले ।’

संसद्को बैठक चल्दा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री समेत अनिवार्य उपस्थित हुनुपर्ने कानुनी व्यवस्था छ । ‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रूपमा हुनुपर्नेछ र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्नेछ’– राष्ट्रिय सभा नियमावलीको नियम ६ को उपनियम ५ मा भनिएको छ ।

अध्यक्ष तिमिल्सिनाका अनुसार सुरु–सुरुका केही बैठकहरू समयमै सुरु भएनन् । विस्तारै दश मिनेट कुर्ने, सात मिनेट कुर्ने, पाँच मिनेट कुर्ने भनेर घटाउँदै लगेर शून्यमा झारिएको र अहिले तोकिएकै समयमा राष्ट्रिय सभाको बैठक सुरु गर्ने गरिएको छ ।

संसदीय विषयगत समितिका बैठकहरू समेत तोकिएकै समयमा सुरु गर्ने र अन्य सार्वजनिक कार्यक्रममा सरिक हुँदा समयमै उपस्थित हुने संस्कारका लागि निरन्तर प्रयत्नशील रहेको बताउँछन् अध्यक्ष तिमिल्सिना । उनका अनुसार उनी संसदीय विषयगत समितिका सभापतिहरूलाई समयमै बैठक सुरु भए/नभएको बारे आफैं सोधीखोजी गर्छन् ।

‘राष्ट्रिय सभाका समिति, उपसमितिहरूको बैठक ठीक समयमा बस्नुपर्छ । राष्ट्रिय सभाका सदस्यहरू बाहिर जाँदा पनि समयमै पुग्नुपर्छ’ उनी भन्छन्, ‘एकछिन भन्ने चलन छ त्यो भनेको कति मिनेट ? कति सेकेण्ड ? भनेर सोध्छु । अविलम्ब भन्ने अमूर्त कुरा गर्ने चलन छ । यसलाई तोड्नुपर्छ भन्ने लाग्छ ।’समयमै काम नगर्दा त्यसले देशको समग्र प्रणाली प्रभावित हुने उनको बुझाइ छ ।

‘देशको प्रगति नहुने मध्ये यो एउटा कारण हो । समयमै काम गरेनौं, समयमा आयोजना सकेनौं, समयमै राजस्व उठाउन सकेनौं’ उनी थप्छन्, ‘१० वर्षमा बनाउन भनेको मेलम्ची समयमा सकेको भए अहिलेसम्म त्यस्ता थप दश वटा आयोजना बन्थ्यो त्यही पैसामा । पाँच वर्षमा सक्ने भनेको एउटा हाइड्रोपावर १०/१५ वर्ष लगाउँछौं । समयको यसखाले नेपाली पाराले देशको समग्र प्रगतिमा असर गरेको छ ।’

यसमा सुधार गर्न के गर्नुपर्ला ? जो जहाँ छ त्यहींबाट समय व्यवस्थापनका लागि प्रयास गर्नुपर्ने उनको सुझाव छ, ‘आफू जहाँ जे गरिरहेको हो, त्यहींबाट समयको महत्व बुझेर काम गरे देश बनाउन मद्दत पुग्छ ।’

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका सचेतक अनिता देवकोटा नेपाली टाइम भन्ने भाष्य राष्ट्रिय सभाको बैठकको हकमा तोडिएको बताउँछिन् । उनले अनलाइनखबरसँग भनिन् ‘जे गरे पनि हुन्छ भन्ने कुरा राष्ट्रिय सभाको बैठकमा छैन । मन्त्रीहरू जो सरकारमा भए पनि समयमै आउनुहुन्छ । हामी सांसदहरूसमयमै उपस्थित हुन्छौं । यो एउटा संस्कार भएको छ ।’

सभा र विषयगत समितिका बैठकहरू समयमै सुरु भएका कारण राष्ट्रिय सभामा विधेयकहरू अड्किएको गुनासो सुन्नु नपरेको बताउँछन् नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहाल ।

‘बरु सरकारले राष्ट्रिय सभालाई बिजनेस कम दिइरहेको छ । दिएको बिजनेस समयमै अगाडि बढेका छन्’ उनी भन्छन्, ‘सरकारले आवश्यक विधेयकहरू समयमै ल्याए हामी समयमै काम सिध्याउँछौं, देश एउटा लयमा गइहाल्छ ।’

राष्ट्रिय सभामा स्थापित यो थिति प्रतिनिधिसभामा पनि देख्न पाए हुन्थ्यो भन्ने एमाले राष्ट्रियसभा संसदीय दलका नेता दाहाललाई लाग्छ ।

राष्ट्रिय सभा नियमावलीको नियम ६ मा बैठकको सञ्चालन र स्थगनसम्बन्धी व्यवस्था छ । जहाँ ‘तोकेको समयदेखि एक घण्टासम्म पनि बैठक प्रारम्भ हुन नसकेमा अध्यक्षले सो बैठक स्थगन गरी अर्को बैठकको लागि सूचना गर्ने’ भनिएको छ । यस्तो अवस्था विगत पाँच वर्षमा एक पटक पनि नआएको राष्ट्रिय सभा सचिवालयको भनाइ छ ।

सभामुख देवराज घिमिरे प्रतिनिधिसभा बैठकलाई पनि तोकिएकै समयमा सुरु गर्ने प्रयासमा रहेको बताउँछन् । पछिल्ला केही बैठकहरू समयमै सुरु गरेको र समयमै बैठक सुरु गर्दा सकारात्मक सन्देश प्रवाह भएको उनको अनुभव छ ।

१७ माघ २०७९ मा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले संसद बैठकमा समयमै उपस्थित हुने, मर्यादित पोशाक लगाउने र राष्ट्रिय गान बजाउने व्यवस्था गर्न सुझाएकी थिइन् ।

पार्टीको तर्फबाट सांसद गौतमले राखेको प्रस्ताव अनुसारको भाषा नियमावलीमा नपरे पनि त्यस अनुरुपको व्यवहारको खोजी आफूहरूले निरन्तर गरिरहेको बताउँछन् रास्वपाका प्रमुख सचेतक सन्तोष परियार ।

‘मुद्दामा अलमल हुँदा सदनका बैठक समयमै नचलेका हुन् । सदनभित्रका मुद्दाहरूलाईबेवास्ता गरेर जानुभएन । कुनै पनि मुद्दामा कुनै दलको पोजिशन नहुँदा समयमै बैठक सुरु हुन नसकेको हो’ उनी थप्छन्, ‘समयमै बैठक सुरु गर्ने र अन्त्य गर्ने प्रयास निरन्तर छ ।’

प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयको दुई घण्टासम्म बैठक प्रारम्भ भइसक्नुपर्ने हुन्छ । अन्यथा, सभामुखले बैठक स्थगन गरी अर्को बैठकको सूचना जारी गर्नुपर्छ । नियमावलीको नियम ६ मा प्रतिनिधिसभा बैठकको सञ्चालन र स्थगन सम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ– ‘सभामुखले अन्यथा आदेश दिएमा बाहेक सामान्यतया दिनको १ बजे बैठक प्रारम्भ हुनेछ । तर निर्धारित समयको दुई घण्टासम्म पनि बैठक प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगन गरी अर्को बैठकको सूचना गर्नेछन् ।’

प्रतिनिधिसभा नियमावलीले प्रतिनिधिसभा बैठक सञ्चालनमा सभामुखलाई जिम्मेवार बनाएको छ । ‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्नेछन्’ नियमावलीको नियम ६(४) मा उल्लेख छ ।

सभामुखले उपसभामुखलाई लिखित निर्देशन दिएमा वा सभामुख काबु बाहिरको परिस्थिति परी बैठकमा उपस्थित हुन नसकेमा उपसभामुखले बैठकको प्रारम्भ तथा स्थगन वा सभामुखले प्रारम्भ गरेको बैठकको स्थगनको घोषणा गर्न पाउनेछन् ।

प्रतिनिधिसभाको बैठक सञ्चालन हुनका लागि समेत मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्दछ । कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने कानुनी व्यवस्था छ । बैठक सञ्चालनमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका पदाधिकारीले सहयोग गर्ने विषयलाई पनि नियमावलीमै लेखिएको छ । तर पनि प्रतिनिधिसभाका धेरैजसो बैठकहरू अहिले पनि समयमा सुरु हुनसकेका छैनन् ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार भन्छन्, ‘निर्धारित समय अगावै मतभेद टुंगो लगाउने र समयमै संसद बैठक सुरु गर्ने अभ्यासका लागि प्रतिनिधिसभा पनि प्रयासरत छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?