+
+

रहेनन् हलिउड अभिनेता म्याथ्यु पेरी, ‘चन्डलर बिंग’को भूमिकामा विश्व चर्चित थिए

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते ११:४०

काठमाडौं । टेलिभिजन सिरिज ‘फ्रेन्ड्स’मा चन्डलर बिंग पात्रको भूमिका निर्वाह गर्ने विश्व चर्चित अभिनेता म्याथ्यु पेरीको निधन भएको छ । उनी ५४ वर्षका थिए ।

सीएनएनका अनुसार अमेरिकाको लस-एन्जलस प्रहरीले अभिनेता पेरीको मृत्युको अनुसन्धान गरिरहेको छ । ‘अहिलेसम्म उनको मृत्यु पछाडि कुनै संदिग्ध घटना देखिएको छैन’ स्रोतले भन्यो, ‘तथापि, यो घटनालाई लस–एन्जलस प्रहरी विभागले अनुसन्धानको दायरामा राखिरहन्छ ।’

शनिबार लस-एन्जलसको घरमा डुबेर दुर्घटनामा पेरीको मृत्यु भएको लस एन्जलस टाइम्सले उल्लेख गरेको छ ।

‘प्रिय मित्र म्याथ्यु पेरीको निधनले हामी मर्माहत भएका छौं । उनी अविश्वसनीयरुपमा प्रतिभाशाली अभिनेता र वार्नर ब्रदर्स टेलिभिजन समूह परिवारको एक महत्वपूर्ण सदस्य थिए’ वार्नर ब्रदर्स टेलिभिजन समूहले एक बयानमा भनेको छ, ‘उनको हास्य प्रतिभाको लोकप्रियता संसारभरि महसुस गरिएको थियो र उनको विरासत धेरैको हृदयमा बाँच्नेछ । यो एक हृदयविदारक दिन हो, र हामी उनको परिवार, उहाँका प्रियजन र समर्पित प्रशंसकलाई हाम्रो माया पठाउँछौं ।’

म्यासाचुसेट्समा अभिनेता पिता र पत्रकार आमाबाट जन्मिएका पेरी आमाबाबुबाट अलग भएपछि युवाको रुपमा क्यानडाको ओटावा बस्न गएका थिए । सन् १९७९ मा नाटक ‘२४० रोबर्ट’मा सानो भूमिका निर्वाह गरेसँगै उनको अभिनय यात्रा सुरु भएको थियो ।

त्यसपछि उनले ‘चाल्र्स इन चार्ज’, ‘सिल्भर स्पुन्स’ र ‘द ट्रेसी उलम्यान सो’ लगायतका कार्यक्रममा काम गरे । उनको पहिलो फिल्म ‘अ नाइट इन द लाइफ अफ जिमी रेर्डन’ थियो जहाँ उनले रिभर फिनिक्सको अपोजिटमा अभिनय गरे । तर सन् १९९४ मा ‘फ्रेन्ड्स’ सिरिजमा उनले अभिनय गरेको मिलनसार र व्यंग्यात्मक चन्डलरको भूमिकाले उनलाई विश्वभर चर्चा दिलायो । नेपालमा समेत यो पात्रले पेरीलाई प्रसिद्धी दिलाएको छ ।

सन् २०२२ को नोभेम्बरमा उनले लेखेको संस्मरण ‘फ्रेन्ड्स, लभर्स एण्ड द बिग टेरिबल थिंग : अ मेमाइर’ प्रकाशित भएको थियो । उनको निधनमा सामाजिक संजालबाट शुभचिन्तक र सेलिव्रिटीले श्रद्धाञ्जली दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?