+

मधुमेह भएकालाई स्ट्रोकको जोखिम धेरै   

२०८० कात्तिक  १२ गते १६:४४ २०८० कात्तिक १२ गते १६:४४
मधुमेह भएकालाई स्ट्रोकको जोखिम धेरै   

मधुमेह एकपटक लागेपछि यसलाई निर्मूल गर्न सकिंदैन, नियन्त्रण मात्र गर्न सकिन्छ । मधुमेहको मुख्य कारण वंशाणुगत र खराब जीवनशैली मानिन्छ ।

विश्वमा प्रति ४० सेकेण्डमा एक जना स्ट्रोक (मस्तिष्कघात) हुने तथ्यांकले देखाउँछ । त्यस्तै, प्रत्येक चार जना व्यक्तिमा एक जना कुनै न कुनै समयमा स्ट्रोकबाट पीडित हुने देखिएको छ । जसकारण यो रोग विश्वकै ठूलो समस्याको रुपमा देखा परेको छ । यो रोगलाई समयमै ध्यान नदिने हो भने यसले अन्य गम्भीर रोग पनि निम्त्याउन सक्छ । जसमध्ये एक हो, स्ट्रोक ।

मधुमेह भएका व्यक्तिलाई अन्य मानिसको तुलनामा स्ट्रोक हुने सम्भावना दोब्बर हुन्छ । तर यसको मतलब मधुमेह हुने बित्तिकै स्ट्रोक हुन्छ भन्ने होइन । लामो समयदेखि मधुमेह अनियन्त्रित भएकाहरुमा स्ट्रोक र हृदयरोगको जोखिम बढी हुन्छ ।

के हो स्ट्रोक ?

मस्तिष्कमा रक्त सञ्चार बन्द हुने वा अचानक मस्तिष्कमा रगतको नसा फुट्ने आपतकालीन अवस्थालाई मस्तिष्कघात भनिन्छ ।

मस्तिष्कघात हुँदा रगतको आपूर्ति हुन नपाउँदा मस्तिष्कका अक्सिजनको अभाव हुन्छ । यस्तोमा कोषिकाहरूले अक्सिजन र पोषण रगतबाट पाउन सक्दैनन् । यी दुई बिना दिमागको कोष विस्तारै मर्दै जान्छन् ।

स्ट्रोक धेरै कारणले हुन सक्छ । जसमध्ये मधुमेह एक प्रमुख कारण मानिन्छ ।

स्ट्रोक र मधुमेहबीचको सम्बन्ध

मधुमेहको लेभल उच्च हुने व्यक्तिको रगतमा चिनीको मात्रा असामान्य रूपमा बढ्छ । यसले रक्त कोषिका र स्नायुहरूमा ठूलो क्षति पुर्‍याउँछ । ब्लड सुगरले स्ट्रोकको जोखिम बढाउँछ । मस्तिष्कमा रगत पुर्‍याउने  कोषिकाको भित्तामा बोसो जम्मा हुन थालेपछि बिस्तारै ब्लक हुन थाल्छ । जसकारण मस्तिष्कमा रगत पुग्न पाउँदैन र त्यहाँका नसाले काम गर्न छाड्छ । यस्तो अवस्थामा स्ट्रोकको सम्भावना धेरै गुणा बढ्छ ।  स्ट्रोकको समयमा अपाङ्गताको सम्भावना पनि धेरै गुणा बढ्छ ।

लक्षण

मस्तिष्कघातको लक्षण छिटो देखिन्छ । लक्षण देखिएको केही क्षणमै अवस्था गम्भीर बन्न सक्छ, जुन एक घण्टादेखि एक दिनसम्म पनि हुन सक्छ ।

१. शरीरको एक भागमा अचानक कमजोरी अनुभव हुनु

२. बोल्न कठिन हुनु, मुख बाङ्गिनु र बोली लर्बराउनु

३. एक आँखाले हेर्नमा कठिनाइ हुनु

४. अचानक टाउको दुख्नु

५. हिंड्न, बस्न र उठ्न नसक्नु वा शरीरले आफ्नो सन्तुलन गुमाउनु

६. बेहोस हुनु

उपचार

सिटिस्क्यान, एन्जियोग्राफी र एमआरआईबाट मस्तिष्कमा रगत बगिरहेको वा तन्तु र कोष कति क्षति पुगेको छ भनेर विस्तृतमा देखिन्छ । जसबाट उपचार प्रक्रिया कसरी गर्ने भन्नेबारे टुंगो गर्न सकिन्छ ।

सम्भावित लक्षण एक्कासि देखिए तुरुन्तै अस्पताल जानुपर्छ । किनभने लक्षण देखिएको २४ घण्टाभित्र बिस्तारै मस्तिष्कको कोष मर्दै जाने हुँदा एक-एक मिनेटको महत्व हुन्छ । मरिसकेको तन्तु वा नसालाई केही गर्न नसके पनि बाँकी भएकालाई नसामा भएको अवरोध खोलेर  रक्त सञ्चार गराउन सकिन्छ । यसले बिरामी बाँच्ने सम्भावना बढ्छ ।

बच्ने उपाय

स्ट्रोक गराउन सक्ने सम्भावित कारकमा ध्यान दिए ९० प्रतिशत यसको जोखिमबाट बच्न सकिन्छ । स्ट्रोकबाट बच्न मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा राख्ने तथा औषधि नियमित रुपमा खानुपर्छ ।

त्यस्तै, अत्यधिक मोटोपन पनि स्ट्रोकको कारक मानिने हुँदा यसलाई नियन्त्रण गर्न योग, व्यायाम गर्ने र खानपिनमा ध्यान दिनुपर्छ ।

दैनिक दिनचर्यामा नियमित रूपमा योग, शारीरिक श्रम वा ध्यान समावेश गर्दा शरीर त फिट हुन्छ नै  शरीर र दिमागलाई पनि शान्त राख्छ ।

मदिरा र धुम्रपान नगर्ने, कुनै पनि काम गर्दा आरामले गर्ने र तनाव नलिई गर्नुपर्छ । दैनिक आठ घण्टा सुत्नु आवश्यक छ । ४० वर्षपछि नियमित रूपमा मेडिकल चेकअप गराउनुपर्छ । ब्रेन स्ट्रोकको औषधि खानेले नियमित समयमा मात्र लिनुपर्छ ।

(वरिष्ठ न्युरोसर्जन प्रा. डा. झासँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

डा. राजीव झा नसारोग मस्तिष्क स्ट्रोक
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय