+
+

पारा एसियाडमा स्वर्ण जित्न चाहन्छिन् पलेशा

नमिता दाहाल नमिता दाहाल
२०८० कात्तिक १६ गते १०:४५

१६ कात्तिक, काठमाडौं । चौथो पारा एसियन गेम्समा नेपाललाई खाली हात फर्कनबाट बचाउने खेलाडी हुन्– पलेशा गोवर्द्धन ।

चीनमा भएको प्रतियोगिताको के४४ विधाअन्तर्गत ५६ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले नेपाललाई पारा एसियाडमा पहिलो पदक जिताइन् ।

उनले पहिलो खेलमा चीनकी लिटिङ याङलाई १४–१ मा हराइन् ।

सेमिफाइनलमा भने पलेशा पराजित भइन्् । सेमिफाइनलमा काजकिस्तानकी कामिलिया डास्मोलोभासँग हारेपछि रिपेचेज भयो ।

कांस्य पदकका लागि भएको रिपेचेजमा बाइ पाएपछि उनले कास्य पदक पक्का गरेकी हुन् ।

‘मेरो लक्ष्य त स्वर्ण नै थियो, तर यसपटक मैले आफैंले ट्रेनिङ गरेर आएकी थिएँ, केही नर्भस पनि थिएँ’, उनले भनिन् ।

चीनको सांघाइमा आर्किटेक्चर पढिरहेकी पलेशा स्वःप्रशिक्षणमै एसियन गेम्सको रिङमा उत्रिएकी थिइन् । ‘२ महिनापछि मात्रै म रिङमा उत्रिएको थिएँ । खेल्न सक्छु कि सक्दिन, स्पेरिङ, फाइटिङ धेरै प्राक्टिस भएकै थिएन । आफैं प्रशिक्षण गरिरहेको थिएँ । तर मैले राम्रै गरें,’ उनी सन्तुष्ट सुनिइन् ।

१० खेलमा नेपालका १९ खेलाडीले सहभागिता जनाए पनि पदक पलेशाले मात्रै जितेकी थिइन् ।

पारा एसियाडमा नेपालको लागि पहिलो पदक जितेँ भन्ने उनलाई थियो तर यही नै नेपालको साख जोगाउने ऐतिहासिक मेडल हुन्छ भन्ने थाहा थिएन । ‘मैले कांस्य जित्दासम्म नेपालको तर्फबाट कसैले पनि जित्नु भएको थिएन । पहिलो हो भन्ने थाहा थियो । इतिहासमै पहिलो भन्ने समाचारहरु पढेपछि थाहा भयो ।’

वायाँ हातका औंलाहरु पूर्ण विकसित नभएको अवस्थामा जन्मिएकी पलेशा आफूले थाहा पाउने भएदेखि नै आत्मविश्वासी थिइन् । अन्यभन्दा फरक भए पनि सबल व्यक्तिले जस्तै काम गर्न सकिन्छ भन्ने मानसिकता उनीमा सानैबाट थियो ।

एक दिदीपछि जन्मिएकी पलेशालाई कक्षा ५ मा पढ्दा उनका बुवा प्रदिप गोवर्द्धनले तेक्वान्दो स्कुलमा भर्ना गरिदिए । त्यहाँ गएको तेक्वान्दोको ड्रेस उनका लागि एउटा रमाइलो क्षण थियो । ‘म त नजाने भनिरहेकी थिएँ । मलाई किकहरु खासै आउँदैन । म हार्छु भन्ने थियो । घरबाट जाऊ खेल, तिमी जित या हार तिमी हाम्रो लागि सधैं विजेता हौं भन्नुभयो’, उनले अनलाइनखबरलाई सुनाइन् ।

परिवारको साथ र समर्थनले विस्तारै उनमा हौसला बढ्दै गयो । जसको परिणामस्वरुप आज उनी यहाँसम्म आइपुगेकी छिन् ।

खेल यात्रा

पलेशाले सन् २०१७ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिन् । सन् २०१६ देखि कविराज नेगीको प्रशिक्षणमा सिकिरहेकी उनले विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा भाग लिएकी थिइन् । जसमा उनले एक खेल पनि जितिनन् ।

उनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा जानै मन थिएन । तर परिवारको साथ र सुझावले उनी यो प्रतियोगिता खेल्न गएकी थिइन्  । ‘१३ वर्षको उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएकी थिएँ, नर्भस पनि थिएँ,’ उनले पहिलो प्रतियोगिताको अनुभव सुनाइन्, ‘सबैजनाले मलाई हुटिङ गरिरहनु भइरहेको थियो । प्रशिक्षकले राम्रो किक हान भन्दै हुनुहुन्थ्यो । सबैकुरा अझै पनि मेरो लागि ताजै छ ।’

त्यसको एक वर्षपछि उनले २०१७ मा लन्डनमा भएको विश्व पारा तेक्वान्दो च्याम्पियनसिप खेलिन् । जहाँ एउटा खेल जितेकी उनी सातौं भइन् । अनि उनलाई जित्दाको अनुभव थाहा भयो । ‘मलाई घरमा सपोर्ट थियो । केही प्रेसर हुँदैनथ्यो । तर मैले लन्डनमा जब जितें त्यसपछि, जित्नुको मजा(अनुभव) थाहा भयो’, उनले अनलाइनखबरसँग भनिन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो फाइट जितेको एक वर्षपछि नै सन् २०१८ मा उनले पहिलो अन्तर्राष्ट्रिय पदक जितिन् । उनले भियतनाममा भएको एसियन पारा तेक्वान्दो ओपन च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् ।

२०१९ मा दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिए पनि उनी पदक विहीन भइन् । २०२१ मा उनले एसियाली युथ पारा गेम्समा नेपालका लागि स्वर्ण पदक जितिन् ।

कोरोनाकालको समय थियो । सोही वर्ष उनले ओलम्पिकका लागि क्वालिफायर्स खेल्ने मौका भने पाइनन् । तर वाइल्ड कार्डमा नाम आएपछि उनी २०२१ को पाराओलम्पिकमा नेपालको एक्लो प्रतिस्पर्धी र प्रतिनिधि भएर जापान पुगिन् ।

ओलम्पिकमा पलेशा

उनको ओलम्पिक यात्रा सबैको जस्तो सामान्य थिएन । कोरोना महामारीको दोस्रो लहरले पुनः जनजीवन अस्तव्यस्त बनाइसकेको थियो । कोरोनाले गर्दा सबै बन्द भयो । उनले ओलम्पिक क्वालिफायर्स खेल्न पाइनन् ।

शहरमा सबै बन्द थियो । पलेशा आफ्नो घर बागबजारमा थिइन् । उनको नाम वाइल्ड कार्डमा आएको प्रशिक्षक नेगीले फोन गरेर बताए । ‘म घरमै थिएँ । गुरुको फोन आयो । तिम्रो नाम ओलम्पिकको वाइल्ड कार्डमा आएको छ । तिमी खेल्ने कि नखेल्ने भन्नुभयो’, उनले भनिन् ।

 

ओलम्पिकमा सबै खेलाडी पुग्ने इच्छा राखेका हुन्छन् । पलेशाले पनि क्वालिफाई नभए पनि वाइल्ड कार्डबाट ठूलो प्लेटफर्ममा जान पाउँदा उत्साहित थिइन् । तर त्यसको लागि ५८ केजीमाथिको तौल समूहमा खेलिरहेकी उनले ५ किलो वजन घटाउनु पर्यो । ‘ओलम्पिक मेरो लागि अरुको जस्तो सामान्य रहेन । कोभिडको समय, त्यसैमाथि मैले ५ केजी घटाएर खेल्नुपर्ने थियो । लकडाउनको बेला बन्द प्रशिक्षण निकै सीमितमा गर्यौँ’, उनले आफ्नो ओलम्पिक तयारीको अनुभव सुनाइन् । सामान्य तयारी गरेर जापान पुगेकी उनलाई एयरपोर्टदेखि नै एकदमै भव्य स्वागत भयो । ‘मलाई स्वागतभन्दा पनि उद्घाटनको बेला नेपालको झन्डा बोक्दा चाहिँ म पनि यो ठाउँमा आइपुगेँ भनेर गौरवान्वित महसुस भयो’, उनले सम्झिइन्, ‘नेपालबाट म एक्लै थिएँ । मेरो आँखामा खुसीको आँसु आइरहेको थियो । पलेशा गोवर्द्धन भनेर ठूलो पर्दामा नाम आइरहेको थियो ।’

ओलम्पिकमा उनले २ खेल जितेकी थिइन् । तेस्रो खेलमा भने उनले अन्तिम ९ सेकेन्ड सम्हालिन नसक्दा पदक गुमेको थियो ।

देशलाई स्वर्ण दिलाउने इच्छा

पढाइमा अब्बल पलेसाले सुरुमा खेलमा लाग्छु भनेर सोचेकै थिइनन् । तर उनको जीवनमा ठूलो परिवर्तन भने खेलकुदले नै ल्यायो ।

‘मैले खेल रोजेकी थिइनँ, तर खेलमा लागेपछि मेरो जीवन नै परिवर्तन भयो’, केही फरक क्षमता लिएर जन्मिएकी उनी भन्छिन्, ‘पारा एथ्लेटहरु आफैंले कमजोर ठान्छन्, तर हामी अन्यले जस्तै हरेक काम गर्न सक्छौं । केही समय लाग्छ तर हामीले नसक्ने भन्ने हुँदैन ।’

उनले एसियन गेम्समा पदक जितेर आउँदा वरपरका पारा एथ्लेटहरुलाई राम्रो सन्देश दिइन् । अन्य खेलका पारा एथ्लेटले पनि उनलाई प्रेरणा पात्रका रुपमा लिन्छन् ।

‘ब्याडमिन्टनका खेलाडीहरु हुनुहुन्छ । एकदमै सपोर्ट गर्नुहुन्छ । गर्न सक्छौं, हामी सक्छौं भन्नुहुन्छ’, पलेशाले भनिन् ।

एसियाडमा पदक जितेर नेपाल आएकी पलेसा पढाइलाई अघि बढाउन चीन फर्कने तयारीमा छिन् । उनी सांघाइस्थित टोङजी विश्वविद्यालय अफ आर्किटेक्चरको विद्यार्थी हुन् ।

‘मलाई सानैबाट इन्जिनियर बन्नु थियो । म सानोमा बहिनीको लागि बार्बी डल बनाउँथें । मलाई डिजाइन गर्न असाध्यै मन पर्छ ।’

खेल र पढाइलाई निरन्तरता दिइरहेकी पलेशा अब भने देशका लागि कम्तीमा एउटा स्वर्ण जित्न चाहन्छिन् । ‘मलाई सरकारबाट केही सहयोग भएको खण्डमा म पढाइसँगै चीनमा नै बसेर प्रशिक्षण पनि गर्छु । देशलाई कम्तीमा एउटा स्वर्ण पदक दिलाउने मेरो ठूलो इच्छा छ ।’

पारा तेक्वान्दोमा कसरी छुट्याइन्छ विधा ?

पाराका खेलाडी अन्य भन्दा फरक हुन्छन् । फरक क्षमता भएका कारण उनीहरुलाई सामान्य तेक्वान्दोको भन्दा फरक तरिकाले विधा छुट्याइन्छ । जसमा विशेषतः खेलाडीको हातको लम्बाइले उनीहरुको विधा छुटिन्छ ।

पलेशाले सोही फरक विधाको एक विधा के ४४ (एउटा हातको कुहिनोभन्दा तलको भाग राम्रोसँग विकास नभएको) मा खेलेकी थिइन् ।

उनको विधा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा छुट्याइएको थियो । सन् २०१७ मा दक्षिण कोरियामा भएको विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नै उनले आफ्नो विधा थाहा पाएकी हुन् ।

फोटो/भिडियोः शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?