+
+
यात्रा संस्मरण :

कपुचे तालसँग साक्षात्कार गर्न मनै आत्तिने भीर र जंगलको बाटो हिंड्दा

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० कात्तिक १७ गते ७:१५

बेलुकाको साढे पाँच बजे घाम डुब्दै थियो । वरिपरिको जंगल अँध्यारो हुँदै गइरहेको थियो । त्यस दिनका तय गन्तव्यमा पुगिने हो कि होइन ?  हाम्रो कुनै ठेगान नै थिएन । कतिबेला पुगिन्छ, कति समय लाग्ला ? कुनै पत्तो थिएन हामीलाई । तर पनि सात जनाको हाम्रो समूहलाई मोबाइलको लाइट बालेर लम्किनुको विकल्प थिएन ।

घना जंगलबीच कीरा-फट्यांग्रा र खोलामा पानी बगेको आवाज मात्र कानमा गुन्जिरहेको थियो । बाटो पनि साँघुरो, एक जना मात्र हिंड्ने मिल्ने थियो । त्यसैले हामी लहरै हिंडिरहेका थियौं । सबैजना भित्रभित्र डराइरहेका त होलान् तर बाहिर भने सबै हिम्मतिला बन्यौं । सबैजना बिस्तारै हिंडौं, पुगिहाल्छ नि भनेर भनिरहेका थियौं ।

यस्तो सकसपूर्ण अवस्थामा मलाई त रुनै मन लागेको थियो, कस्तो ठाउँमा ट्रेकिङ आइएछ भनेर । भित्रभित्रै रिस पनि उठिराखेको थियो, यो रुटको भ्लग बनाउने व्यक्तिहरुसँग । किनकि हरेक भ्लगमा छोटो, सजिलो ट्रेकिङ रुट भनेर देखाएको थियो । यस्तो डरलाग्दो र साँघुरो बाटो छ भनेर कसैले पनि भ्लगमा देखाएका थिएनन् ।

दशैंको टीकाको दिन बेलुका साढे ६ बजे हामी भक्तपुरको सूर्यविनायकबाट भ्यानमा निस्किएका थियौं कास्कीको कपुचे ताललाई गन्तव्य बनाएर । घरबाट निस्किंदा सबैको मन हर्षित र उत्साहित थियो । भ्यानबाट भक्तपुरदेखि काठमाडौँको कलंकी साँझ पौने ८ बजे पुग्यौं ।

हामीले ग्रेहाउन्ड ट्राभल्समा पोखराका लागि टिकट काटेका थियौं । राति ९ बजे गाडी कलंकीबाट पोखराका लागि गुड्यो । हामी भोलिपल्ट बिहान पोखराको काँहुखोला झर्‍यौं । त्यहाँदेखि सिक्लेससम्म करिब चार घण्टा मोटरयात्रा गर्नुपर्छ । काँहुखोलाबाट जीप र सार्वजनिक गाडी पाइने रहेछ । हामी जीपमा चढेर सिक्लेस जाने भयौं ।

बाटो कच्ची भनौं ध्वस्तै थियो । गाडीमा च्यापिएर हल्लिंदै हामी गयौं । बाटोमा जीपको टायर पञ्चर भयो, २० मिनेट त्यहीँ बित्यों । त्यसो गर्दा बिहान ११ बजेतिर हामी सिक्लेस पुग्यौं । जिपमा प्रतिव्यक्ति पाँच सय रुपैयाँ भाडा लिइएको थियो ।

सिक्लेसमा पुगेपछि हामी त्यहाँको चर्चित नमस्ते होटलमा रोकियौं । त्यही दिन सिक्लेसबाट हुगु हुँदै हाम्रो अन्तिम गन्तव्य कपुचे तालमा पुग्ने योजना थियो । त्यहीकारण छिटोछिटो नमस्ते होटलमा खाना खाएर दिउँसो १ बजेतिर हामी हुगुका लागि निस्कियौं ।

भ्लगमा उकालो ओरालो भनेकाले मैले सिक्लेसबाट नै एउटा बाँसको लठ्ठी लिएर हिंडेकी थिएँ । मबाहेक हाम्रो समूहमा एक जनाले मात्र लठ्ठी बोकेका थिए ।

सुरुमा हिंड्दा एकदम रमाइलो, झन् लमजुङ हिमाल देख्दा त उत्साह झनै बढेको थियो । हिंड्दै जाँदा उकालो ओरालोबीचमा झोलुंगे पुल तरेर हिंडिरहेका थियौं । यत्तिकैमा एउटा ठाउँमा पहिरो गएर यस्तो डरलाग्दो थियो कि म शब्दमा उल्लेख गर्नै सक्दिनँ । एक फिटजति चौडाइको गोरेटो थियो । त्यसमाथि बलौटे माटो र एकदमै ठाडो उकालो । हामीभन्दा अघिअघि हिंडेका थुप्रै व्यक्तिहरु हातखुट्टाले टेकेर गइरहेका थिए । त्यो दृश्यले झन् मन आत्तियो ।

एकछिन सबैजना थकाइ मारौं, विस्तारै तल नहेरी हिंड है भन्दै अगाडि बढ्यौं । त्यहाँबाट खस्यो भने मान्छे को कहाँ, को कहाँ भइने । सबै साथीहरु तल नहेरी बिस्तारै लठ्ठीको सहारा लिंदै अघि बढ्यौं । एकठाउँमा त हातखुट्टा दुवैको सहारा लिनुपर्‍यो हामीलाई ।

त्यो उकालो कटेको बेला एकछिन त एउटा युद्ध नै जितेको महसुस गरेँ मैंले । थकाइ मारौं, एकछिन सबैजनाले उकालो चढ्दाको अनूभूति सुनाए । मेरो भिनाजु अनिल कर्माचार्य भने उकालो चढ्दा डरले हो कि मैले त ढुंगा, माटो नै सरेको महसुस गरे भन्नुहुँदैथ्यो ।

त्यसपछिको बाटोमा त्यही डरलाग्दो उकालोको बखान गर्दै हिंडेका थियौं हामी । त्योबेला एक जना साथीले त झन् यस्तो ठाउँमा पनि ल्याउने हो ? रिसर्च गरेर आउनु पर्दैन ? अबदेखि ट्रेकिङ जानलाई नबोलाऊ है मलाई भनेर रिसाए पनि । यस्तो पनि बाटो हुन्छ ? ट्रेकिङ जाने रुट भएपछि मिलाउनु पर्दैन ? भनेर जंगिंदै गुनासो पोख्दै थिए ।

बाटोमा हिंड्दै जाने क्रममा साँझ पर्न लागिसकेको थियो तर गन्तव्यमा पुग्ने कुनै ठेगान थिएन । अघि बाटोको बारेमा गुनासो पोखेका साथी झन् आक्रोशित हुँदै बर्बराउँदै थिए, खोइ कहिले पुग्ने ? अँध्यारोमा यस्तो जंगलको बाटो हिंड्नुपर्ने भइसक्यो ? ७ बजे पनि पुगिन्छ कि पुग्दैन ? फेरि हामी हिंडेको बाटो सही हो कि होइन ? यस्तै प्रश्न गर्दै हिंडिरहेको बेला हामीले केही पर लाइट बलेको देख्यौं । सबै जना लाइट देखेर खुसी भयौं र मनमा एउटा आशा पनि पलायो हामी पुग्यौं भन्ने ।

तर त्यो खुसी एकैछिनमा बिलायो । त्यो गन्तव्यको लाइट नभई हामी जस्तै जाँदै गरेका यात्रुहरुको मोबाइलको लाइट रहेछ । एकछिन सबैजना चिच्याएर हामी पनि आउँदैछौं, पर्खनुस् न भन्दै चिच्यायौं । तर नजिकै खोलाको ठूलो आवाजले होला हाम्रो आवाज उनीहरुसम्म पुग्न पाएन । दुखेको खुट्टा, भोक प्यास केही नभनी हामी अलि छिटोछिटो हिंड्न थाल्यौं । अँध्यारोमा लाइट बालेर हिंड्दा पनि हुगु अर्थात् हामी बस्ने होटल पुगेका थिएनौं ।

मोबाइलमा नेटवर्क पनि थिएन । हिंड्दाहिंड्दै नेटवर्क भएपछि हामीले होटलको मानिसलाई फोन गर्‍यौं । पानीको आवाजले होला खासै केही सुनिएन र बुझिएन पनि । फेरि त्यहाँ नबसौं, यतै कतै बसौं भन्दा पनि केही थिएन । पूरै जंगलको बीचमा थियौं हामी । हामी हिंडेको बायाँतिर पहाड थियो भने दायाँ खोला । साँघुरो बाटोमा पुगिन्छ कि भन्दै निरन्तर हिंड्न थाल्यौं ।

सानो गोरेटो बाटोबाट हामी लहरै हिंडिरहेका थियौं । रातको समयमा पूरै जंगलको बाटोमा हिंड्दा आफूभन्दा पछाडि पनि कोही मान्छे रहेपछि मानिसमा कतिको आशा र मनमा खुसी हुन्छ भनेर त्यो बेला मैले राम्रैसँग महसुस गरें ।

एकछिन विश्राम लियौं । बिस्तारै हिंड्दै गर्दा हामीले नजिकै अर्को एउटा लाइट बलेको देख्यौं, त्यो देखेर दौडियौं । दुईजना युवक आगो तापेर बसेका रहेछन् । धेरै अँध्यारो भएकाले नमस्ते होटल पनि कता हो ? कहाँ हो ? कति हिंड्नुपर्छ अनुमान नै गर्न सकेनौं । फोन गर्नलाई नेटवर्क पनि थिएन । कोठा छ भने त्यहीं बस्ने निधो गर्‍यौं तर त्यही होटलका साहुले तपाईंहरु सात जनाको ग्रुप हो ? भनेर सोधे ।

हामीले ‘हो’ भन्यौं । ‘त्यसो भए नमस्तेमा नै जानु । त्यहाँ राखेको छ कोठा तपाईंहरुका लागि भनेर ऊमाथि नै हो भनेर देखाए । तर अँध्यारोमा केही देखेका थिएनौं । हिंड्दै झोलुंगे पुल पुगेर पार गरेर हुगुको नमस्ते होटलमा बस्यौं । सबै जनाले लामो सास फेर्दै धन्न पुग्यौं है भन्दै एकअर्काको मुख हेर्दै हाँस्न थाल्यौं । होटल नजिकै झरना, चिसो-चिसो ठाउँ । दिनभरिको थकानले होला मस्तले निदायौं सबै जना ।

भोलिपल्ट बिहानै पौने पाँच बजेतिर उठेर तयार भएर केही थान फोटो खिचेर कपुचे तालका लागि प्रस्थान गर्‍यौं । फेरि दुई घण्टा उकालो-ओरालो चढ्दै कपुचे ताल पुग्यौं । नेवारी पोशाक र सारीमा फोटो खिचेर रमाइलो गर्‍यौँ । त्यो ठाउँमा गुरुङ समुदायको बाहुल्यता रहेछ । हामीले गुरुङ पोशाकमा पनि भिडियो र फोटो खिच्यौं । कपुचे ताललाई धित मरुन्जेल हेर्‍यौं, त्यहाँको सुन्दरतामा मन्त्रमुग्ध भयौं । भक्तपुरको घनाबस्तीमा जन्मेहुर्केका हामी खुला ठाउँमा दिल खोलेर रमायौं ।

सिक्लेसबाट फर्किने बेलामा जिप पाइएन । सार्वजनिक बस चढेर फर्कियौं । बसको अन्तिम सिटमा बसेका हामी उफ्रिंदै, थेचारिंदै आउनुपर्ने बाध्यता आयो । यस्तोमा बाटो असाध्यै खतरा थियो । तल खस्यो कि आमा पनि भन्न नपाउने भीर । यस्तो बाटोमा गाडीले एकैचोटि तीन-चार पटक उफार्दा सातो उड्यो । मरेर बाँचेजस्तै अनुभव भयो । कहिले गाडीबाट ओर्लिउँला भनेर पर्खिरह्यौं । डराउँदै डराउँदै हामी पोखराको काँहुखोला फर्कियौं ।

एक हिसाबले ज्यानै जोखिममा पारेर गरेको यो यात्राले ‘डरके आगे जित है’ भन्ने हिन्दी उखानलाई चरितार्थ गरे झैं भयो ।

गन्तव्य : कास्कीको कपुचे ताल

रुट : काठमाडौंबाट पोखर, पोखराको पृथ्वीचोकबाट काँहुखोला सार्वजनिक यातायातमा

काँहुखोलाबाट सिक्लेस जीप वा बसमा, बिहान ९ बजे र दिउँसो २ बजे गाडी छुट्ने

ट्रेकिङ रुट : सिक्लेसबाट हुगु पुग्न करिब सात घण्टा पैदल (छिटो हिड्नेलाई ५ देखि ६ घण्टा), हुगुबाट कपुचे ताल डेढदेखि दुई घण्टा पैदल

कपुचे तालबाट सिक्लेस

अन्य तस्वीरहरु

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?