+
+

२०१४ को विश्वकप हेरेर क्रिकेट खेल्न थालेका हामी आफैँले खेल्दैछौं : रोहित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १८:०८

१७ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकपमा छनोट भएपछि आफूले भाग्यमानी महसुस गरिरहेको बताएका छन् ।

टी–२० विश्वकप छनोटको सेमिफाइनलमा मुलपानीमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्कपमा छनोट भएको छ ।

यूएईलाई हराएपछि पत्रकारसित कप्तान रोहितले भने, ‘२०१४ को विश्वकप हेर्नु, क्रिकेट खेल्न थाल्नु, काठमाडौं आउनु त्यसपछि टिममा पर्नु र विश्वकप खेल्न पाउनु एकदमै भाग्यमानी महसुस भइरहेको छ ।’

यो विश्वकप छनोट प्रतियोगितामा टिममा रहेका विनोद भण्डारी र सोमपाल कामीले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेका थिए । १० वर्षपछि नेपाललाई विश्वकपमा पुर्‍याउने टिममा विनोद र सोमपाल बाहेक अरु सबै खेलाडी नयाँ छन् ।

‘टिममा रहेका २ जना बाहेक अन्य सबै सोही विश्वकप हेरेर हुर्किएका हौं,’ रोहितले भने, ‘त्यो म आफैंले पनि महसुस गर्नु म एकदमै लक्की फिल गर्छु ।’

टस हार्दा पारसले भने- राम्रो भयो

समूह चरणको अन्तिम खेलमा हिजो बिहीबार ओमानसँग पराजित हुँदै समूह उपविजेता बनेपछि नेपालले यूएईसँग मुलपानीमा खेल्नु परेको थियो ।

मुलपानीमा बिहान ११ बजे सुरु हुने खेलमा यूएईले टस जितेर पहिला ब्याटिङ रोज्यो । तर खेलका क्रममा पहिला व्याटिङ गर्ने निर्णय गलत सावित भयो ।

नेपालले टस जितेको भए पहिला ब्याटिङ नै रोज्ने तयारी गरेको कप्तान रोहितले सुनाए ।

‘टस हारेर आउँदा पारस दाई (पारस खड्का)ले मलाई राम्रो भयो टस हारेर भन्नु भयो,’ रोहितले भने, ‘मलाई पनि त्यस्तै अनुभव भयो ।’

बिहानको विकेटमा मोइस्चरहरु थियो । सुरुको इनिङमा त्यो चुनौती लिएर खेलेको अवस्थामा दोस्रो इनिङमा यूएईलाई प्रेसरमा राख्न सक्ने आफूहरुले सोचेको उनले बताए । उनले भने, ‘टस जितेमा ब्याटिङ गर्ने सोचेको थिएँ । तर टस हारेपछि जे भयो राम्रो भयो ।’

यूएईका ओपनर खालिद शाह टिमको स्कोर २९ रन हुँदा व्यक्तिगत ३ रनमा रन आउट भए । थप १ रन जोड्दा कप्तान मोहमद वासिमलाई सोमपाल कामीले करण केसीको हातबाट क्याच गराए ।

‘जुन हिसाबले सोमपाल दाइले बलिङ गर्नु भयो । त्यहाँँदेखि २ विकेट आयो,’ बलरको प्रसंशा गर्दै रोहितले भने, ‘हामीले टिमको हिसाबले बलिङ एकदमै राम्रो गरेको हो । सन्दीप दाइ, कुशल मल्ल तथा गुल्सनको योगदान आज सबैको राम्रो भयो ।’

मुलपानीको विकेट अनुसार यूएईलाई १४०–१५० मा प्याक गर्ने लक्ष्य राख्दै त्यसका लाग वासिमलाई चाँडै आउट गर्ने योजना अनुसार सफल भएको उनले बताए ।

ब्याटिङतर्फ उनले ओपनर आसिफ शेखको प्रसंशा गरे । शेख ६४ रनमा नट आउट रहे । ‘अन्डरप्रेसरमा आसिफले खेल्यो,’ रोहितले भने । अर्का ओपनर कुशल भुर्तेल टिमको स्कोर २६ हुँदा व्यक्तिगत ११ रनमा पभेलियन फर्किएका थिए ।

दिपेन्द्र सिंह ऐरी थ्री डी खेलाडी

कप्तान रोहितले दिपेन्द्र सिंह ऐरीलाई नेपालका थ्री डी खेलाडी भन्दै उनी मैदानमा उत्रदाँ मात्रै पनि विपक्षी टिमको आत्मविश्वासमा फरक पर्ने बताए ।

विश्वकप छनोटको पहिलो खेल खेल्नुभन्दा अघि घाइते भएका ऐरी यूएईविरुद्धको खेलमा मैदान उत्रिएका थिए ।

‘हिजो खेल हारेर आएपछि दिपेन्द्र दाइले म खेल्छु भन्नुभयो,’ रोहितले भने, ‘पूर्ण फिट नहुँदा पनि उहाँको आत्मविशवास निकै राम्रो थियो । खेलाडी घाइते हुँदा पनि कसरी खेल जिताउने भन्ने सोचिरहनु भएको थियो । दिपेन्द्र दाई मैदानमा हुँदा विपक्षीको कन्फिडेन्स कमजोर भएको हुन सक्छ ।’

यूएईविरुद्ध तेस्रे नम्बरमा ब्याटिङमा आएका गुल्सन झा २२ रनमा आउट भए । बायाँ हाते व्याट्सम्यानले राम्रो गर्न सक्छ भनेर उसलाई तेस्रो नम्बरमा पठाएको र त्यो योजना पनि सफल भएको रोहितले सुनाए ।

‘हामी टी–२० फम्र्याटमा एकदमै ललिचो टिम छौं । जो जहाँ पनि खेल्न सक्छौं,’ उनले भने, ‘त्यति बेला विपक्षी टिमको बलिङ अनुसार बायाँ हातेले राम्रो गर्न सक्छ भन्ने भयो र सोही अनुसार हामीले गुल्सनलाई पठाएका हौं ।’

विपक्षीको खेल हेरेर ब्याटिङ अर्डर परिवर्तन गर्ने गरेको भन्दै उनले थपे, ‘ओपनर बाहेक सबै ललिचो छौं । जुन स्थानमा पनि खेल्न सक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?